निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।
सम्झौता गरेको २ वर्षभित्र अर्थात ०७६ असार मसान्तभित्र निर्माण सकेर हस्तान्तरण गर्नेगरी २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तामझामका साथ सिल्यान्यास गरेको पुल अहिलेसम्म १० प्रतिशत हाराहारी मात्र काम गरेर अलपत्र छडिएको छ।
ठेकेदारको चरम लापरबाहीका कारण उदयपुरको त्रियुगा नगरपालिका १४ साउने र खोटाङ बराहापोखरी गाउँपालिका २ सुन्तले जोड्ने धाब्लाङमा बनाउनुपर्ने पक्की पुलको भौतिक प्रगति हालसम्म ११ प्रतिशत हाराहारी मात्र भएको छ। समयमा पुल निर्माण नहुँदा उदयपुरको गाईघाट खेवा पर्ने बराहापोखरी गाउँपालिकासँगै खोटाङको दक्षिणी भेगका जनता आउजाउ गर्न समस्यामा छन्।
सुरु भएको ५ वर्षमा हालसम्म नदीवारि र पारि फाउण्डेशन पिल्लर गाड्ने काम सकिएको छ भने वारिपटि वेल फाउण्डेशन (इनार आकारको पिल्लर) खन्ने काम आधा गरेर छाडिएको छ। निर्माण कम्पनीको लापरबाहीले ३ वर्षअघि बनिसक्नुपर्ने पुल अहिलेसम्म नबनेर अलपत्र पारेको बराहापोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए। ठेकेदारकै कारण पुल बनाउन यत्तिका वर्षसम्म ढिला गरेको गुनासो उनको छ।
अध्यक्ष बञ्जराले सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही गर्नुको साटो सरकारले पटकपटक म्याद थप्ने गरेकोमा पनि चित्त दुखाएका छन्। समझौता अनुसार काम नगर्ने ठेकेदारलाई छिटो गर्न दबाब दिनुपर्ने भन्दै उनले ताकेता गर्दा नमाने ठेक्का तोडेर कालोसूचीमा राख्न पुल विभाग र मन्त्रालयमा सिफारिस गर्नुपर्ने उनको माग छ। पुल बनाउन ढिला गरेको विषयमा गाउँपालिकाले जिल्ला समन्वय समिति, प्रदेश र संघीय सांसदहरु, प्रदेश सरकार, पुल सेक्टर कार्यालय, विभाग हुँदै मन्त्री र प्रधानमन्त्रीसम्म भेट्न प्रतिनिधिमण्डल गएर गुहारेको उनले बताए। पुल चाँडो बनाउन गाउँपालिकाले ३ वर्षअघिकै वार्षिक नीति तथा कार्यक्रमबाट माग प्रस्ताव पारित गरेर जिल्ला समन्वयमार्फत ठेकेदार, पुल सेक्टर, विभाग हुँदै प्रदेश र संघीय मन्त्रालयसम्म मौखिक तथा लिखित ताकेता गरेको थियो।
बराहापोखरी २ का वडाध्यक्ष पदम मगरले पुलको काम ढिला हुँदा वडाबासीसँगै सिंगो गाउँपालिका र जिल्लाको दक्षिणी भेगका जनता मारमा पर्दै आएको बताए। उनका अनुसार खोटाङ भए पनि नजिक र सीमा जोडिएका कारण दैनिक उपभोग्य सामग्रीदेखि लत्ता कपडा, निर्माण समग्री सबै उदयपुर सदरमुकाम गाईघाट भएर ल्याउनुपर्ने भएकाले सो पुलको महत्व धेरै छ। तर, वर्षौँदेखि बन्न थालेको पुल अत्तोपत्ता नहुँदा पिठ्युँमा बोकेर झोलुङ्गे पुल तार्दै गाउँसम्म सामग्री लानुपर्ने बाध्यता छ। पुल नहुँदा अत्यन्त समस्या भोग्न बाध्य स्थानीयका लागि जतिसक्दो छिटो धाब्लाङमा पुल बनिसक्नुपर्ने माग वडाध्यक्ष गरले गरेका छन्।
सुन्तले २ हर्रेचुङका युवा व्यवसायी मुकेश राईले ठेकेदार र सरोकारवाला निकायको कमजोरीका कारण पुल बन्न ढिला भएको गुनासो गरे। धाब्लाङ पुल बराहापोखरी मात्र नभएर खोटाङको दक्षिणभेगका २५÷३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएकाले अत्यन्त महत्वपूर्ण छ। तर, निर्माण सुरु भएको ५ वर्षसम्म बनाईनसक्नुमा ठेकेदार मात्र नभएर राजनीतिक दल, जनप्रतिनिधि, सरकार र नियमनकारी निकायहरु सबैको कमजोरी रहेको गुनासो छ। नदीमा पुल नबन्दा गाईघाट–साउने–धाब्लाङसम्म सडक स्तरोन्नति भईसक्दा पनि खोटाङतर्फको यात्रा गर्न वर्षौँअघि बनेको झोलुङ्गे पुल तरेर पिठ्यँमा भारी बोक्नुपर्ने दुर्दसा कायम रहेको उनी बताउँछन्।
पुल निर्माणको ठेक्का रसुवा/स्वच्छन्द/पप्पु जेवीले लिएको पुल सेक्टर १ इटहरीले जनाएको छ। सेक्टरका योजना प्रमुख (डिई) प्रदिप भण्डारीका अनुसार पुल मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक २२ करोड ५ लाख रुपैंयामा ठेक्का लागेको हो। डिई भण्डारीका अनुसार पहिलेको डिजाईन अनुसार पुल नबनन्ने प्राविधिक समस्या देखिएका कारण काम रोकिएको हो। पहिले वेल फाउण्डेशन प्रविधिमा निर्माण सुरु भएको पुल प्राविधिक इस्टीमेट बदल्नु पर्ने भएकाले काम रोकनु परेको भण्डारीले बताए। अब ‘पाईल फाउण्डेशन’ प्रविधिमा निर्माण गर्नेगरी इस्टीमेट बदल्ने प्रक्रियामा रहेको भन्दै डिजाईन स्वीकृति भएलगत्तै काम सुरु हुने भण्डारीले बताए।
निर्माण कम्पनी इन्जिनियर अजय लामिछानेले पुल बनाउँदा वेल फाउण्डेशन प्रविधि बदल्नु पर्ने देखिएपछि काम रोकेर डिजाईन बदल्न नयाँ इस्टीमेट भईरहेको बताए। उनका अनुसार आउँदो असारसम्म म्याद रहेको पुलको काम हालसम्म ११ प्रतिशत भएको पुलको कामका भुक्तानी ३ करोड भइसकेको छ। डिजाईन बद्लेपछि ०८१ असारभित्र सक्ने गरी पुलको काम गर्ने योजना बनाएको इन्जिनियर लामिछानेले बताएका छन्।
धाब्लाङमा पुल नहुँदा खोटाङको दक्षिणी भेगका झण्डै २५÷३० हाराहारी जनता प्रत्यक्ष प्रभावित हुदै आएका छन्। बराहापाखेरीका ६ वडाका १८ हजार जनसंख्याको मुख्य आउजाउ गर्ने नाका भनेकै धाब्लाङ हो। सो नाका भएर गाउँपालिकाबासीले व्यापार व्यवसाय, उपभोग्य सामग्री ओसारपसार, कृषिउपजको बिक्री बितरण गर्न धाब्लाङ भएर आउजाउ गर्नुपर्ने बाध्यता छ। बराहापोखरीसँगै जन्तेढुंगा, खोटेहाङ र दिप्रुङ चुईचुम्मा गाउँपालिकाबासीका लागि पनि उपभोग्य सामग्री खरिद बिक्रीका लागि खोटाङ सदरमुकाम दिक्तेलभन्दा उदयपुरको गाईघाट सहज रहेको गाउँपालिकाका कर्मचारी महेश बञ्जराले बताए। उनका अनुसार जिल्ला फरक भए पनि पहुँचका हिसावले सीमा जोडिएको र नजिक भएकाले व्यापार व्यवसायदेखि सबै जसो काममा धाब्लाङ नाका भएर उदयपुृर सहज हुने गरेको छ।
प्रकाशित: २६ वैशाख २०८० १३:२० मंगलबार