२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट हेटौंडामा दुई घाइते

फाइल तस्बिर

हेटौंडामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार बिहान बाख्रा चराउन गएका हेटौंडा–१५ रातोमाटे सयफुटका दुईजनालाई बाघले आक्रमण गरी घाइते बनाएको हो।

चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही स्थानका ६५ वर्षीयका कृष्णबहादुर थिङ घाइते भएका हुन्। घलानको दाहिने कुम, ढाडको बायाँ पट्टी र छातिमा बाघले टोकेको छ। यस्तै बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ। घाइते दुवैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए।  

घरबाट करिव २०० मिटर पर जंगलमा बाख्रा चराउन गएका उनीहरुलाई बाघले आक्रमण गरेको हो। घाइतेमध्ये घलानको अवस्था मध्यम र थिङ गम्भीर रहेको गौतमले बताए। ‘बाख्रा चराउन घरबाट अलि पर गएकाहरुलाई बाघले आक्रमण गरेको पाइएको छ। बाघ जंगलतर्फै भागेको भन्ने जानकारी छ’, प्रहरी प्रमुख गौतमले भने, ‘यस विषयमा हामीले वन कार्यालयलाई पनि जानकारी गराएका छौं। त्यसक्षेत्रमा सर्वसासधारणलाई सतर्क रहन भनेका छौं।’ 

मकवानपुरमा यसअघि पनि करिब दुई महिना अघि बाघले बाख्रा र गाईको बाच्छा खाएको थियो। मकवानपुरमै केही समय अघि जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। पछिल्लो समय मकवानपुरमा जंगली जनावरको आक्रमण बढ्दो क्रममा रहेको छ।

प्रकाशित: ६ वैशाख २०८० १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App