७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सकियो शिशु बुद्धसहितको लुम्बिनी प्राचीन कपिलवस्तु रथ यात्रा

तिलौराकोटमा २५६७ बुद्ध जयन्ती र प्रसूति उत्सव

लुम्बिनी–प्राचीन कपिलवस्तु रथ यात्रामा ल्याइएको शिशु बुद्धको क्रीडास्थल तिलौराकोटमा बोकेर लगिँदै। तस्बिर: किरणमान/नागरिक

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ। कपिलवस्तुका प्रजिअ शंकरहरि आचार्य, प्रहरी उपरीक्षक प्रेम बस्नेत, लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मालगायतको टोली शनिबार बिहानै बेबी बुद्ध लिन लुम्बिनीको मायादेवी मन्दिरमा पुगेको थियो।

शिशु बुद्धलाई बुद्धको क्रीडास्थल तिलौराकोट ल्याइएको छ। टोलीले शिशु बुद्धलाई बुद्ध जयन्तीको अर्को दिन अर्थात् शनिबार तिलौराकोट पुर्‍याएको हो। लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमिको भव्य यात्रा निकालिएको हो।

२०७० सालदेखि बुद्ध जयन्तीका अवसरमा सो यात्रा निकालिएकोमा कोरोनाका कारण २०७७ र २०७८ मा रोकियो। गत वर्षदेखि सो कार्यक्रम सुरु गरिएको हो। बुद्धको जन्मथलो लुम्बिनीमा शुक्रबार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाइएको थियो।

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ।

रथरूपी गाडीमा धातुको बेबी बुद्धको मूर्ति राखेर यात्रा गरिएको थियो। कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफूले जीवनमै पहिलोपटक अनुभव गरेको बताए।

उनले पुरातात्विक स्थललाई सुरक्षित गरी मात्र यसको अन्य विकास गर्नुपर्ने बताए। उनले लुम्बिनीजस्तै तिलौराकोटको समेत विकास गर्नुपर्ने बताए। विगतमा लुम्बिनीलाई केन्द्रमा राखी काम गर्ने तिलौराकोट, रामग्रामलगायतका क्षेत्रमा कम विकास भएको भन्दै बृहत्तर लुम्बिनी विकासअन्तर्गत अन्य क्षेत्रको पनि विकास गरिने बताए।

राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्कदाको २६ सय वर्षअघिको क्षण बुद्ध जयन्तीमा आफूले पहिलोपटक प्रत्यक्ष अुनभव गर्न पाएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए। ‘बालकको रूप धारण गरेका बोधीसत्व बुद्ध शिशु लिएर राजप्रासाद फर्कंदाको त्यो महत्वपूर्ण र आकर्षण राजकीय क्षण महसुस गरे’, उनले भने, ‘बुद्धकी आमा मायादेवीले शिशु बुद्धलाई लिएर फर्कंदाको प्रत्यक्ष दृश्य हरेजस्तो लाग्यो।’

यस्तो कार्यक्रमले आझेलमा परेको प्राचीन कपिलवस्तुको ध्यान खिच्न मद्दत मिलेको लुम्बिनी विकास परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए। २६ सय वर्षअघिको घटना अहिले हेर्न पाउनु ऐतिहासिक भएको भन्दै यसले लुम्बिनी र कपिलवस्तुको ऐतिहासिक सम्बन्ध अझ सुदृढ हुने उनले बताए।

 पूर्वमन्त्री तथा पूर्वराजदुत दीपकुमार उपाध्यायले प्रसूति मार्गका लागि राज्यले खासै चासो नदिएको बताए। उनले भने, ‘यस्ता कार्यत्रमले लुम्बिनीको छायामा पर्दै आएको कपिलवस्तुको पर्यटन प्रवर्धनमा कोसेढुंगा साबित हुने छ।’

सो अवसरमा सांसद रूपा विकासले राज्यले तिलौराकोटलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताए। उनले तिलौराकोटको कागजमा मात्र विकास गरिँदा त्यसले मूर्तरूप भने लिन नसकेको बताए।

राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्कदाको २६ सय वर्षअघिको क्षण बुद्ध जयन्तीमा आफूले पहिलोपटक प्रत्यक्ष अुनभव गर्न पाएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले राज्यले तिलौराकोटलाई प्राथमिकतामा नराख्दा यसको विकासले गति लिन नसकेको बताए। उनले तिलौराकोटको समग्र विकासका लागि छुट्टै कपिलवस्तु विकास समिति गठन गर्नुपर्ने बताए। सो अवसरमा शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले कपिलवस्तुका नेता र जनताको मानसिकताले यसको विकास हुन नसकेको बताए। तिलौराकोट दरबारको पश्चिमी द्वारनजिकै शिशु बुद्धलाई राखेर कार्यक्रम गरिएको थियो।

बौद्ध ग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माइत देवदह जाने इच्छा गरेकी थिइन्। रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभूति गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै शालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिइएकी थिइन्। यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्सोउल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो। शिशु सिद्धार्थसहित सुत्केरी मायादेवी सयौं गन्यमान्य रथमा राखेर कपिलवस्तु फर्किएकी थिइन्।

बौद्ध ग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माइत देवदह जाने इच्छा गरेकी थिइन्।

त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोदनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत गरेका थिए। सिंगो कपिलवस्तुमा कयौं दिनसम्म खुसियाली भएको स्मरण गर्दै रथ यात्रा गर्न लागेको बताइएको छ। कार्यक्रममा शान्ति दौड प्रतियोगितामा विजयी खेलाडीलाई मन्त्री भुसालले प्रमाणपत्र वितरण गरेका थिए।

कोषका सदस्य रामनरेश कोहारको अध्यक्षतामा र गोपीकृष्ण शर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलगायतले मन्तव्य दिएका थिए।

 सो अवसरमा उपाध्यक्ष त्रिपाठीले प्राचीन कपिलवस्तुको धान रोपाइँ मंगलोउत्सवमा महाराज शुद्धोदनको सवारीको प्रतीकका रूपमा मायाको चिनो मन्त्री भुसाललाई हस्तान्तरण गरेका थिए। कार्यक्रमका बीच गच्छामी मिडियाले तिलौराकोट दरबारमा प्राचीन कपिलवस्तुका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलको फोटो प्रदर्शनसमेत गरिएको थियो।

प्रकाशित: २४ वैशाख २०८० ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App