१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनीमा आज २५६७औं बुद्धजयन्ती मनाइँदै

लुम्बिनीमा आज (शुक्रबार) २५६७औं बुद्धजन्यन्ती एवं लुम्बिनी दिवस मनाइँदै छ। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मलेन तथा ध्यान केन्द्रमा आयोजना गरिने २५६७औं बुद्धजयन्ती तथा लुम्बिनी दिवश विशेष समारोहको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्धजयन्ती मूल समारोहअघि धार्मिक पूजा, बुद्धपाठ, झाँकीसहितको र्‍याली प्रदर्शन लगायत कार्यकम गरिने जानकारी दिए।

बुद्धजयन्तीको तयारीबारे लुम्बिनी विकास कोषले लुम्बिनीमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले सो जानकारी गराएका हुन्। बुद्धजयन्तीको दिन शुक्रबार बिहान ६ बजेदेखि ७ बजेसम्म बुद्धपूजा तथा पाठ र ९ बजे विभिन्न झाँकीसहित र्‍याली निकालिने उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको आयोजनामा हुने बुद्धजयन्ती मूल समारोहमा उच्चपदस्थ अधिकारीहरूसँगै विभिन्न मुलुकका राजदूत, बौद्ध भिक्षुलगायतको पनि सहभागिता हुने भट्टराईले बताए।

बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी विकास कोषले वैशाख १९ देखि २३ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ। सोही अवसरमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने तयारी पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

बुद्धजन्मस्थल लुम्बिनीको वातावरण शान्तिपूर्ण बनाउने उद्देश्यले कोषले यसपालिको बुद्ध पूर्णिमाको दिनदेखि लुम्बिनी परिसरभित्र चल्ने सवारीसाधनलाई हर्न बजाउन निषेध गरिएको पत्रकार सम्मलेनमा भट्टराईले जानकारी गराए।  

प्रकाशित: २२ वैशाख २०८० ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App