८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सय वर्षअघिको काठबाट बनाइँदै बिस्केट जात्राको रथ

भक्तपुर-नयाँ वर्षको आगमनसँंगै प्रत्येक वर्ष भक्तपुरमा मनाइने बिस्केट जात्राका लागि चाहिने भैरवनाथको रथ सयअघिको काठबाट बनाउन थालिएको छ। प्रसिद्ध पाँचतल्ले मन्दिर अगाडि राखेर पुरानो काठैकाठको जोडाइबाट रथ निर्माण सुरु गरिएको हो। प्रत्येक वर्ष जात्राका लागि आवश्यक रथ यही ठाउँंमा राखेर बनाइन्छ।

रथ निर्माणका सिकर्मी नाइके लक्ष्मीप्रसाद सिलाकारले रथ बनाउन एक वर्षभन्दा बढी पुरानो काठको प्रयोग हुँदै आएको जनाए । प्रत्येक वर्ष जात्राको समापनपछि बिगारिएको रथको सञ्चित काठको प्रयोगबाट नयाँं रथ बनाउने गरिन्छ । जात्रा सकेपछि रथको काठलाई पाँंचतल्ले मन्दिर पछाडिको गोदामघरमा सञ्चय गर्ने गरिन्छ ।

पोहोरपरारझैं पुरानो काठ प्रयोग गरी रथ बनाउन थालेका छौं,’ सिकर्मी नाइके सिलाकारले नागरिकसँंग सुनाए, केही मात्रै नयाँं काठको प्रयोग गरेका छौं ।’ उनका अनुसार यो वर्ष रथमा पिलरजस्तै ठाडो रहने चारवटा २२ फिट उचाइका काठ मात्रै नयाँं छन् । बाँंकी सबै काठ पुराना छन् ।

जात्राका लागि करिब ३० फिट अग्लो प्यागोडा शैलीको तीनतल्ले रथ बनाइन्छ । रथ निर्माणमा झण्डै आधा दर्जन कामदारहरु दुई हप्ता अगाडिदेखि  नैखटिँदै आएका छन् । प्रत्येक वर्ष सोही कामदारहरुको टोलीले रथ काठैकाठबाट जोडेर बनाउँछ । रथमा एउटा पनि किल्ला ठोकिँदैन ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरि अधिकारीले नयाँं काठको प्रयोगबाट रथ निर्माण गर्न बजेट अभाव हुने बताए । ‘पाङ्ग्रालगायतका काठ भने समयसमयमा फेरिन्छ,’ उनले भने, ‘रथ निर्माणमा संलग्न सिकर्मीहरुसँंग आवश्यक सल्लाह गरी नयाँं काठ फेर्ने गर्छौं ।’

काठ पुरानो भएकै कारण पनि प्रत्येक वर्ष जात्राका क्रममा रथ बिग्रने गर्दछ । सयौं सर्वसाधारणले जबरजस्ती दुवैतिर रथ तान्दा बिग्रने गरेको हो । रथलाई मजबुत बनाउन विशेष गरेर चारवटै पाङ्ग्रालाई फलामको पाटाले बेरेर मजबुत पारिन्छ ।

भक्तपुरमा प्रत्येक वर्ष बिस्केट जात्रा आठ रात नौ दिन चल्छ । प्रत्येक वर्ष नयाँं वर्ष वैशाख १ गते सुरु हुनुभन्दा पाँंच दिन अगाडि अर्थात यो वर्ष चैत २८ गते रथ तानेर जात्रा सुरु हुन्छ । रथ तानेरै बैशाख ५ गते जात्राको अन्त हुन्छ ।

जात्राको मुख्य आकर्षण रथ तानातान हो । भक्तपुर नगरको केन्द्रको रुपमा रहेको यहीँँबाट माथिल्लो र तल्लो टोलबीच रथ तानानाथ हुन्छ । चारपाङ्ग्रे अग्लो रथलाई दुवैतिर चार–चारवटा मोटोे लामो डोरी राखेर तानातान गरिन्छ ।

इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा एक हजार पाँंच सय वर्ष अगाडिको लिच्छविकालदेखि चलिआएको छ । मध्यकाल वा ६ सय वर्ष अगाडि यक्ष मल्लको पालामा पनि विश्वजात्राको नाममा यो जात्रा चलिआएको पाइएको इतिहासविद प्राडा श्रेष्ठले बताए । साथै मल्लकालको अन्तिम समयमा आएर यो जात्रा आठ रात नौ दिनसम्म चल्न थालेको इतिहास पाइएको इतिहासविद श्रेष्ठको भनाइ छ ।

 

 

प्रकाशित: २० चैत्र २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App