२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पालुङटारमा जग्गाको कित्ताकाट खुला

फाइल तस्वीर

गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गरेको छ। नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधान अनुसार नगरपालिकाका सम्पूर्ण जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गरेको नगरप्रमुख विवश चिन्तनले बताए।

नगर क्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको उनले बताए। ‘कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीयसहित नौ भागमा जग्गा वर्गीकरण गरिएको छ, नगरप्रमुख चिन्तनले भने, ‘वर्गीकरणको सबै काम सम्पन्न भएकाले जग्गा कित्ताकाट पनि खुला गरिएको हो।’

नगरपालिकाले नापी विभागले उपलब्ध गराएको नापी नक्सामा कतिपय कित्ता नम्बर नबुझिने भएकाले त्यसलाई पनि हालको मापदण्ड अनुसार नै भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको उनले बताए। त्यस्ता कित्ताको हकमा कुनै पनि जग्गा धनीले प्रमाण पेस गरे सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता कित्ताको परिमार्जन तथा अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको थियो।

कित्ता, नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गीकरण अनुसार जुन कित्ता भिडान हुन्छ त्यहीं अनुसार कित्ता अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ। अहिले वर्गीकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नुअघि नै अन्य वर्गमा पर्ने पर्याप्त आधार पेस भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ।

नगरप्रमुख चिन्तनले नगरका जग्गाको वर्गीकरण गरी स्थानीय भूउपयोग परिषदको बैठकबाट स्वीकृतसमेत भइसकेको बताए। स्वीकृत भूउपयोग क्षेत्रको वर्गीकरण नापी कार्यालय र मालपोत कार्यालयमा पेस गरिसकिएकाले नगर क्षेत्रका जग्गा कित्ताकाट खुला गरिएको उनको भनाइ थियो।

सबै प्रक्रिया पूरा भएपछि भूउपयोग क्षेत्र वर्गीकरण गरी नगरपालिकाले जग्गाधनी दर्ता प्रमाणपुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचनासमेत जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए।

‘नगरपालिकाको स्वीकृत भूउपयोग क्षेत्र वर्गीकरणको तथ्यांक संघीय भूउपयोग परिषद्, प्रदेश भूउपयोग परिषद्, नापी विभाग, नापी कार्यालय र मालपोत कार्यालयमा पठाउने निर्णय बमोजिम सबैलाई पठाइसकिएको छ, उनले भने, ‘सबै काम सम्पन्न गरेर कित्ताकाट गर्न पाउने गरी नगरपालिकाले सूचना पनि प्रकाशन गरिसकेको छ।’

प्रकाशित: ३२ जेष्ठ २०८० ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App