२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाेषीलाई कारबाही हुनेमा स्थानीय अशावादी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन्। विशेष अदालतको आदेशमा चित्त नबुझाएको अख्तियार मंगलबार सर्वोच्च अदालत गएको हो। सर्वोच्चमा मुद्दा पुनरावेदन भएपछि ठुलो आशा जागेको स्थानीयको भनाइ छ।

सिक्टा आयोजनामा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा पुगेपछि खुसी लागेको बताए। ‘सिक्टामा भएको कमसल निर्माणबारे धेरै समिति र विज्ञ टोली आएर अनुगमन गरे। सबैले कमजोरी औंल्याएकै हुन् तर विशेष अदालतले भ्रष्टाचारका आरोपीलाई सिधै सफाइ दिने काम गर्‍यो। यसले सबैमा निराशा छाएको अवस्थामा अब यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ,’ श्रेष्ठले भने। 

सिक्टामा भएको भ्रष्टाचार ढाकछोप गर्ने कोसिस गरेमा भविष्यमा धेरै विकास निर्माणमा भ्रष्टाचार र अनियमितता बढ्ने श्रेष्ठको आशंका छ। उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा भएको यति ठुलो भ्रष्टाचारलाई लुकाउन खोजियो, संलग्नलाई त्यसै छोडियो भने भोलिका दिनमा अझै भ्रष्टाचार मौलाएर जान्छ, भ्रष्टाचारीको मनोबल बढ्छ।’

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माणमा ठुलै आर्थिक चलखेल भएकाले आयोजनाको भविष्य अन्धकार बनेको उनले बताए। सिक्टा सिँचाइ आयोजना निर्माण स्थल राप्ती सोनारी-९ ढकेरीका बासिन्दा श्रीधर उपाध्यायले मुद्दा सर्वोच्चमा पुगेकाले आयोजनाका पक्षमा फैसला हुने विश्वास जागेको बताए। ‘हामीले सुरुदेखि नै सिक्टाको काम राम्रो भएन, कमसल निर्माण भयो भनेर ध्यानाकर्षण गराउँदै आएका थियौं। हाम्रो कुराको सुनुवाइ नहुँदा नहर पटकपटक भत्कियो,’ उनले भने, ‘अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो।

विशेष अदालतले भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिए पनि सर्वोच्चमा मुद्दा पुगेको खबरले फेरि आशा जागेको छ ।’ कमसल निर्माण भएको पश्चिम मुल नहर अहिले काम नलाग्ने अवस्थामा पुगेको उपाध्याय बताउँछन्। ‘सही छानबिन हुनुपर्छ भनेर हामीले आवाज उठाएको हो। यो मुद्दा अब सर्वोच्च अदालतसम्म पुगेको छ। सही हिसाबले पक्कै छानबिन होला,’ उपाध्यायले भने। निर्माण सुरु भएको डेढ दशकभन्दा बढी भइसक्दा पनि सिक्टा आयोजना अधुरै छ।

प्रकाशित: २२ चैत्र २०७९ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App