२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीय तहले कटारीमा स्थापना गर्‍यो ‘कपडा तथा खाद्य बैँक’

जिल्लाको कटारी बजारमा ‘कपडा तथा खाद्य वैँक’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ । कटारी नगरपालिका ३ नम्बर वडाले गरिब, बिपन्न र असहायहरुका लागि लक्षित गर्दै बैँक स्थापना गरेको हो ।  

वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत बैँक स्थापना गरेको वडाध्यक्ष पुस्कर खड्काले बताए । उनका अनुसार गरिब, बिपन्न तथा असहाय नागरिकलाई सहयोग पु¥याउने उद्धेश्यले बैँकको स्थापना गरिएको हो ।  

बैँकलाई दीगो र व्यवस्थितरुपमा सञ्चालन गर्न नगरपालिकाले कार्यविधि बनाउनु पर्ने खाँचो वडाध्यक्ष खड्काले औँल्याए । कार्यविधि बनाएर सञ्चालन समिति गठन गरी काम गर्न सक्दा बैँकले धेरैलाई सुविधा दिनसक्ने अपेक्षा वडाले लिएको खड्काको भनाइ छ ।  तत्काललाई कपडा मात्र राखिएको बैँकमा विस्तारै खाद्यान्न पनि राख्ने योजना वडाको छ ।  

त्यसैगरी बेवारिसे शव जलाउन आवश्यक दाउरालगायत सबै सामग्रीहरु पनि राख्ने योजना रहेको बैँक तदर्थ सञ्चालक समिति अध्यक्ष धुव्रसिंह कार्कीले बताए । उनका अनुसार हुनेखानेले दिने र नहुनेले लिने प्रयोजनका लागि यो बैँकलाई उपयोग गर्ने गरी स्थापना गरिएको हो ।  

सबैको सहकार्य र सहयोग हुन सके बैँक सञ्चालन गर्न सहज हुने र यसले समाजमा सकारात्मक फाईदा पुग्ने अध्यक्ष कार्कीको बुझाई छ । इच्छुक महानुभावले लगाउन मिल्ने कपडाहरु बैँकलाई प्रदान गर्न सक्ने र नहुनेले १ पटकमा १ जोर कपडा छानेर लान सक्ने व्यवस्था बैँकमा छ ।  

बैँकमा जम्मा भएका कपडाहरु धुन वासिङ मेसिन, फाटेको मर्मत गर्न सिलाउने मेसिन राख्नुका साथै आईरन लगाउने व्यवस्था पनि गरिएको कार्कीले बताए । कार्यालय समयअनुसार खुल्ने बैँकको अघिल्लो दिन एक कार्यक्रमका बीच कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्तरुपमा उदघाटन गरेसँगै सञ्चालनमा आएको छ ।  

उदघाटन कार्यक्रममा मेयर श्रेष्ठले बजार क्षेत्रमा वडा कार्यालयले स्थापना गरेको यो बैँकलाई दीगो र व्यवस्थित रुपमा सञ्चालन गर्न नगरबासी सबैसँग आग्रह गरे । सबैको प्रत्यक्ष सहभागिता भए मात्र बैँक दिगो र व्यवस्थित रुपमा सञ्चालन हुने भन्दै उनले त्यसका लागि खुल्ला दिनलले सहयोग गर्न आग्रह गरे ।  

‘कोही नाङ्गो र भोको बस्न नपरोस्’ भन्ने उद्धेश्यले खुलेको बैँकलाई निरन्तरता र उपयोगी बनाउन सबैको उत्तिकै सहयोगको खाँचो हुने पनि उनलेब बताए । वडाध्यक्ष खड्काले भनेजस्तै बैँकलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक कार्यविधि नगरपालिकाले बनाउने प्रतिबद्धता पनि उनले बताए ।  

उपमेयर गीता खड्काले बजारक्षेत्र कटारीमा विभिन्न गरिव, विपन्न बर्ग र तहतप्काको बसोबास रहेको भन्दै दीनदुःखी, विपन्न र गरिबहरुका लागि यस्तो बैँकले सहारा दिने बताईन् । बैँकलाई निरन्तरता दिन तथा उदेश्य सार्थक बनाउन नगरपालिकाले सहयोग गर्ने वाचा गर्दै उनले तर, अन्य क्षेत्र र पेशा व्यवसायमा संलग्नहरुले खुलेर सहयोग गर्नुपर्ने बताईन् ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उदयपुर उद्योग वाणिज्य संघ, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बैँकलाई निरन्तर र व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  

प्रकाशित: २० असार २०८१ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App