६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अपांगता भएका पत्रकारलाई तालिम

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः ताम्सालिङ प्रदेश (बागमती प्रदेश) को संयुक्त आयोजनामा भएको अपांगता सबालमा तीनदिने पत्रकारिता तालिम सकिएको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा फोनिज बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशभित्रका १३ वटा जिल्लाका अपांगतासम्बन्धी कलम चलाउने पत्रकार र अपांगता भएका पत्रकारलाई तालिम दिइएको हो। रामेछापको मन्थलीमा सञ्चालन गरिएको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता थियो।

तालिम समापन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष गर्जुधन राईले सहभागीलाई बधाई दिँदै सिकेको ज्ञान व्यवसायमा प्रयोग गरेर अब्बल देखिन आग्रह गरेका छन्। आदिवासी जनजाति अझै मूलधारमा समेटिन नसकेको राईको भनाइ छ। ‘हामी धेरै हिसाबले पछाडि परेका छौं। नेपालको सीमान्तकृत र लोपोन्मुख जातिलाई मूलधारमा ल्याउन फोनिजकर्मीहरू सीमान्तकृत र लोपोन्मुख जातिका झुपडीहरूमा पुग्नैपर्छ।’

(फोनिज) का संघीय अध्यक्ष राईले नेपाल पत्रकार महासंघले तथ्य कुल्चने काम गरेको आरोप लगाएका छन। सत्यतथ्य आधार हुँदाहुँदै पनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक घोषणा गर्न आनाकानी गरेको उनको भनाइ छ। त्यस विषयमा अविलम्ब छनबिन हुनुपर्ने उनले बताए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश इन्चार्ज पेमा लामाले अपांगता भएका सञ्चारकर्मीका विषयमा हामीले फरक हिसाबले सोच्नुपर्ने बताए। ‘सहभागिता मात्र ठूलो कुरा होइन सिकेका ज्ञान व्यवहारमा लागु गर्नु ठूलो हो’, उनले भने।

फोनिजका पूर्व उपाध्यक्ष एवं प्रशिक्षक कुमार यात्रीले रामेछाप जिल्ला आदिवासी जनजातिको बाहुल्य भएको जिल्ला भएकाले पनि यही स्थानमा तालिम प्रदान गरिएको बताए। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले अपांगता भएकाहरूको क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रका सिकाइ यो तालिमले प्रदान गरेको बताए। पुरानो र नयाँ प्रविधि फ्युजन गरेर अगाडि बढ्दा सफलता प्राप्त हुने उनको भनाइ छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले आदिवासी जनजाति समुदायमा पुगेर विषयवस्तु उजागर गर्न सीप प्रदान भयो भन्ने लागेको बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछपका उपाध्यक्ष कैलाश खत्री, फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, प्रशिक्षार्थी कुसुम गुरुङले पनि आआफ्नो भनाइ राखेका थिए।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App