ज्यान मार्ने उद्योगमा दोषी करार भई फरार सूचीमा रहेका सुनसरीका एक व्यक्ति हतियारसहित उदयपुरबाट पक्राउ परेका छन्।
जिल्ला अदालत काभ्रेपलान्चोकको पक्राउ पुर्जी अनुसार खोजी गर्दा सुनसरी बराहक्षेत्र नगपालिका ७ का ३० वर्षीय कुमार भन्ने जयकुमार राई पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनलाई उदयपुरको बेलका नगरपालिका ३ टप्पु क्षेत्रबाट शनिबार पक्राउ गरिएको हो। काभ्रेपलान्चोकको इलाका प्रहरी कार्यालय बनेपाबाट आएको सुराकी अनुसार टप्पुक्षेत्रमा लुकिछिपी बसेको भन्ने खबरको आधारमा बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
शनिबार मध्ये राति इप्रका रामपुरबाट खटेको प्रहरी निरीक्षक सुभाष खनाल नेतृत्वको टोलीले बिहान १ः३० बजेको समयमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन थापाले बताए। उनका अनुसार पक्राउ राईको साथबाट लोड गरिएको अवस्थाको १ थान भरुवा बन्दुक र ५ राउन्ड गोली लोड गरिएको म्यागेजिनसहितको अमेरिसकन सेमी अटोमेटिक सानो पेस्तोल पनि बरामद भएको छ।
ओछ्यानबाटै पक्राउ परेका राईलाई इप्रका रामपुरमा ल्याएर अनुसन्धान सुरु भएको छ। काभ्रे प्रहरीको खोजी सूचीमा रहेको तथा सुनसरीका स्थानीय भएका हुनाले उनको विषयमा अनुसन्धान यहीबाट गर्ने या सम्बन्धित जिल्ला पठाउने भन्ने विषयमा टुङ्गो लागि नसकेको प्रहरी भनाई छ।
प्रकाशित: ४ वैशाख २०८० १३:२० सोमबार