काठमाडौं- न्याय नपाए, अदालत जानू, न्यायाधीशले न्याय दिलाउँछन्– कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ। कतिपयले त न्यायाधीशलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्।
यो कथा तिनै न्यायमूर्तिको हो जो आफैं अन्यायको जाँतोमा पिँधिइरहेका छन्। एक होइन, दुई होइन, तीन होइन, ३२ वर्षदेखि।
अझ आश्चर्य त सधैं अरूलाई न्याय दिने यी न्यायाधीशमाथि अन्याय गर्ने कुनै व्यक्ति होइन, स्वयं राज्य हो।
उनी अर्थात् न्यायपरिषद्मा कार्यरत न्यायाधीश प्रकाशकुमार काफ्ले। ३२ वर्षअघि न्यायाधीश नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन्। उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्त हुँदासमेत आफू नपरेपछि भने उनी न्याय माग्न अदालत आएका छन्। उनले आफूलाई अन्याय भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ।
'न्यायाधीश भई काम गरेको ३२ वर्ष पुगेछ,' सर्वोच्चमा बिहीबार भेटिएका उनले भने, 'कहिले समावेशी भएन, कहिले अर्को नियुक्तिमा हेरौँला भनी मलाई सिफारिसमै अटाइएन तर यसपटक पनि नभएपछि न्याय माग्न सर्वोच्च आएको हुँ।'
आफूले न्याय पाउनेमा उनी ढुक्क पनि छन्। भने, 'अदालतले न्याय दिँदैन भनी म न्यायाधीश कसरी अविश्वास गरूँ?'
काफ्ले जिल्ला न्यायाधीशहरुको सूचीमा पहिलो नम्बरमा थिए। तर परिषद्ले कानुन, न्याय समूह, जिल्ला न्यायाधीश, पूर्व अतिरिक्त न्यायाधीश र कानुन व्यवसायी गरी ८० जनालाई नियुक्त गर्दा उनी त्यसमा परेनन्।
काफ्लेलाई न्यायनिरुपण गर्ने जिम्मेवारी सुम्पँदै स्थायी जिल्ला न्यायाधीश बनाउने सर्वोच्च अदालतमा प्रधानन्यायाधीश थिए– विश्वनाथ उपाध्याय। उपाध्यायको गत वर्ष निधन भइसकेको छ। काफ्ले अहिले पनि सोही पदमै कार्यरत छन्।
२०३९ चैत २७ गते न्यायसेवा प्रवेश गरेका उनी २०४८ मंसिर २३ गते स्थायी जिल्ला न्यायाधीश भएका थिए। ०४१ सालमा अस्थायी न्यायाधीश भएका उनी तत्कालीन समयमा उत्कृष्ट कार्यसम्पादन गर्दै सात वर्षपछि स्थायी भएका थिए।
यस अवधिमा काफ्लेले १६ भन्दा धेरै जिल्ला अदालतमा न्यायसम्पादन गरिसकेका छन्। हुम्ला, जुम्लादेखि तराई, हिमाल र पहाडका विभिन्न जिल्लामा उनी परिषदले दिएको नियुक्ति मानेर न्यायसम्पादन गर्न पुगे। यस अवधिमा कयौंपटक पुनरावेदन अदालतका न्यायाधीश नियुक्ति भयो। कुनै पनि नियुक्तिमा उनलाई समेटिएन। सधैँ योग्यताको कदर हुने भन्दै जवाफ दिइयो तर त्यसको पालना हुने कुनै काम भएन। प्रत्येक पटक नियुक्तिमा आफू नअटेपछि उनलाई मनमा 'यस्तो किन?' भन्ने प्रश्न यसअघि नउठेको भने होइन। त्यो मनमै रह्यो। यसपटक सहनै नसकेर न्याय माग्न सर्वोच्च आएको उनी बताउँछन्।
नेपालको संविधानको धारा १४० मा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता शीर्षकमा 'प्रधानन्यायाधीशले न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति गर्नेछ' भनिएको छ। उपधारा (३) मा 'उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको नियुक्ति गर्दा उपधारा (२) बमोजिम योग्यता पुगेका व्यक्तिहरूमध्येबाट जिल्ला न्यायाधीशको हकमा निजले वार्षिक रूपमा फैसला गरेको मुद्दाको अनुपात र माथिल्लो अदालतमा अन्तिम निर्णय हुँदा मुद्दा सदर, बदर वा उल्टी भएकोे मूल्यांकनको आधारमा गरिने' भनिएको छ।
यी कानुनी आधारमा आफूले गरेका फैसला वार्षिक रुपमा मूल्यांकन गर्दा सन्तोषजनक नै रहेको उनले रिटमा दाबी गरेका छन्।
'न्यायसम्पादनको ३२ वर्षको यो अवधिमा मैले कुनै गलत काम गरेको आरोपमा सजाय पाएको छैन,' काफ्लेले भने, 'मैले छिनेको मुद्दाका आधारमा कुनै उजुरी परेको र त्यसको अनुसन्धान भई स्पष्टीकरण पनि सोधिएको छैन।'
आफू चाकरीप्रथाको विरोधी भएकैले अहिलेसम्म बढुवा नपाएको उनको आँकलन छ। 'म कुनै न्यायाधीश, परिषद् सदस्य वा प्रधानन्यायाधीशको घरमा पुगिनँ, त्यसैले अटाइनँ होला भन्ने भित्री आत्मामा लागेको छ,' काफ्लेले खिन्न हुँदै सुनाए, 'म सोझो समानुपातिकमा अटाउन कसैको आफ्नो मान्छेमा परिनँ कि?'
न्यायाधीश पहिलो प्राथमिकता हेरेर साथ नियुक्त हुँदै आएको र यो नेपालको मात्र नभई विश्वका धेरै देशमा वरिष्ठ न्यायाधीशलाई मर्का नपर्ने गरी नियुक्ति दिने अभ्यास रहेको उनको निवेदनमा उल्लेख छ।
अन्तरिम अस्वीकार
यसरी ३२ वर्षसम्म एउटै पदमा रहेकाले अन्याय भएको दाबी गर्दै काफ्लेले दर्ता गराएको निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश भने जारी नहुने निर्णय सुनाएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विपक्षीसँग जबाफ माग्ने र छलफलमा बोलाउने आदेश भने जारी गरेको छ। काफ्ले नपर्नुको कारणसहित १५ दिनभित्र अदालतमा जबाफ दिन सबै विपक्षीलाई सर्वोच्चले आदेश गरेको छ। निवेदनमा प्रधानन्यायाधीश सुशीला कार्की, न्यायपरिषद्, कानुनमन्त्री अजयशंकर नायक, पूर्व न्यायपरिषद् सदस्य वैद्यनाथ उपाध्याय , परिषद्का सदस्यहरु रामप्रसाद सिटौला र पदम वैदिकलाई विपक्षी बनाइएको छ।
प्रकाशित: ७ माघ २०७३ ०३:२६ शुक्रबार