५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितवनका गैंडा शुक्लाफाँटा लैजाने तयारी

चितवन- यो वर्ष चितवन राष्ट्रिय निकुञ्जका पाँचवटा गैंडा पश्चिमको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि चितवनका गैंडा बर्दियाका साथै शुक्लाफाँटामा समेत स्थानान्तरण भइसकेका छन्। तर, स्थानान्तरित गैंडा जोगाउन गाह्रो हुने गरेको छ।

चितवनका बासिन्दाले भने बन्यजन्तु संरक्षणका लागि स्थानान्तरण उपयुक्त छ भन्ने प्रत्याभूति हुनुपर्ने माग गरेका छन्।

सौराहा क्षेत्रका १९ संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गैंडा स्थानान्तरणअघि समुदायसँग छलफल गर्न माग राखेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आइतबार सौराहामा पत्रकारसँग चैत्र २१ गते गैंडा स्थानान्तरण सुरु हुने बताए। चारवटा पोथी र एउटा भाले गैंडा शुक्लाफाँटा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। शुक्लाफाँटामा हाल नौवटा गैंडा छन्। चितवनबाट लगेका गैंडाले नै त्यहाँ संख्या बढाएका हुन्।

गत वर्ष पनि चितवनबाट पाँचवटा गैंडा स्थानान्तरण गरेर बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छाडिएको थियो। गत वर्ष एउटा गर्भिणी गैंडासमेत स्थानान्तरण भएर बर्दिया पुगेको थियो। बर्दिया पुगेको केही महिनापछि नै सो गैंडाले बच्चा जन्माएको थियो। सो बच्चालाई हालै बाघले खाइदिएको छ। त्यस्तै चितवनबाट लगेकै एउटा भाले गैंडाको मृत्यु भएको छ।

चितवनबाट बर्दिया लगेका गैंडा र बाघसमेत नबचेको अवस्थामा चितवनका संरक्षणकर्मीले गत वर्ष स्थानान्तरणकोे विरोध गरेका थिए। चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले गत वर्ष गैंडा स्थानान्तरण गरिसकेपछि प्रशासनका अधिकारीले समुदायसँग समझदारी गरेको बताए।

'समझदारी केकति पूरा भए, समीक्षा गरेर मात्रै स्थानान्तरण कार्यक्रम अगाडि बढाउनु ठीक हुन्छ भन्ने हाम्रो मत हो', अध्यक्ष ढुंगानाले भने। स्थानान्तरणले बन्यजन्तु संरक्षणमा साँच्चै नै प्रभाव पार्ने हो वा हैन, त्यसको प्रत्याभूति स्वतन्त्र विज्ञको अनुसन्धानबाट निर्क्योल गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिसहित सौराहा क्षेत्रका १९ वटा संघसंस्थाले आइतबार संयुक्त विज्ञप्ति निकालेर स्थानान्तरणप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरुले निकुञ्ज प्रशासनसमक्ष सातवटा बुँदामा प्रतिबद्धता मागेका छन्। स्थानान्तरणअघि लैजाने ठाउँको गम्भीर वातावरण अध्ययन हुनुपर्ने माग समुदाएको छ।

'गत वर्ष लगेका माउबाट जन्मिएको एउटा बच्चा बाघले खायो। यो त प्राकृतिक कारण भयो होला, अर्को भाले गैंडा मरेको खबर आएको छ। यस्तो हुने हो भने स्थानान्तरण किन गर्ने', एनिमल राइट्स क्लबका अध्यक्ष सुराजन श्रेष्ठले भने।

मध्यवर्तीका अध्यक्ष ढुंगाना बबईमा अब त्यसै गैंडा लैजान नदिने बताउँछन्। त्यस्तै अन्यत्र लैजाने बेलामा पनि चितवन निकुञ्ज प्रशासनले यहाँका समुदायसँग विशेष सल्लाह र समन्वय गर्नुपर्ने उनले बताए। चितवनबाट शुक्लाफाँटा गैंडा लैजाँदा दुवै क्षेत्रका समुदायबीच छलफल र भेटघाट हुने अवसर प्रशासनले जुटाउनुपर्ने ढुंगानाको माग छ।

'पहिलाको जसरी अटेर गरेर गैंडा लैजान खोज्ने हो भने हामी प्रदर्शनमा उत्रन बाध्य हुनेछौं', वातावरण तथा बन्यजन्तु संरक्षण समितिका संयोजक जितबहादुर तामाङले भने।

सन् २००३ यता चितवन निकुञ्जबाट ८७ गैंडा स्थानान्तरण भएका छन्। चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ८२ र शुक्लामा पाँचवटा गैंडा स्थानान्तरण गरिएको हो।

गत जेठमा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार देशभर ६ सय ४५ गैंडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा भेटिए। चितवनबाटै ८२ गैंडा स्थानान्तरण गरेर लगेको बर्दियामा २९ र शुक्लाफाँटामा आठ गैंडा छन्। चितवनबाट सन् १९८४ देखि गैंडा बर्दिया लैजान थालिएको हो। चितवन निकुञ्जबाट लगेकामध्ये ७० गैंडा बर्दियाको बबई क्षेत्रमा छाडिएका थिए।

२०५८ को संकटकालअघि बबईमा ८४ गैंडा थिए। २०६३ सालमा अनुमगन गर्दा ती सबै मारिएको पाइयो। त्यसैले बबई उपत्यका गैंडाका लागि उपयुक्त नदेखिएको अवस्थामा सरकारले स्थानान्तरणमा मात्रै जोड दिँदा संरक्षणमा गलत प्रभाव पर्न सक्ने स्थानीयको भनाइ छ।

प्रकाशित: १४ चैत्र २०७३ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App