८ वैशाख २०८१ शनिबार
समाज

यस्तो देखियो जुम्लाको रोपाइँ

यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ।

बुधबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ । सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको खेतमा रोपाइँ सुरु गरिएको हो। 

परा-पूर्वकालदेखि नै चन्दननाथ भैरव नाथ गुठी समितिले जेठ १४ गते हुने  रोपाई यो वर्ष भने जेठ २४ गते सारिएको हो। चन्दननाथ भैरव नाथ गुठी समितिका अध्यक्ष अम्मर थापाले पानी र बिउँ अभावका कारण २४ गते रोपाई गरिएको हाे।

चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षेता चढाउन मार्सी धान रोप्ने गरिन्छ। सेरा ज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना माविका विद्यार्थी र स्थानीय महिलाहरू सहभागी थिए।

चन्दननाथ नगरपालिका -५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए।

जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको चन्दननाथ गुठी व्यवस्था समिति जुम्लाका नायब सुब्बा रत्ना आचार्यले बताए।

तातोपानी गाउँपालिकाको हाकुँ र लिताकोट र चन्दननाथ नगरपालिका ८ र ९ वडाबाट धानको बीउ ल्याइएको हो। आचार्यका अनुसार सेरा ज्युलो रोपाई गर्न १ सय ५० जना छात्राहरु सहभागी थिए। 

प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा काली मार्सी धान स्थानीय सबैको सहयोगमा रोपाइ हुन्छ। जुम्ली काली मार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको मानिन्छ । सन् १३०० मा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ। मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ ।

जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो। जङ्गली धान भएकाले यसलाई काली मार्सी भनिएको जुम्लाका संस्कृतविद् रमानन्द आचार्यले बताए ।

जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ।

तस्बिरमा हेर्नुहोस् जुम्लाको काली मार्सी धान रोपाई। सबै तस्बिर: गोल्डेन बुढा/नागरिक।

प्रकाशित: २४ जेष्ठ २०८० १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App