२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हिउँमा बलिरहेको प्रकृति

घुमफिर

अघिल्लो दिन दैलेखबाट हामी बुटवल बास बस्न पुगेका थियौं। भोलिपल्ट बुटवलबाट उकालो लाग्दा बिहानको आठ बजिसकेको थियो। हामी पाल्पाको तानसेन र स्याङ्जा हुँदै पोखरातिर लाग्यौं। पाल्पा र स्याङ्जाबीचमा कालीगण्डकी हिँउको चिसो बोकेर हिँडिरहेको छ। अगाडि बढ्दै जाँदा बाटैमा भालु पहाड पर्छ। भालु पहाडनजिकै लामो न लामो झोलुंगे पुल छ। झोलुंगे पुल तरेर पारि पुगेपछि एउटा मानवनिर्मित पार्क र भालुको कलात्मक सालिक छ।

बाटोमा झर्दै र रमणीय स्थानहरू घुम्दै पोखरा पुग्दा दिउँसोको एक बजिसकेको थियो। पोखराको आफ्नै सौन्दर्य छ। त्यही सौन्दर्यमा हराउँदा हराउँदै हामी साँझको छ बजे मात्र मुस्ताङ यात्राका लागि पोखराबाट उकालो लागेका थियौं। हामी पर्वत, बागलुङ बजार हुँदै म्याग्दीको बेनी बजारमा रातको नौ बजे बास बस्न पुगेका थियौं। बेनी बजार पहाडहरूको बीचमा लमतन्न परेर सुतेको रहेछ। बेनीबाट बिहान ८.३० बजे तातोपानी, दाना, रुप्से, घाँसा, लेते, छारताङ, ताङसरा, तार्जुङ, खन्ती, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथतर्फ प्रस्थान गर्‍यौं। सडक कालीगण्डकीको किनारैकिनार अघि बढ्छ।

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।

बाटोमा रुप्सेको झरनाको सौन्दर्यले त्यो बाटोमा हिँड्ने जो कोहीलाई मुग्ध बनाउँछ। हामी पनि एक छिन रोकिएर रुप्सेसँग फोटो खिचेर अगाडि बढ्यौं। कालीगण्डकी तलतिर ठुल्ठुला पहाड र चट्टानबीचमा सेती नदीझैं गहिरिएर साँघुरोसँग बहे तापनि मुस्ताङको सिमाना प्रारम्भ भएदेखि केही माथिबाट तराई जसरी ठुलो फाँटमा बालुवा र मसिना ढुंगाबीचमा हराएर कल कल गर्दै बगिरहेको देखिन्छ। पहाडको बीचमा कालीगण्डकीले बनाएको विशाल फाँट अत्यन्त सुन्दर लाग्छ। वारिपारि विशाल बालुवा र ढुंगा माटोका पहाडहरू बुट्टा भरेझैं कलात्मक देखिन्छन्।

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ। हामी दिउँसो ३.०० बजे मुक्तिनाथ पुग्यौं। मुक्तिनाथ धार्मिक तथा पर्यटकीय क्षेत्र हो। जहाँ हिन्दु धर्मावलम्बी मात्र नभई अन्य धर्म मान्ने विदेशी पर्यटकहरू पनि घुमफिर गरिहेका देखिन्थे। नेपाली मात्र नभई भारतीय हिन्दु धर्मावलम्बीहरूक‍ो पनि मुक्तिनाथमा बाक्लो उपस्थिति देखिन्थ्यो।

मुक्तिनाथ बजारदेखि माथि मन्दिर परिसरसम्म पुग्नलाई हिँड्न नसक्ने वृद्ध तथा अशक्त व्यक्तिहरू कोही घोडामा त कोही मान्छेद्वारा स्टेचरमा बोकाएर गइरहेका थिए। केही मानिसका अक्सिजन नपुगेर निला भएका ओठहरू प्रस्टै देखिन्थे। उनीहरू उकालोमा हिँड्दा सिँढीहरूमा विश्राम लिँदै हिँडिरहेका थिए। हामी बिस्तारै हिँडेर मन्दिर परिसरमा पुगेको एक छिनपछि फुर्रफुर्र हिउँ पर्न सुरु भएको थियो।

हामीले मन्दिरबाट फर्केर खाजा नास्ता खायौं। यहाँ खाजानास्ता पनि महँगो नै रहेछ। सायद त्यहाँ उत्पादन नहुने र बाहिरबाट सबै कुरा गाडीमा नै बोकेर लानुपर्ने भएकाले होला।

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।

मुक्तिनाथ बजारबाट कागबेनी झर्दा साँझको ६.०० बजिसकेको थियो। हामी माथिल्लो मुस्ताङ लोमान्थाङ हुँदै चीनको सीमा कोरला नाकासम्म पुग्न चाहन्थ्यौं। सवारी चालकलगायत हामी सबै अपर मुस्ताङका लागि नयाँ थियौं। कागबेनीमा एकजना गाडीका सवारी चालकसँग अगाडिको बाटो र स्थानबारे जानकारी लिएर हामी अगाडि बढ्यौं। कालीगण्डकीको तिरैतिरबाट एउटा पक्की पुल तरेर बायाँतर्फ उकालो लागेपछि मुस्ताङको भूगोलबारे थप जानकारी हुने रहेछ। जताततै बालुवाको थुप्रो र ढुंगा माटो कम देखिने भीमकाय पहाडहरू ! तिनै पहाडमा प्रकृतिले कोरिदिएका कलात्मक बुट्टा र आकृतिहरू ! अलि माथि सेतो तन्ना ओढेर लमतन्न सुतिरहेका अग्ला अग्ला हिम शृंखलाहरू देख्दा लाग्छ–धर्तीको स्वर्ग यही नै हो। एक छिनपछि अँध्यारो बढ्दै गयो र धर्तीको सबै सौन्दर्य अन्धकारको घुम्टोमा विलीन भयो। कागबेनीबाट हिँडेको दुई घण्टामा हामी समर भन्ने ठाउँमा बास बस्न पुग्यौं।

त्यो दिन त्यहाँ विद्युत् थिएन। होटेलकी साहुनी भन्दै थिइन्, ‘हिजोसम्म बिजुली थियो, आज छैन। बत्ती बाल्न सोलर मात्रै छ।’ उनले बिजुली राति आउन सक्ने कुरा गरिन्। राति विद्युत् आई पो हाल्छ कि भन्ने आशामा हामी सुत्यौं। दुई जना विदेशी महिला पर्यटक र एक जना पुरुष नेपाली गाइड फलामको चुल्होमा आगो तापेर बसिरहेका थिए। ती जर्मन पर्यटकहरू जोमसोमबाट ट्रेकिङ गरेर छैटौं दिनमा त्यहाँ आइपुगेका रहेछन्। उनीहरू पैदलै हिँडेर लोमान्थाङ जाँदै थिए। भोलि हामी नयाँ र रमणीय स्थान अपर मुस्ताङ लोमान्थाङ अनि नेपाल चिन सिमा कोरलानाका सम्म जाँदै थियौ।

हामी बसेको होटेलको बाह्य र आन्तरिक सजावट राम्रो थियो। बाहिर लस्करै थाङ्काहरू फर्फराइरहेका थिए। होटेलको सरसफाइ राम्रो थियोे। त्यहाँ काम गर्ने एकजना युवक तिब्बतियन रहेछन् तर उनी नेपाली भाषा प्रस्ट बोलिरहेका थिए। अर्की एकजना डोल्मा नामकी फरासिली नेपाली युवती पनि त्यहीं काम गर्ने रहिछन्। उनी पुरुष ग्राहकहरूलाई सोल्टी भनेर जिस्काउँदै थिइन्। अलि बुढाहरूलाई भने ससुरा भन्थिन्।

त्यहाँ जताततै खोलाको बगरजस्तै खिइएका गोला ढुंगा र बालुवाका थुप्रा देखिन्थे। ठुला ठुला माटोका थुम्का हिउँले चिरेर कलात्मक बुट्टा भरेझैं देखिएका थिए। कतै मन्दिरका टुँडालजस्ता त कतै मन्दिर र गुम्बाजस्ता आकृृतिहरू थिए। जताततै प्रकृतिको अनुपम सौन्दर्य झल्किरहेको थियो।

उच्च स्थानमा लेक लागेर हो वा के कारणले हो, मलाई राति खासै निन्द्रा परेन। म बेला बेलामा ब्युँझिरहें। मेरो मुटुको चाल बढिरहेको थियो। हल्का टाउको पनि दुःखिरहेको थियो।

एक किसिमले भन्नुपर्दा ननिदाई उज्यालो भयो भन्दा पनि हुन्छ। मैले घडी हेरें, बिहानको पाँच बजेको थियो। झ्यालको पर्दा उघारें। बायाँतर्फ नव दुलही मुस्कुराएझै हिमाल मुस्कुराई रहेको थियो। दायाँतर्फ नव दुलहा मुस्कुराएझैं अर्को हिमाल हिउँको बाक्लो सौन्दर्य लिएर मुस्कुराइरहेको थियो। हिमाली चिसो जताततै फैलिरहेको थियो। त्यो ठाउँ गगनचुम्बी हिमालको काखमा शान्त र सौम्य थियो। रातभरि विद्युत् आएन। हामीसँग मोबाइल र क्यामेरा थिए तर चार्ज थिएन।

हामी रमणीय स्थानहरूको फोटो खिच्न चाहन्थ्यौं। होटेलबाहिर एउटा सानो जेनेरेटर छोपेर राखिएको थियो। मैले त्यो जेनेरेटर स्टार्ट गरेर चार्ज गरिदिनु न भनेर होटेलकी साहुनीसँग अनुरोध गरें। उनले आफूलाई जेनेरेटर स्टार्ट गर्न नआउने र साहुजी बाहिर गएको कुरा बताइन्। मैले हामी स्टार्ट गरेर एकछिन चार्ज गर्छौं भनें। उनी सहमत भइन्। सायद चिसोले हो कि धेरै प्रयास गर्दा मात्र जेनेरेटर स्टार्ट भयो। हामीले मल्टिप्लग बाहिर जेनेरेटर भएकै ठाउँमा जोडेर क्यामेरा र मोबाइलहरू चार्ज गर्‍यौं। यो दृश्यलाई ट्रेकिङमा आएका पर्यटकहरू वाल्ल परेर हेरिरहेका थिए।

भोलिपल्ट बिहान पौने आठ बजे हाम्रो यात्रा सुरु भयो। बाटोमा वारिपारि जताततै हिमालको तल मरुभूमिजस्तो बालुवा र माटोका ढिस्का अनि कलात्मक पहाडका थुम्काहरू थिए। हजारौं वर्षअघि अहिलेको हिमालय पर्वत शृङ्खला टेथिस सागरभित्र थियो भन्ने विश्वास छ।

पृथ्वीको उथलपुथलका कारणले त्यो भूभाग उठ्न गयो र हिमालय बन्यो। हुन पनि त्यहाँ जताततै खोलाको बगरजस्तै खिइएका गोला ढुंगा र बालुवाका थुप्राहरू देखिन्थे। ठुला ठुला माटोका थुम्काहरू हिउँले चिरेर कलात्मक बुट्टा भरेझैं देखिएका थिए। कतै मन्दिरका टुँडालजस्ता त कतै मन्दिर र गुम्बाजस्ता आकृृतिहरू थिए। जताततै प्रकृतिको अनुपम सौन्दर्य झल्किरहेको थियो।

भोलिपल्ट बिहान पौने आठ बजे हाम्रो यात्रा सुरु भयो। बाटोमा वारिपारि जताततै हिमालको तल मरुभूमिजस्तो बालुवा र माटोका ढिस्का अनि कलात्मक पहाडका थुम्काहरू थिए।

समरबाट गाडीमा हिँडेको दुई घण्टामा हामी अपर मुस्ताङको लोमान्थाङ पुगेका थियौं। त्यहाँ प्राचीन शैलीको हिमाली बजार र संस्कृति झल्किरहेको थियो। अन्तिम मुस्ताङी राजा जिग्मे प्रबल बिष्टको दरबार, केही गुम्बाहरू, सांस्कृतिक संग्रहालय लगायत केही हेर्न लायक ठाउँहरू पनि रहेछन्। हामीले खाना खाएर केही ठाउँहरूको अवलोकन गर्‍यौं। गुम्बाभित्र बुद्धका विशाल मूर्तिहरू थिए। काठको प्रयोग गरेर बनाइएका कलात्मक गुम्बाहरूमाथि थान्काहरू फर्फराइरहेका देखिन्थे। आठ सय वर्ष पुरानो स्थान, झोङ गुफा परम्परागत शैलीका घरहरू, पन्ध्रौं शताब्दीका नामग्याल गुम्बा, ऐनी गुम्बा आदि हेर्न लायक प्राचीन स्थानहरू पनि रहेछन्।

लोमान्थाङबाट हामी दिउँसो बाह्र बजे कोरलानाकातर्फ प्रस्थान गर्‍यौं। बाटोमा रोकिँदै फोटो खिच्दै अगाडि बढ्यौं। बाटोमा प्रहरी चौकी थियो। त्यहाँ नेपाल चीन सिमानामा पालना गर्नुपर्ने केही नियमहरू लेखिएका थिए। चीनतर्फको भूभागमा जान र फोटो खिच्न निषेध गरिएको रहेछ। लेकमा गाडीको गतिसमेत कम हुने रहेछ। दिउँसो दुई बजे मात्र हामी कोरला नाका पुग्यौं। हिमालको काखमा फाँटैफाँट परेको समथर भूभाग रहेछ। चिनियाँ भूभागतिर ठुला ठुला भवनहरू रहेका थिए। नेपालको भूभागमा भने चौबीस नम्बर लेखिएको एउटा सिमेन्टको पिल्लर थियोे। हामी त्यहींसम्म मात्र पुग्यौं। हिमालमा हावा धेरै चल्ने रहेछ। त्यहाँ हामी धेरै बेर बस्न सकेनौं। चिसो हावा निरन्तर चलिरहेको थियो। एक छिन नेपाली भूभागतर्फको फोटो खिचेर हामी लारजुङ बास बस्न आइपुग्यौं र भोलिपल्ट बिहान पोखरा हुँदै फर्कियौं।

प्रकाशित: २७ जेष्ठ २०८० ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App