७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास

कपिलवस्तुको यशोधरा गाउँपालिका ३ वसन्तपुरका गाउँलेद्वारा बनाइएको गुइँठा सुकाउन राखिएको अवस्था।

रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो। जिल्लाका बिभिन्न स्थानमा पटक पटक माटो परीक्षण गर्दा यस्तो देखिएको हो। कपिलवस्तुको माटोमा क्षारीयपन बढी रहेकोले माटोको उर्भरशक्ति कमजोर बनेको कृषि ज्ञान केन्द्रका प्रमुख राघवेन्द्र चौबले बताए। नाइट्रोजन ,फस्फोरस र पोटासको मात्रा समेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको उनले बताए। 

जिल्लामा युरिया, डी.ए.पी. लगायतका रासायनिक मलको अत्याधिक प्रयोग गर्ने गरिएको छ। रासायनिक मल मनपरी ढंगले प्रयोग गरिएकाले माटोमा रहने बिभिन्न तत्त्वहरूमा गम्भीर असर परेको कृषि प्राविधिकहरूको भनाई छ। प्राङ्गारिक मलको साटो अहिले रासायनिक मललाई कृषकहरूले अंगालेकाले माटोको सन्तुलनमा नकारात्मक असर भएको कृषि प्राविधिकहरू बताउँछन्। बिक्रेताहरूले रासायनिक मललाई किराना सामान झै बजारमा बिक्रीका लागि राख्ने गरेकाले समेत मलमा रहेको तत्त्वहरू खेर जाने गरेको छ। बोरामा प्याकिङ गरी राखिएका त्यस्ता मललाई बिक्रेताले खुला रुपमा बिक्री गरिरहेकाले मलमा रहेको बिभिन्न तत्त्वहरू खेर गइरहेको हो। त्यस्ता मललाई कृषकले आफ्नो खेतमा प्रयोग गरेकोले समेत माटोको उर्वर शक्तिमा खासै वृद्धि हुन नसकेको कृषि प्राविधिक शिवपुजन गुप्ता बताउँछन्। 

कृषि ज्ञान केन्द्र अनुसार यहाँको कूल खेतीयोग्य ८३ हजार जमिनमा बलौटे,दोमट र चिम्टाईलो माटो रहेको छ। यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइन्छ। यस्तो अवस्थामा झनै हचुवाको भरमा रासायनिक मल खेतमा प्रयोग गरिदा माटोमा रहेका ती तत्त्वहरूको सन्तुलन बिग्रिएर भूमीको उत्पादकत्व क्षमता कमजोर हुने प्राविधिकहरू बत्ताउँछन्। ‘ प्राङ्गारिक मलको साटो रासायनिक मलको बढदो प्रयोगले यहाँको भूमि असन्तुलित भएको छ  ’  कृषि कार्यालयका चौबले ‘ कृषि प्राविधिकहरूको परामर्श बेगर  कृषकहरूले रासायनिक मलको प्रयोग गर्दा माटोमा नकारात्मक असर परेको छ। उनले खेतमा कृषि चुन तथा प्राङगारिक मल प्रयोगमा जोड दिए। 

प्राङ्गारिक मलको प्रमुख श्रोत गुइँठा बनाउन मै प्रयोग

उता जिल्लाका ८५ प्रतिशत कृषकले प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरको गुइँठा बनाउने गरेका छन्। ती गुइँठालाई यहाँका कृषकहरूले खाना पकाउने ऊर्जाको रुपमा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्त्व परिपूर्ति हुन नसकी भूमीको उर्वरा शक्ति क्षीण बनेको बताईएको छ। गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १६ तत्त्व नै रहने भए पनि गोबरको गुइँठा बनाइने तथा परम्परागत तरिकाबाट बनाइएका प्राङ्गारिक खेतमा हालिनाले समेत माटो स्तरमा खासै सुधार आउन सकेको छैन। 

यहाँ वस्तुको मल मूत्र बनाइने मललाई घाम र पानीबाट नबचाई खुला ठाँउमा राख्ने चलन छ। जस्ले गर्दा सो मलमूत्रमा रहेका तत्त्वहरू उडेर,चुहिएर तथा बगेर खेर जाने गरेका छन्। त्यो मल माटोमा हालिदा खासै उपलब्धि नहुने कृषि प्राविधिकहरूले बताए। त्यस्तै खेतबारीमा रहेको झारपात र ठुटालाई आगो लगाई हटाउने चलनले समेत माटोको उर्वराशक्ति घट्दै गएको छ। १ वर्षमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाइट्रोजन उत्पादन गर्न सकिने प्राविधिकहरू बताउँछन्। तर सो मलमूत्रको खाल्टो बनाएर उचित व्यवस्थापन नगरिँदा त्यस्मा रहेका ९० प्रतिशत तत्त्वहरू चुहावट भई खेर जाने गरेको उनीहरु बताउँछन् शिक्षा र जनचेतना अभावका कारण कृषकहरूले गाईबस्तुको मलमूत्रबाट लाभ लिन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबले बताए। ‘

 प्राङगारिक मल बनाउन कृषकहरूले रुची देखाउदैनन, उनीहरु बजारमा पाइने रासायनिक मलमा पूर्ण आश्रित बनेका छन्  ’ उनले भने ‘ त्यसैले यहाँको माटोको स्थितिमा सुधार आएको छैन्। ’ उनका अनुसार माटोको स्थिति सुधारका लागि अहिले देखि नै ध्यान नदिए आगामी १० वर्ष भित्र कृषि उपजको उत्पादनमा ५० प्रतिशत भन्दा बढी कमी आउने छ। 

 

प्रकाशित: १७ वैशाख २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App