१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तुवाँलोले ढाक्यो पोखरा, घटायो ‘भिजिबिलिटी’

वायुप्रदुुषणले शनिबार दिउँसो धुम्मिएको पोखरा। तस्बिरः उमेश पुन/नागरिक

एकसाता भयो पोखराको मौसम सफा छैन। पोखराको मौसम शनिबार त झनै कमजोर थियो। बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस जस्तो भएको छ। सहर आसपासका डाँडा कतै देखिन्नन। बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी समेत घटेको छ।

तापक्रम बढेसँगै यहाँ तुवाँलोले ढाक्न थालेको थियो। केही दिन अघिसम्म पानी पर्दा चिसो महसुस गरेको पोखरामा वर्षा रोकिएपछि यहाँ तुवाँलोले ढाकेको हो। मौसमविद्ले अझै केही दिन पोखराको यो तुवाँलो हट्ने अवस्था नरहेको बताएका छन्। तत्काल कुनै मौसमी प्रणाली विकसित भईहाल्ने अवस्था नरहेकोले तुवाँलो हट्न समय लाग्ने उनीहरूको भनाई छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी नपरेकोले यो अवस्था आएको हो। ‘पानी परेन, हावा चलेन, त्यसले गर्दा पोखरा धुम्म परेको हो,’ अर्यालले भने, ‘तापक्रम पनि नजानिँदो खालको तातो छ। पोखरा यति बेला दिउँसोको समयमा हपक्क बनेको छ।’

राजधानी काठमाडौंको तुलनामा पोखरा गर्मी सहर भएपनि प्रदूषित भने होइन। तर, अहिले वायुमण्डलमा धुलोका कणहरू रहँदा पोखरा प्रदूषितजस्तो बनेको उनले बताए। चैत–वैशाख जंगलमा डढेलो लगाउने समय भएको र यो बेला धेरैतिर डढेलो लाग्दा पनि वायुमण्डल बढी प्रदूषित भएको हुनसक्ने उनले बताए।

उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवाँलो सहितको बादलले ढाकेको छ। यसले भिजिविलिटी पनि घटाएको छ। ‘लामो समय पानी नपर्दा यो अवस्था आएको हो, यो मौसम खुल्नका लागि कि त स्थानीय मौसमी प्रणाली सक्रिय हुनुपर्छ वा पश्चिमी वायु आउनुपर्छ,’ उनले भने, ‘पोखरामा तालतलैया भएकोले यहाँ स्थानीय वायुको प्रणाली पनि विकसित हुने गर्छ। तर, अहिले त्यो पनि सम्भावना देखिएको छैन।’

वायुमण्डल चल्न नसक्दा अहिले मौसममा समस्या थपिएको उनले बताए। प्रदूषण बढ्नासाथ वायुको गुणस्तरमा कटौती आउने उनले बताए। यो खालको वायुमण्डलले नागरिकको स्वास्थ्यमा समस्या हुने उनले बताए।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पनि देशव्यापी रुपमा डढेलो लाग्दा मौसममा समस्या परेको बताउँछन्। ‘देशव्यापी समस्या हो। पानी पर्ने र हावा चल्ने हो भने यो तुवाँलो हट्ने थियो। तर, तुवाँलो हट्ने खालको मौसमी प्रणाली नै विकसित भएको छैन,’ पानी परेपछि मात्र यो तुवाँलो हट्ने हो। तर, शुक्रबारको तुलनामा शनिबार झनै बिग्रेको छ।’

उनका अनुसार सुख्खा मौसम हुनु, पानी नपर्नु, देशव्यापी रुपमा डढेलो लाग्नु जस्ता कारणले पनि वायुप्रदुुषण बढाउँछ। ‘अहिले नै ठुलौ मौसमी प्रणाली विकसित हुने सम्भावना देखिन्न। २–४ दिन अझै मौसममा सुधार हुने सम्भावना छैन,’ लामिछानेले भने, ‘मौसम क्लियर हुन समय लाग्ने देखिएको छ।’

प्रकाशित: २ वैशाख २०८० ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App