ललितपुर– सरकारले सबै सकारी निकायमा विद्युतीय हाजिरीलाई अनिवार्य गरे तापनि जिल्लाका अधिकांश सरकारी कार्यालयमा लागू भएको छैन । कर्मचारीले विभिन्न बहाना गर्दै यस व्यवस्थाको अवज्ञा गर्दै आएका छन् । जिल्लाका मुख्य सरकारी कार्यालयका कर्मचारीले मेसिन बिग्रेको, सफ्ट्वेयरले काम नगरेको, बिजुली नभएको लगायतका निहुँ झिकेर रजिस्टरमै हाजिरी गर्ने गरेका छन् ।
ललितपुर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालयलगायतका कर्मचारीले विद्युतीय हाजिरी मेसिनलाई उपयोग नगरेर समय चोर्ने गरेको पाइएको छ । ललितपुर उपमहानगरपालिकाका प्रवक्ता रुद्र गौतमले विद्युतीय हाजिरी मेसिन बिग्रिएकाले हिजोआज रजिस्टरमै हाजिर गर्ने गरेको बताए । ‘एकपटक बिग्रिएको विद्युतीय हाजिरी मेसिन बनाउन ८ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘कर्मचारीले नै विद्युतीय मेसिन बिगार्छन्, त्यसैले बनाउन कोही अघि सर्दैनन् ।’ कर्मचारीकै लापरबाहीले अहिलेसम्म ५ पटक विद्युतीय मेसिन बिग्रिएको उनले बताए ।
उपयोग नभए पनि जिल्लाका सबै सरकाररी कार्यालयमा विद्युतीय हाजिरी मेसिनको व्यवस्था छ । मेसिनलाई कर्मचारीले प्रयोगविहीन बनाउनु कर्मचारीको गैरजिम्मेवारीपना भएको स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनले विद्युतीय हाजिरीको प्रयोगको स्थितिबारे छड्के गर्ने काम प्रमुख जिल्ला अधिकारीको भएको बताए । ‘अहिले धेरै सरकारी कार्यालयमा रजिस्टर र विद्युतीय दुवै किसिमले हाजिरी गर्ने पद्धति छ,’ तामाङले भने, ‘रजिस्टरमा हाजिर गर्न नपाइने व्यवस्था ल्याउने हो भने मात्रै विद्युतीय हाजिरीको प्रभावकारिता रहन्छ ।’
ललितपुर जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले विद्युतीय हाजिरी मेसिन हुँदाहुँदै रजिस्टरमा हाजिरी गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले सबै कार्यालयका कर्मचारीलाई विद्युतीय मेसिनमै हाजिर गर्न निर्देशन दिँदै आएको दाबी गरे । ‘अहिले जिल्लाका सरकारी कार्यालयमा विद्युतीय र रजिस्टर दुईवटै तरिकाबाट हाजिरी गर्ने व्यवस्था छ,’ उनले भने, ‘कहिलेकाहीँ विद्युतीय मेसिनमा खराबी आउँदा रजिस्टरमा हाजिरी गर्न सजिलो हुन्छ ।’ उनले विद्युतीय मेसिनलाई बेवास्ता गर्ने सरकारी कार्यालयमा तुरुन्तै अनुगमन थाल्ने जानकारी पनि दिए ।
कर्मचारी आउने र जाने समयलाई पारदर्शी बनाउन विद्युतीय हाजिरी पद्धति ल्याइएको हो । रजिस्टरमा हाजिरी गर्दा छलछाम गर्न सजिलो भएकाले विद्युतीय उपकरणमा हाजिर गर्न कर्मचारीले अटेर गरेका हुन् ।
मन्त्रालय, विभाग र मातहतका सरकारी निकायमा कार्यरत कर्मचारी समयमै कार्यालय नआउने र कामप्रति उदासीन रहने प्रवृत्ति बढेकाले कर्मचारीलाई सेवाप्रति उत्तरदायी र कामकाज प्रभावकारी बनाउन सरकारले विद्युतीय हाजिरीको सुरुवात गरेको थियो ।
सरकारी निकायले अवज्ञा गर्दै आएको विद्युतीय हाजिरी निजी कार्यालयमा भने प्रभावकारी देखिएको छ । विद्युतीय हाजिरी उपकरणलाई प्रयोगमा ल्याउने हो भने सरकारी कामकारबाही थप चुस्तदुरूस्त बन्ने सरोकारवालाहरु बताउँछन् ।
प्रकाशित: १३ वैशाख २०७४ ०५:११ बुधबार