८ वैशाख २०८१ शनिबार
समाज

जुम्लामा विद्यार्थी पढाउँदै ‘प्रहरी’

सधैँ झोलामा किताब–कापी बोकेर विद्यालय जाने विद्यार्थीको हुल जिल्ला प्रहरी कार्यालयतिर मोडियो।

विद्यार्थी मात्र होइन, शिक्षकहरूसमेत प्रहरीसँग विद्यालयको कार्यालयमा भेला भए। प्रहरी शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरङ्ग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

प्रहरी प्रशासन, जिल्ला सरकारी वकिल कार्यालय जुम्लाको संयुक्त टोली विद्यार्थी र शिक्षकको त्यो हुलमा कुनै घटनामा न्याय खोज्दै पुगेको होइन। न त उनीहरू प्रहरी नियन्त्रणमा परेर वा हुल हुज्जत गरेरै त्यहाँ पुगेका थिए। 

प्रहरीले नागरिकलाई दिने सेवाबारे बुझाउन र चेतनशील बनाइ समाजमा अरूलाई समेत सचेत गराउने उद्देश्यले पुगेका थिए, जुम्लाको गुठिचौर गाउँपालिका ५ झारज्वलामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षककै निम्तोमा त्यहाँ पुगेका थिए।

'प्रहरी' शब्द सुन्ने बित्तिकै धेरैलाई अप्रिय घटनासँग सम्बन्धित व्यक्तिको झल्को आउँछ। र, प्रहरीको नाम सुन्दा लडाइँ, झै-झगडा, पक्राउ, मुद्दा, छलफल, मिलापत्रजस्ता घटना र अवस्था कतिपयका आँखामा झल्झल्ती नाच्न थाल्छन्।

घरमा आफ्ना बालबालिका अभिभावकको नियन्त्रण बाहिर जान खोजे अभिभावकले पनि उही पुलिसको डर देखाउने गर्छन्– 'पुलिसलाई भन्दिऊँ, पुलिस बोलाइदिऊँ ?' अभिभावकको यही भनाइले बालबालिकामा प्रहरी भनेको कसैलाई समात्ने, कुटपिट गर्ने, डर देखाउने व्यक्ति हो भन्ने भान पर्छ। र, वयस्क–वृद्ध हुँदासम्म पनि प्रहरीप्रतिको यो धारणा मेटिइसकेको हुँदैन। प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लङ्ग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन्।

घरेलु हिंसा, लागु औषध दुव्यर्सनविरुद्ध सचेतना, बालविवाह,अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतबारे सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको हुन्छ। ठूला सहरमा बाटो अलमलिएर अभेर परे नजिकैको प्रहरीले आफूलाई सबैभन्दा भरपर्दो सहयोग गर्न सक्छन् भन्नेसम्म पनि हेक्का नराख्दा दुःख पाउने धेरै छन्।

प्रहरी–नागरिकबिच दूरी घटाउँदै प्रहरी हाम्रो लागि स्थापित निकाय हो भन्ने विश्वास दिलाउन शिक्षक शिक्षिका एवं विद्यार्थीहरूका लागि लागु औषध तथा दुर्व्यसनी, लैगिङक हिंसा र बाल विवाह विरुद्ध कसुरका विषयमा विद्यार्थी, शिक्षक र प्रहरीबिच एक दिने अभियान सञ्चालन गरिएको हो। यसबाट विद्यार्थीमा प्रहरीको भूमिका, कानुन, सामाजिक कर्तव्य र जिम्मेवारीको सञ्चार गर्न सिके अपराध नै घटेर जाने प्रहरीको विश्वास छ।

यही आवश्यकतालाई महत्त्वपूर्ण ठानेको प्रहरीले अहिले नागरिक–प्रहरीको दूरी घटाएर आफूप्रतिको बुझाइ अझ प्रस्ट्याउने प्रयास गर्दैछ। जिल्ला प्रहरीले प्रत्येक महिना कुनै न कुनै विद्यालयका विद्यार्थीका लागि प्रहरी के हो?, प्रहरीले दिने सेवा कस्तो हो?, प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ। केही महिना अघि जुम्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधिहरू सँगै पनि  समन्वय गरेको थियो। मलाई पनि बाल्यकालदेखि नै पुलिस भनेको डरलाग्दो व्यक्ति हो भनेर डर देखाइन्थ्यो।

जिल्ला प्रहरी जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्की भन्छन्,'सर्वसाधारण धेरैमा प्रहरीप्रतिको बुझाइ यस्तै हुन सक्ने भएकाले विद्यार्थीमार्फत समाजमा चेतना फैलाउने अभियान ल्याएका छौं।'

उनले भने 'पछिल्लो समयमा जुम्लामा लागु औषधका प्रयोगकर्ता बढेका छन् ,त्यसकै कारणले विद्यार्थीहरूका लागि लागु औषध तथा दुर्व्यसनी, लैगिङक हिंसा र बाल विवाह विरुद्ध कसुरका जानकारी दिने प्रयास गर्दैछौ।'

युवा र बालबालिका आपराधिक क्रियाकलापमा संलग्नताका हिसाबले जोखिममा परेको वर्ग भएकाले प्रहरीले चेतनामूलक कार्यक्रमलाई विद्यालयहरूप्रति केन्द्रित गरेको हो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले लागु पदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गर्दै लागु पदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक रूपमा असर पर्ने बताए।

समाजमा सबै उमेर समूहका मानिसहरु विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन, परिवार तथा समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पुयाइरहेकोले यसको नियन्त्रणका लागि सबै जुट्नु पर्ने बताउँछन्।

प्रकाशित: १७ चैत्र २०७९ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App