१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ वर्षमा प्रकृतिको शुभकामना

सलहेस र मालीनीकाे प्रेम बाेल्ने फूल ‘सुनाखरी’

फूलवारीमा फक्रीएको सुनाखरी। मन्दिरमा पूजा गर्दै श्रद्धालुहरु । तस्विरःमिथिलेश यादव/ नागरिक

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ। प्रत्येक वर्ष बैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फक्रीने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी।

सलहेस फूलवारीमा फक्रीने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा लहान नगरपालिका ११ मा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्ष (बैशाख १ गते) माला आकृत फूल फक्रीन्छ। यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन मिथिलावासीको मन फूलवारीमा तानिन्छ । सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको वन तथा वातावरण सम्बन्धि जानकार बताउँछन्।

मन्दिरका पूजारी जितेन्द्र धामीका अनुसार नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो। दशौं पुस्ताका पूजारी धामी भन्छन्, ‘सुरुवाटदेखि जुन रूखमा यो फूल फुल्यो अहिलेसम्म उही रूखमा उस्तै स्वरूपमा फुल्दै आएकोे छ।’ अरू फूल मुर्झाएर तिनका पात भूँइमा झर्छन तर, यो फूलको एउटै पत्र भूँइंमा नझर्ने पूजारी धामी बताउँछन्।

फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न मिथिलाञ्चल, पूर्वी तराई र भारतको विहार राज्यसँगै देशभित्रका अन्य जिल्लाबाट समेत आउने गर्छन्। भारत विहारबाट आउनेहरूमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पूजारी बताउँछन्। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीयमा यो जातिको संख्या उल्लेख्य हुन्छ।

भारत दरभंगाबाट मेला भर्न आएका लोटन पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए। ‘वर्षौंदेखि सुन्दै आएको गाथाभन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो।

यस्तो आलौकिक फूल ६५ वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ’ पासवानले भने,‘रूखकोबीचमा माला आकृत फूल, आश्चर्य !’ फूलवारीमा फूल श्रृंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेसँंग औधी प्रेम गर्थिन्, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रूपमा प्रकट हुने लोकविश्वास छ।  

नयाँ वर्षमा मात्र फुल्ने यो फूल द्वैविक शक्तिको प्रतिक हो, धार्मिक उपज हो, वा कुनै वनस्पतिक विशेषता यसबारेमा ठोस अनुसन्धान भएको छैन। यो फूल बैशाख १ गते पूर्णरूपमा फुल्छ भने बैशाख २ गतेदेखि विस्तारै हराउँदै जान्छ।

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा प्राण त्यागी फूल बनेकी थिइन्। छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फक्रिनु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय हो।  

सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने हारमको रुख कसरी यतिका दिनसम्म बाँचिरहेका छन्। यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ।  

लोकगाथाका नायक सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो। आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन्।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन्। फूलवारीमा फुल्ने मालाआकृत फूल जसलाई हेर्न देश र छिमेकि मुलुकबाट हजारौ दर्शनार्थी आउने गर्दछन्। यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ। भनिन्छ, सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे।  

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएको छ। यस फूलबारीभित्र रहेको हारमको रुखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ। भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रुखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष यो फूलबारीमा विवाह हुँदै आएको पुजारी धामीले बताए।  

पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा सलहेश फूलबारीलाई समावेश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सलहेश फूलवारी पनि परेको छ ।

प्रकाशित: १ वैशाख २०८० ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App