राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गरेका हुन्।
त्यस अवसरमा उनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गरे। अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे। उनले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सृजना गर्न पनि सिंगो देशबासीलाई आग्रह गरे। अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।
उनले भने, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझन पाए। यो त संसदले गर्नुपर्ने हो। मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो। यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसदमा लैजानुपर्ने विषयहरु छैनन यसमा । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् हामी भोली पास गर्न तयार छौं। सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस्। नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस्। त्यसलाई पारित गर्न हामी तयार छौं। कुनै पनि ठूलो कुरा छैन। म फेरी पनि भन्छु–सरकारले ढिलो नगरोस्। यो लाजमर्दो स्थिति पालेर नराखोस्। यो लाजमर्दो स्थिति हो। देशका लागि बेइज्जतीको कुरा हो। सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाईराखेको छ। र, पनि सरकारले यहाँ धर्ना सुरु भएको ७२ घण्टा भईसक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ। म फेरी पनि भन्छु–एक छिन पनि ढिला नगरोस् यो कामको लागि। र, जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन। र, यो निर्णयमा सहमत हुन आउँदैन। तबसम्म म फेरी पनि सम्पूर्ण देशबासीहरुसँग अपिल गर्न चाहन्छु–यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन। यो देशको कुरा हो। हामी सबैले ऐक्यवद्धता व्यक्त गरौं। देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊ। र, आँधिबेहरी सृजना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु। र, यसमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग र ऐक्यवद्धता रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
प्रकाशित: १७ वैशाख २०८० ०८:०५ आइतबार