२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

पोखराः ४४ वर्षपछि जुन महिनाको तापक्रममा नयाँ रेकर्ड

सन् १९७९ जुन ७ मा पोखराको तापक्रम ३५.३ डिग्री सेल्सियस थियो। त्यसपछिका वर्ष जुन महिनामा पोखराको तापक्रम यो भन्दा कहिल्यै माथि उक्लिन पाएको थिएन। तर, ४४ वर्ष अघिको तापक्रमको त्यो रेकर्ड ब्रेक गर्ने गरी गत शुक्रबार (२०२३ जुन ९)मा पोखराको तापक्रम ३६ डिग्री पुगेको छ।

जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालले जुन महिनाको तापक्रमले ४४ वर्षपछि नयाँ रेकर्ड बनाएको बताए। ‘नेपालमा मनसुन भित्रिने बेला पर्ने भएकोले अघिल्ला वर्ष यो महिनामा पोखरामा दिनहुँ जसो पानी पर्ने हुँदा तापक्रम उकालो लाग्न पाएको थिएन। तर, यो पटक ४४ वर्ष अघिको तापक्रमको रेकर्ड ब्रेक भएको छ,’ अर्यालले भने, ‘पोखराले यो पटक बढी नै गर्मी अनुभव गरेको छ।’

अर्यालका अनुसार वर्षभरिको तापक्रमलाई आधार मान्ने हो भने २३ वर्षपछि यो पटक पोखरामा बढी गर्मी भएको छ। तर, जुन महिनाको मापनलाई मात्र आधार मान्ने हो भने ४४ वर्षपछि नयाँ रेकर्ड कायम भएको हो। ‘प्रि मनसुन र मनसुन सिजन अनुसारको तापक्रमलाई विश्लेषण गर्नुपर्छ, महिना अनुसार तापक्रम उकालो र ओरालो लाग्ने हुन्छ,’ उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो। ‘वर्षभरिको मापनको हिसाबले २३ वर्ष (१९९९) पछि पोखराको तापक्रमले नयाँ रेकर्ड बनाएको हो,’ अर्यालले भने, ‘तर, महिनागत रुपमा हेर्ने हो भने जुन महिनाको रेकर्ड ४४ वर्षपछि ब्रेक भएको हो।’

कार्यालयका अनुसार यसअघि पोखराको तापक्रमको सबैभन्दा उच्चतम बिन्दु ३७.४ डिग्री सेल्सियस मापन भएको छ। सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९९ को अप्रिल २८ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री नै मापन भएको थियो।

सन् १९७५, १९९२ र १९९९ को अप्रिल महिनामा तापक्रम उच्च भएपनि त्यो समय प्रि मनसुनको समय रहेको उनले बताए। तर, अहिले जुनको दोस्रो साता तापक्रम उच्च बिन्दुमा पुगेको छ। अहिलेको समयलाई मनसुनको नजिकको समय भन्न मिल्ने अर्यालले बताए। प्रि मनसुन र मनसुन नजिकको समयको तापक्रमलाई फरक तरिकाले विश्लेषण गर्न सकिने उनले बताए।

पोखराको मौसमको फरक विशेषता भएकोले पनि तापक्रमको विश्लेषण भिन्नै हुने उनले बताए। ‘स्थानीय प्रणाली विकसित भएर पोखरामा पानी परिरहने गर्छ। तर, यो पटक परेन,’ उनले भने, ‘मनसुन सुरु नहुँदा पनि पोखरामा मनसुनमा झैं भीषण पानी पर्ने गर्दा अघिल्ला वर्ष जुन महिनामा तापक्रम उकालो लाग्न पाएको थिएन। तर यो पटक मनसुन अघिको समयमा पनि पानी कम परेर यो अवस्था आएको हो।’

जुन मनसुनको नजिकको महिना हो। यो बेला पोखरामा अघिल्ला वर्ष दिनहुँ जसो पानी पर्ने गरेको थियो। ‘पानी पर्नासाथ तापक्रम उकालो लाग्न पाउँदैन, त्यसले गर्दा शीतल हुने गरेको थियो,’ उनले भने, ‘तर, यो पटक विगत नौ दिनदेखि पोखरामा पानी परेको छैन।’ पोखरामा कम्तीमा सातामा दुई पटक पानी पर्ने हुँदा अघिल्ला वर्ष यो सिजनमा तापक्रम उच्च हुन नपाएको अर्यालको भनाई छ। ‘सातामा कम्तीमा दुई पटक पानी परेपछि गर्मी नै अनुभव हुन पाएको थिएन,’ उनले भने, ‘त्यसले गर्दा पनि पुरानो रेकर्ड ब्रेक हुन पाएको थिएन। तर, यो पटक पानी नपरेपछि रेकर्ड नै तोडियो।’

नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गरेको मनसुन २३ सेप्टेम्बरमा बाहिरिने गर्छ। तर, यो पटक मनसुन कहिले भित्रिन्छ भनेर भन्न सकिने अवस्था नरहेको मौसमविद्को भनाई छ। कम्तीमा पनि पूर्वी नेपालमा यो बेला दिनहुँ जसो वर्षा हुनुपर्ने हो, तर, अहिले त्यसको संकेत नै नभएको पनि उनले बताए। ‘पूर्वी नेपालमा त यो बेला बर्खा लागेजस्तै हुनुपर्ने हो, तर, मनसुन नै भित्रिएको छैन,’ उनले भने।  

प्रकाशित: २८ जेष्ठ २०८० १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App