उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) धराशायी भएको भन्दै स्थानीयवासीले ‘बचाऊ अभियान’ थालेका छन्।
त्रियुगा नगरपालिका ६ जलजले स्थित रहेको पूर्ण सरकारी स्वामित्वको उद्योग पछिल्लो २ वर्षयता एकपछि अर्को गर्दै टाट पल्टाएको भन्दै स्थानीयले उद्योग बचाउन अभियानको सुरुवात गरेका हुन्।
अभियानको पहिलो दिन सोमबार बिहानदेखि उद्योगको मूल प्रवेश द्वार अगाडि भेला भएका उद्योग प्रदूषण क्षेत्रका स्थानीयवासीले विभिन्न माग लेखिएको प्लेकार्ड र नारासहित धर्ना दिएका छन्। गेटै अगाडिको वर-पीपल गाछी चौतारामा धर्ना बसेका स्थानीयवासीले उद्योगलाई यो हालतमा पुर्याउने प्रत्यक्ष तथा अप्रत्यक्ष दोषीहरूलाई साङ्केतिक विरोध गरेका हुन्।
‘उद्योग छेउको बास, प्रदूषणको रास, हराभरा समाजको कहिले गर्ने आस?’, लुट्नसम्म लुट्यौ लुटेरा हो अव छैन छुट, स्थानीय जागिसके पर्दाफास गर्न तिम्रा ब्रम्हलुट’ लेखिएको ब्यानर छातीमा टाँसेका धर्नाकारीहरूले ‘उद्योगकै कमाइले घर गोठ बनायौ, जाने बेला उद्योगलाई रित्तिनबाट खोइ जोगायौ?’ उल्लेखित प्लेकार्ड पनि हात हातमा बोकेका थिए।
उद्योग आसपासका जलजले, देउरी, श्रीपुर, दमौटी, लालपत्ता, बगाहा, चुहाडे, सुकौरा, चिलाउने लगायत प्रदूषण क्षेत्रको बढी जसो जमघट रहेको धर्ना कार्यक्रममा गाईघाट बजारवासी सचेत नागरिकहरूको पनि सहभागिता रहेको थियो।
धर्नामा सहभागीमध्येका एक त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्काले ६७ जनाको समूह धर्नामा बसेको बताए। सदस्य खड्काका अनुसार धर्नासँगै भएको भेलाले त्रियुगा ५ श्रीपुरका राधारमण खतिवडाको संयोजकत्वमा २७ सदस्यीय ‘उदयपुर सिमेन्ट उद्योग बचाऊ खबरदारी समिति’को गठन गरेको छ।
समितिको सहसंयोजकमा गाईघाटका राजकुमार घिमिरे, सचिव लालपत्ताका प्रवेश खड्का, सहसचिव जलजलेका रमाकान्त चौधरी रहेका छन्। सदस्यमा पवन ढकाल, अरविन बोगटी, तिलक लामा, सीताराम चौधरी, दुर्गा श्रेष्ठ, हरि श्रेष्ठ, मिलन घिमिरे, विक्रम ढुंगाना, दावा शेर्पा, विष्णु भुजेल, मानबहादुर खड्का र छाताराम चौधरी रहेका छन्। त्यसै गरी मनोज पौडेल, केशव आचार्य, पुष्प अधिकारी, शत्रुघन साह, देवबहादुर कार्की, जगन्नाथ भट्टराई, दीर्घ सिंह कार्की, किरण ढुंगाना, पुरुषोत्तम खतिवडा र सञ्जिव चौधरी पनि सदस्य रहेका छन्।
नवगठित खबरदारी समितिको सोमबारै बसेको बैठकले विभिन्न ५ बुँदे निर्णयसमेत गरेको छ। जस अनुसार अघिल्लो दिन काटिएको विद्युत् लाइन तत्काल पुनः जडान गर्न सम्बन्धित निकायसमक्ष आग्रह गर्ने, उद्योगमा हाल देखिएको कोइला, कवाडी, सुरक्षाकर्मी व्यवस्थापन लगायतको बेथिति र भ्रष्टाचार तथा अनियमितताको वास्तविकता पत्ता लगाई कारबाही गर्न तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ।
त्यसैगरी उद्योग सुधारका लागि विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय र उद्योग मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने तथा माग पुरा नभएसम्म गेटअगाडि हरेक दिन बिहान ९ः०० देखि १०ः०० बजेसम्म धर्ना दिने, उद्योगमा कार्यरत ट्रेड युनियनहरुसँग नियमित अन्तरक्रिया र छलफल जारी राख्ने निर्णय पनि बैठकले गरेको छ। पारित निर्णयहरुको कार्यान्वयनका लागि भोलिदेखि नै समिति सक्रिय भएर लागी पर्ने संयोजक खतिवडाले बताए।
कार्यकालको २ वर्षे अवधिमा उद्योगलाई पूर्णरुपमा धराशायी बनाएको भन्दै मजदुर संघसंगठनले महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेको राजीनामा माग्दै उद्योग मन्त्रीलाई ज्ञापन पत्र बुझाई सकेका छन्।
मजदुरहरुको यही मागसँगै सुरु भएको खबरदारी आन्दोलनले उद्योगलाई जसरी पनि लयमा फर्काउने लक्ष्य लिएको संयोजक खतिवडाले बताएका छन्।
प्रकाशित: २ जेष्ठ २०८० ०९:१३ मंगलबार





