२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल ४५औं भ्रष्टाचारी मुलुक

काठमाडौं- विश्वका भ्रष्टाचार गर्ने मुलुकको सूचीमा नेपाल दक्षिण एसियामा तेस्रो र विश्वमा ४५ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले बुधबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल विश्वको १३१ औं नम्बरमा रहेको छ।

विभिन्न संस्थाले सार्वजनिक क्षेत्रमा मापन गरेको भ्रष्टाचार  अवधारणाबारे १७६ देशमा सर्वेक्षण गरी टिआईले प्रतिवेदन सार्वजनिक गरेको हो। नेपालले सय अंकमा २९ अंक प्राप्त गरेको छ, जुन अंक गत वर्षभन्दा २ बढी हो।

विश्वका ६ संस्थाले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थमा पदको दुरुपयोग, राजनीतिक भ्रष्टाचार, सार्वजनिक पद दुरुपयोगमा कारबाही, व्यापार–व्यवसाय, आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, आयातनिर्यातमा भ्रष्टाचारको अवस्था, न्याय प्राप्तिका लागि घूसलगायतका विषयलाई आधार मानेर सर्वेक्षण गरेका थिए। सर्वेक्षणमा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भिडिइएमले भाग लिएका थिए।

गत वर्ष १६८ देशमा गरिएको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल १३० औं स्थानमा थियो। विगत पाँच वर्ष अवधिमा नेपालमा भ्रष्टाचारमा खासै कमी आएको छैन। नेपाल सन् २०१२ मा २७ अंक प्राप्त गरी भ्रष्टाचार गर्ने मुलुकमा १३९ औं स्थानमा थियो। पाँच वर्षको अवधिमा ८ स्थान मात्र तल झरेको छ।

टिआई प्रतिवेदनअनुसार भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रूपमा रहेको छ।

सूचकांक सार्वजनिक गर्दै टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचारबारे अवधारणामा सामान्य सुधार आएको देखिए पनि नेपालमा कम भएको भन्न नमिल्ने बताए।

उनले भने, 'हाम्रो देशमा विधि पुर्‍याएर भ्रष्टाचार हुने गरेको छ। स्थिर सरकार नहुँदा पनि यो अवस्था आएको हो।' राजनीतिक पार्टीहरू पारदर्शी नहुनु र सुशासन अभावले पनि भ्रष्टाचार बढेको उनले बताए। उनले भने, 'भ्रष्टाचारीहरू खरायो गतिमा दौडिरहेका छन्। भ्रष्टाचार हेर्ने हामी कछुवा गतिमा छौं।'

दक्षिण एसियामा सदाचारी भुटान

दक्षिण एसियामा भ्रष्टाचार गर्नेमा अफगानिस्तान पहिलो नम्बरमा दछ। दोस्रोमा बंगलादेश र तेस्रोमा नेपाल छन्।

भुटान दक्षिण एसियामै सदाचारी देश ठहरिएको छ। भुटान ६५ अंक प्राप्त गरी २७ औं स्थानमा, भारत ४० अंकसहित ७९ औं स्थानमा, मालदिप्स र श्रीलंका ३६ अंकसहित ९५ औं स्थानमा, पाकिस्तान ३२ अंक ११६ औं स्थानमा, नेपाल २९ अंकसहित १३१ औं स्थानमा, बंगलादेश २६ अंकसहित १४५ औं स्थानमा र अफगानिस्तान १५ अंक प्राप्त गरी १६९ औं स्थानमा परेका छन्। छिमेकी मुलुक चीन ४० अंकसहित ७९ औं स्थानमा छ।

सदाचारी डेनमार्क र न्युजिल्यान्ड

विश्वमा डेनमार्क र न्युजिल्यान्ड भ्रष्टाचार नगर्ने सदाचारी मुलुक ठहरिएका छन्। दुवै देश एक सय पूर्णांकमा ९० अंक प्राप्त गरी पहिलो नम्बरमा परेका हुन्। दोस्रोमा फिनल्यान्ड र तेस्रोमा स्विडेन छन्।

सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको छ। सोमालियाले १० अंक प्राप्त गरेको छ। बढी भ्रष्टाचार हुने दोस्रो देशमा दक्षिण सुडान र तेस्रोमा उत्तर कोरिया रहेका छन्।

प्रकाशित: १३ माघ २०७३ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App