‘पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए...।’ सुदूरपश्चिमको अछाममा नाचिने पुतला नाचमा गाइने गीतको सुरुको अंश हो यो। चैत अन्तिम सातादेखि वैशाख पहिलो साताभित्र शुद्ध मानिने ७ दिनसम्म अछाममा परम्परागत भेषमा स्थानीय महिलाले समूहमा गीत गाएर पुतला नाच्छन्। वसन्त ऋतुमा नाचिने यो नाच यस क्षेत्रको मौलिक परम्परा र संस्कृति हो। रामारोशन गाउँपालिकाका–५ का वडासदस्य दलबहादुर रोकाया कुनै बेला अछामी राजाकी पुतली नाम गरेकी छोरीको तराईमा बिहे भएको र उनको सर्पले टोकेर मृत्यु भएको सम्झनामा यो नाच सुरु भएको किंवदन्ती रहेको बताउँछन्।
बेहुलीको पुतला बनाएर चामलको डालोमाथि राखेर यो नाच सुरु गरिने प्रचलन रहेको बताउँछिन् रामारोशन गाउँपालिका पर्यटन बोर्डकी सदस्य गंगादेवी साउद। उनका अनुसार नाच विसर्जन हुनुभन्दा एक दिनअघि बेहुलाको समेत प्रतिमा बनाएर बिहे गरिने चलन छ। त्यस दिन बेहुलीलाई डोलामा र बेहुलालाई काँधमा बोक्ने प्रचलन छ। बिहान र बेलुका हुने यो नाच अन्तिम दिन भने दिउँसो मात्र नाचिन्छ। फरिया, रातो चौबन्दीमा सजिएका महिला सेतो पटुकाको फेरो हातमा समाएर खुला चउरमा गोलाकार भएर यो नाच नाच्छन्।
महिलाले मात्र नाच्ने पुतला नाच उत्सवमा हरेक उमेरका मानिसको सहभागिता रहने गरेको छ। फरिया, रातो चौबन्दीमा सजिएका महिला सेतो पटुकाको फेरो हातमा समाएर खुला चउरमा गोलाकार भएर यो नाच नाच्छन्।
गोलाकारका आधा महिलाले एक भाकामा गीत गाउँछन्, बाँकी आधाले त्यसको प्रत्युत्तरमा गीत गाउँछन्। गीतमा विभिन्न देवीदेवताको नाम लिइन्छ। विशेषगरी कालिका, पार्वती र स्थानीय देवीदेवताको नाम पुकारेर गीत गाउने गरिएको साउद बताउँछिन्। अन्तिम दिन बेहुलीको उक्त पुतलालाई नजिकै रहेको पवित्र पानीको मुहानमा लगेर विर्सजन गरिन्छ।
महिलाले मात्र नाच्ने यो नाच उत्सवमा हरेक उमेरका मानिसको सहभागिता रहने गरेको छ। चैत, वैशाखको सुख्खा मौसममा यो नाचले स्थानीयमा नयाँ जोश र उमंग थप्ने रामारोशन–५ का वडाध्यक्ष केशरबहादुर शाह बताउँछन्। यो नाचले यो क्षेत्रमा ठुलो हर्षाेल्लास ल्याउने चर्चा गर्दै वडाध्यक्ष शाह भन्छन्, ‘नाचमा गाइने गीतमा सबैको शुभ होस् र हाँस्नेखेल्ने वातावरण बनोस् भन्ने कामना हुन्छ।’ शाहका अनुसार नाचको अन्तिम दिन अर्थात् पुतला सेलाउने दिन ‘आउँदो वर्ष चाँडै आया, हाम्री खेल्ने पुतली ओ रनै पुतए’ भन्दै गीत गाइन्छ। यसै गीतका साथ पुतला विसर्जन गरी नाचको बिट मारिन्छ।
सुदूर पश्चिमेली संस्कृतिका जानकार तथा डेउडा संस्कृतिविज्ञ नन्दकृष्ण जोशी यो नाच सुदूरपश्चिममका विभिन्न जिल्लााम आ–आफ्नै तरिकाले नाचिने बताउँछन्। डोटी, बझाङ र बैतडीको पूर्वी भेक, बाजुरा, जुम्ला, कालिकोट र हुम्लामा समेत यो नाच प्रस्तुत गरिन्छ। चैत २०–२२ देखि सुरु भएर वैशाख संक्रान्ति अर्थात् विसु पर्वमा यो नाच धुमधामका साथ विसर्जन हुने जोशी बताउँछन्। जोशीका अनुसार यो पुतला नृत्य उत्सवमा पुरुषले शिवजीको प्रतीकका रूपमा लौरोलाई सिँगारपटार गरी दही र चामलले पूजा गर्छन्, जसलाई वीरे लौरो भनिन्छ। अन्तिम दिन बेहुलीको पुतला विर्सजन गरे पनि त्यो लौरोलाई घरमै ल्याएर राखिन्छ। यसलाई कृषि प्रयोजनमा प्रयोग गरिन्छ। जोशीका अनुसार रन–पुतलालाई विशेषगरी बिहे नभएका महिलाले पूजा गर्ने चलन छ। पुतला सेलाउने दिन महिलाको मात्र सहभागिता रहने र पुरुष उपस्थित नहुने जोशी बताउँछन्।
कैलाश पर्वत जाने रुटमा पर्ने सुदूरपश्चिम क्षेत्रको संस्कृतिमा शिवजी र पार्वतीको विशेष स्थान रहेको चर्चा गर्दै जोशी पुतला नाच यसैसँग जोडिएको तर्क गर्छन्। भौगोलिक विकटता भए पनि सुदूरपश्चिम संस्कृतिका हिसाबले निकै धनी मानिन्छ। डेउडा, ठाडी भाका, हुड्केली, छलिया, भुवा, गौरा, पुतला, विसुलगायत मौलिक नाच, गीत र पर्व यो क्षेत्रका खास पहिचान हुन्।
प्रकाशित: १३ वैशाख २०८० ०१:०४ बुधबार