८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सकियो विस्का जात्राभित्रको ठूलो जात्रा द्यो स्वगं वियगू जात्रा

भक्तपुरको विस्का जात्रा भनेपछि जिव्रो छेड्ने जात्रा, ५५ हात लामो लिंगो उठाएको र ढालेको अथवा भैरबनाथको रथ तानेको भनेर धेरैले बुझ्छन्। तर भक्तपुरमा विस्का जात्रामा यी जात्रामा भन्दा वढी मानिसको सहभागिता र भक्तपुरभरि छरिएर दिनभर हुने जात्रा पनि छ, जसलाई द्यो स्वगं वियगू जात्रा-देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ। यही जात्रा सोमबार दिनभर भक्तपुर नगरभरि सम्भ र भव्य रुपमा सम्पन्न भएको छ।

यो जात्रा प्रत्येक वर्ष वैशाख ४ गते मनाइन्छ। आठ रात नौ दिन लामो विस्का जात्राको यो नै सवैभन्दा ठूलो जात्रा हो। किनकि यसमा अरु जात्रामा भन्दा सहभागी संख्या बढी हुने, एउटै टोलमा मात्रै सिमित नरही नगरभरि हुने र एकछिन मात्रै नभई विहानदेखि रातिसम्म हुने गर्दछ।

जात्राको क्रममा हाकुपटासी (स्थानीय परम्परागत कालो फरिया) मा सजिएका महिलाको लामो लस्कर लागेको हुन्छ। बीचबीचमा परम्परागत पोशाकमै खर्पन बोकेर लाइनमै रहेका युवाहरु हुन्छन्। नगरभरिका सडकका पेटीभरि विहानदेखि बेलुकीसम्म सबैतिर जात्रा हेर्न बसेका जात्रालुको भीड लागेको हुन्छ।

जात्राका क्रममा हजारौं महिला लस्करै परम्परागत हाकुपटासीमा हिड्छन्। उनीहरू प्रत्येकको हातमा देवतालाई चढाउन केही न केही खाद्य सामग्री बोकेका हुन्छन्। देवतास्थल पुगेपछि आफूले बोकेको खाद्यसामग्री उनीहरू चढाउँंछन्। यस क्रममा उनीहरूले नेवारी भोजका एक–एक वटा परिकार चढाए। रक्सी, अण्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीमध्ये कुनै एक खाद्यसामग्री उनीहरूले चढाउने परम्परा छ। यद्यपी समयअनुसार अहिले बिस्कुट, चोकोफन चढाउनेको संख्या पनि उत्तिकै भेटिए।

जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवतालाई सगुन चढाइन्छ। नगरका विभिन्न स्थानमा रहका अष्टमातृकाका आठसहित भैरव, गणेश लगायतका ३३ स्थानका देवतालाई सगुन चढाइने परम्परा छ।

सगुन यात्रा सूर्यमढीबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी पुगेको थियो। त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो। सूर्यमढी पुगेपछि जात्रा अन्त्य भई सबै जात्रालु आ– आफ्नो घर फकने चलन छ।

यसअघि सगुन चढाउने देवताहरूलाई देवघरबाट निकालेर नजिकैका चोक–चोकमा राखिएको हुन्छ। ३३ देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्केट जात्राको पहिलो दिन चैत २७ गते नै देवघरबाट निकाली रथमा राखिएको हुन्छ। जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइन्छ। यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता लगिन्छ।

संस्कृतिविद् जननीप्रसाद मुल घरपरिवारमा महिलाले खाना खुवाइदिने अर्थमा देवतालाई पनि महिलाले नै सगुन दिने चलन रहको बताउँंछन्। तथापि जात्रामा पुरुष पनि सहभागी हुन्छन्। उनीहरु बाजागाजा बजाउन, स्वयंसेवक हुन अनि पानी बोकेर खुवाउन व्यस्त रहेका हुन्छन्। सम्पूर्ण देवताको एकैदिन पूजा गर्ने यो जात्राको विशेष दिन हो। अरु बेला कुनै दिन ब्रह्मायणी त कुनै दिन अर्कै कुनै देवताको मात्रै पूजा हुने तर यो दिन सबै देवताको एकैदिनमा पूजा हुने भएकाले यसको छुट्टै महत्व रहेको छ।

प्रकाशित: ४ वैशाख २०८० १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App