२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तटबन्ध मर्मत नहुँदा राप्ती किनारका गाउँमा बाढीको त्रास

राप्तीको बाढीले गत वर्ष भत्काएको राप्ती सोनारी ७ मा रहेको तटबन्ध। तस्बिर: नागरिक

बाँके, राप्ती सोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा पनि अझै मर्मत गरिएको छैन। स्थानीय बासिन्दाका अनुसार राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धलाई गतवर्ष असोजमा आएको बाढीले भत्काएर क्षति पुर्‍याएको थियो।

नरैनापुर–६ का स्थानीय रामचन्द्र यादवले तटबन्ध भत्किएको लामो समय बितिसक्दा पनि अहिलेसम्म मर्मत नगरिएको दुखेसो पोखे। ‘यो तटबन्ध भत्किएको एक वर्ष हुन लगिसक्यो, तर अहिलेसम्म सरकारले ध्यान दिएको छैन, यस क्षेत्रका बासिन्दालाई भोट बैंक मात्र बुझ्ने नेता छन्, बर्खाको मौसम आउन दुई महिना मात्र बाँकी तर यसमा कुनैपनि राजनीतिक दलका नेताले तटबन्धका लागि पहल गरेको मैले सुनेको छैन,’ उनले भने।

बाँके, राप्ती सोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा पनि अझै मर्मत गरिएको छैन। स्थानीय बासिन्दाका अनुसार राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धलाई गतवर्ष असोजमा आएको बाढीले भत्काएर क्षति पुर्‍याएको थियो।

बर्खाअगाडि तटबन्ध मर्मत कार्य नभएमा राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ का करिब १० हजार स्थानीयको ज्यान जोखिममा रहेको र हजारौं बिघा खेतीयोग्य जमिन नष्ट हुने यादवले सुनाए। निर्वाचित भएर गएका सांसदले चुनावमा तटबन्ध मर्मत गरिदिने आश्वासन जनतालाई दिए पनि अहिले चटक्कै बिर्सेको उनको गुनासो छ।

राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारू भत्केको तत्काल तटबन्ध मर्मत नगर्ने हो भने आउँदो बर्खामा ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताउँछन्। उनका अनुसार राप्ती सोनारी–७ मा मात्रै करिब ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ।

‘तटबन्ध भत्केपछि पार्टीका नेता, सांसद र जनताको तटन्ध कार्यालयका कर्मचारी आएर निरीक्षण गर्नुभयो, तत्काल मर्मत गर्ने भनेर वडा कार्यालयलाई बोरा र जाली ल्याउन लगाउनुभयो, त्यतिबेला प्राविधिकले पानीको बहाव धेरै छ भनेपछि काम रोकियो,’ उनले भने, ‘त्यसपछि पनि हामीले जनताको तटबन्ध कार्यालयमा धेरै पटक धायौं, तर बजेट छैन भनेर फर्काउनुभयो।’

राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारू भत्केको तत्काल तटबन्ध मर्मत नगर्ने हो भने आउँदो बर्खामा ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताउँछन्।

तटबन्धका लागि वडा कार्यालय र राप्ती सोनारी गाउँपालिका कार्यालयले गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेको वडाअध्यक्ष थारू बताउँछन्। ‘यो काम सिँचाई मन्त्रालयमार्फत जनताको तटबन्ध कार्यालयले गर्ने हो, दाङको लमहीमा यसको कार्यालय छ, कार्यालयका हाकिमले कुरा बढी गर्ने, काम नगर्ने समस्याले गर्दा पनि यो अवस्था आएको हो,’ उनले थपे।

बर्खा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै नेपाल सरकारले लगानी गरेको अर्बौंको लगानी पनि डुब्ने वडाध्यक्ष थारूको चिन्ता छ।

नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्य बर्खायाम आउँनै लाग्दा स्थानीय बासिन्दामा त्रास सिर्जना भइरहेको बताउँछन्। ‘हाम्रो वडाको सोनवर्षा गाउँमा डुब्ने डर छ, कुनबेला बाढी आउने हो भनेर जनता त्रसित छन्,’ उनले भने।

तटबन्ध मर्मत गर्नका लागि प्रदेश र संघीय सांसदले निरीक्षण गरेर गए पनि अहिलेसम्म मर्मतको काम सुरु नभएको वडाध्यक्ष मौर्यले सुनाए। उनका अनुसार नरैनापुर ६ मा करिब डेढ सय मिटर क्षेत्र मात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ।

बाढी प्रभावित क्षेत्रका स्थानीयले बर्खाअगाडि तटबन्ध मर्मत गरिदिन आग्रह गरेका छन्। ‘बर्खा आउन अब दुई महिना मात्र बाँकी छ, अहिलेसम्म कुनै पनि तहको सरकारको ध्यान छैन, जब गाउँमा बाढी पसेर बिचल्ली बनाउँछ, त्यसपछि उनीहरूको ध्यान जाने होला नि,’ राप्ती सोनारी–७ का स्थानीय दुर्गाप्रसाद पाण्डेले भने।

तटबन्ध मर्मत गर्नका लागि प्रदेश र संघीय सांसदले निरीक्षण गरेर गए पनि अहिलेसम्म मर्मतको काम सुरु नभएको वडाध्यक्ष मौर्यले सुनाए।

तत्काल तटबन्ध मर्मतको काम सुरु नभए आन्दोलन गर्न बाध्य हुने स्थानीयको चेतावनी छ। ‘जनताको ज्यान नै नरहे पार्टीका नेता र राजनीतिक पार्टी हुनुको केही अर्थ छैन, त्यसकारण पार्टीभन्दा माथि उठेर सबैले पहल गर्न मेरो अनुरोध छ,’ अर्का स्थानीयले भने।

राप्ती सोनारी र नरैनापुरमा राप्ती नदीको बाढीले पुर्‍याएको क्षतिलाई नजिकबाट हेरेकी लुम्बिनी प्रदेशकी निर्वतमान मन्त्री एवं सांसद कृष्णा केसी बर्खाअगावै भत्केको तटबन्ध मर्मत गराउन दौडधुप गरिरहेकी छन्। तटबन्ध मर्मतको काम अगाडिीबढाउन उनले संघीय सरकारका विभिन्न मन्त्रालयमा पुगेर बजेट मागेकी हुन्।

राप्ती सोनारी र नरैनापुरमा राप्ती नदीको बाढीले पुर्‍याएको क्षतिलाई नजिकबाट हेरेकी लुम्बिनी प्रदेशकी निर्वतमान मन्त्री एवं सांसद कृष्णा केसी बर्खाअगावै भत्केको तटबन्ध मर्मत गराउन दौडधुप गरिरहेकी छन्।

हालै प्रधानमन्त्री पुष्पकमल दाहालसहित जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र गृह मन्त्रालयका मन्त्री एवं सचिवलाई भेटेर आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेको सांसद केसीले बताइन्। ‘राप्तीले क्षति गरेको ९ स्थानको तटबन्धमा तत्काल मर्मत गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘अति जोखिमपूर्ण ठाउँमा तटबन्ध मर्मतका लागि सम्माननीय प्रधानमन्त्री ज्यु लगायत मन्त्री र सचिवसँग भेटघाट गरेर बजेट माग्ने काम गरेको छु, मलाई विश्वास छ, अबको दुई महिनाभित्रमा भत्केको तटबन्ध मर्मत हुन्छ।’

प्रकाशित: १२ वैशाख २०८० ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App