२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो मेची राजमार्गको भित्रको संरचना

चौथो पटक सम्मको म्यादमा पनि मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलवारबाट फुङलिङ नगरपालिकाकाले आफैं भत्काउन थालेको छ। 

नगरपालिकाले अन्तिम पटकका लागि भन्दै गत चैत २६ गते सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका संरचना आफैं हटाउन स्थानीयलाई अवधि दिएको थियो।

नगरपालिकाले दिएको त्यो अवधि बैशाख २ गते सकिएपछि नगरपालिकाले उक्त क्षेत्रका संरचना धमाधम भत्काउन थालेको छ। नगरप्रमुख अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा र नगरपालिकाले सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका संरचना हटाउन थालिएको बताए। नगरपालिकाका २ वटा डोजरले संरचना भत्काउन थालिएको हो।

पुस २४ गतेबाट पटक–पटक सडक सीमा क्षेत्र भित्रका संरचना आफैं हटाई सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको र अन्तिम पटकको मौकामा समेत नहटाईएका सडक सीमा क्षेत्र भित्रका संरचना स्काईभेटर प्रयोग गरी हटाउन थालिएको नगरप्रमुख मादेनले जानकारी दिए। यसअघि नगरपालिकाले सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रको नक्साङ्कन गरेको थियो। त्यसपछि धमाधम संरचना हटाउन थालिएको छ। सुरुमा अस्थायी संरचना र त्यसपछि पक्की सहितका सडक सीमा क्षेत्र भित्रका अन्य संरचना हटाइने नगरपालिकाको तयारी रहेको छ।

सडक डिभिजन कार्यालयले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनलाई पहिलो पटक गत २०७९ पुस २४ गते ३५ दिने सूचना जारी गर्दा दाँया–बाँया २१–२१ मिटर हुनेगरी उल्लेख गरिएको थियो। तर नगरपालिकाले अहिलेका लागि सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रलाई सडक सीमा तोकेको छ। सडक डिभिजनले सडक क्षेत्राधिकारभित्रको संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहकोसमेत सहयोग मागेको थियो। सडक डिभिजनले मागेको सहयोगअनुसार फुङलिङ नगरपालिकाले पहिलो पटकको म्याद सकिएपछि गत फागुन १४ गते दोस्रो पटक सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो।

त्यसपछि गएको चैत १ गते तेस्रो पटक सात दिने म्याद दिएर संरचनाहरु हटाउनलाई सूचना जारी गरेको नगरपालिकाले अन्तिम पटकभन्दै गत चैत २६ गते पुनः सात दिने सूचना प्रकाशित गरेको थियो। तोकिएको समयभित्र संरचना आफैं हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने सूचना समेत गराएको नगरपालिका अन्तिम पटकको म्याद सिद्धिएपछि भने ‘एक्सनमा’उत्रिएको छ।  

प्रकाशित: ५ वैशाख २०८० ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App