६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दा फैसला अनिश्चित

चितवन- मौखिक र लिखित बहस सकिएको लामो समय हुँदा पनि चितवन जिल्ला अदालतमा दर्ता भएको चर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दाको फैसला मिति अनिश्चित भएको छ। सो मुद्दाको फैसलाका लागि चार-चार पटक तोकिएका पेशी सरेको सर्‍यौ भएका छन्। बहस हुँदाका न्यायाधीश सुरुवा भएका कारण नयाँ पाँचौ पेशी तोकिए पनि फैसला आउने निश्चित छैन।

सो मुद्दामा बुधबार पेशी तोकिएको थियो। तर यसअघि नै मुद्दा हेर्दै आएका जिल्ला न्यायाधीश टेकनारायण कुँवर बढुवा भएर उच्च अदालतको न्यायाधीश भए। कुँवरको ठाउँमा चितवन जिल्ला अदालतमा नयाँ न्यायाधीश आइसकेका छैनन्। त्यसैले बुधबारको पेशी सरेर फागुन २३ गतेका लागि नयाँ पेशी तोकिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताए।

'नयाँ न्यायाधीश आएपछि फेरि बहस हुन सक्छ। अबको पेशीमा फैसला नै हुने नहुने केही निश्चित छैन,' चितवन जिल्ला अदालतका सूचना अधिकारी बारालले भने। सो मुद्दामा पक्ष विपक्षका कानुन व्यवसायीहरुले गरेको मौखिक बहस असोज ११ गते नै सकिएको थियो। मौखिक बहस सकिएलगत्तै तत्कालीन न्यायाधीश टेकनारायणग कुँवरले लिखित बहस नोट पेश गर्न आदेश गरेका थिए।

बहस नोट पेश भएपछि कात्तिक २३ लाई पेशी तय भएको थियो। तर सो दिन अदालतमा न्यायाधीश उपश्थित नभएपछि मंसिर १२ गतेलाई अर्को पेशी तोकियो। पेशीको दिनभन्दा अघि नै न्यायाधीस कुँवर बेलायत भ्रमणमा गएपछि फेरि पुस २५ गतेलाई नयाँ पेशी तय भयो। सो दिन पनि पेशी सारेर माघ १९ लाई तोकिएको थियो।

गोरखा फुजेलका कृष्ण अधिकारीको माओवादी सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा हत्या भएको थियो। सो सम्बन्धमा चितवन जिल्ला अदालतमा लगभग तीन वर्षअघि मुद्दा दायर भएको हो। सो मुद्दामा चितवन जिल्ला अदालतमा असोज ९, १० र ११ गते पक्ष विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

बहस सकिए पनि अदालतले अन्तिम फैसला नसुनाएर कानुन व्यवसायीहरुलाई लिखित बहस नोट पेश गर्न आदेश दिएको थियो। असोज ११ मा भएको सो आदेशअनुसार कात्तिक पाँच गते पक्ष विपक्षका कानुन व्यवसायीले अदालतमा लिखित बहस नोट पेश गरेका थिए। मौखिक बहसपछि नै फैसला आउने परिपाटी भए पनि 'विशेष मुद्दा' भएको भन्दै लिखित बहस माग भएको थियो।

अधिकारीको विस २०६१ सालको जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो। मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

लामो समयसम्म कारबाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। उनीहरु अनशनसमा बसेका लामो समयपछि प्रहरीले विस २०७० साल साउनबाट सो उजुरीबारे अनुशन्धान सुरु गरेको थियो। उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुशन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि उजुरीविरुद्ध अनुशन्धान पूरा भइ विस २०७० सालको चैत मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदातलमा सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए। सबैलाई जन्म कैद माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले सो समयमा समातिएका दुई जनालाई धरौटीमा छाडेको थियो।

अदालतबाट आएको सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तहरु पनि फरक-फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए। बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए। सो मुद्दामा एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन्। उनी भने अदालतमा अझसम्म उपस्थित भएका छैनन्।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमासमेत निवेदन पुगेपछि एकजना अभियुक्त छबिलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो। तर उनी पक्राउ भने परेका छैनन्। अनशनकै क्रममा कृष्णप्रसादका बुबा नन्दप्रसादको ज्यानै गएको छ। उनको हालसम्म दाहसंस्कार पनि भएको छैन।

प्रकाशित: २० माघ २०७३ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App