७ वैशाख २०८१ शुक्रबार
समाज

एसएलसी खारेज, अब एसइई हुने

काठमाडौं— सरकारले यसै वर्षदेखि एसएलसी परीक्षाको नाम फेर्‍यो। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम गरियो । तर, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको जिम्मेवारी भने परीक्षा नियन्त्रण कार्यालयले नै पाएको छ।

संशोधित शिक्षा ऐनअनुसार उक्त परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत सञ्चालन गर्नुपथ्र्यो । तर, शिक्षा मन्त्रालयले ऐन संशोधन भए पनि एसइई भने पुरानै संरचनाबाट गर्ने तयारी गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अर्काे वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमार्फत सञ्चालन गर्ने बताए । ‘ऐन संशोधन भए पनि अहिले परीक्षाको सम्पूर्ण जिम्मेवारी परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ,’ उनले भने, ‘अर्काे वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमार्फत सञ्चालन गर्नेछौं ।’

शिक्षा विभागका प्रवक्ता हरि लम्सालले प्रादेशिक संरचना नबन्दा पुरानै ढाँचाबाट परीक्षा सञ्चालन गर्न लागेको बताए । ‘माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नुपर्ने हो । तर, अहिलेसम्म पूर्वाधार नबनेकाले परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने जिम्मेवारी दिएका हौं,’ उनले भने, ‘प्रादेशिक संयन्त्र नबनेकाले यस्तो भएको हो।’

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले चैत ३ गतेदेखि हुने एसइईमा पाँच लाख ३८ हजार १ सय ८२ विद्यार्थी सामेल हुने बताए । तीमध्ये २ लाख ३५ हजार ३ सय दुई छात्रा र २ लाख ३३ हजार ९८ छात्र छन् । उनका अनुसार देशभर १ हजार ९ सय २९ परीक्षा केन्द्र र केन्द्राध्यक्ष रहनेछन् । उक्त परीक्षामा दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५ सय ९१ जनशक्ति खटाइने परीक्षा नियन्त्रण कार्यालयले  जनाएको छ।

‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्नेछौं,’ नियन्त्रक रेग्मीले भने, ‘परीक्षामा अमर्यादित र उच्छृंखल गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्नेछौं ।’ परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । साधारण तर्फको परीक्षा चैत ११ गते र प्राविधिक तर्फको १४ गते सम्म चल्नेछ।

परीक्षाको मन्त्रालयका सहसचिवको नेतृत्वमा १८ वटा टोलीले अनुगमन गर्नेछन् । त्यस्तै क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अगुवाइमा पनि अनुगमन टोली खटाइने शिक्षा मन्त्रालयले जनाएको छ।

परीक्षा मर्यादित र भयरहित ढंगले सञ्चालनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ब्याकअप फोर्सका रुपमा नेपाली सेना परिचालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७३ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App