१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

साहसी महिला टोलीलाई सम्मान

सन्दर्भ: माइती नेपाल स्थापना दिवस

माइती नेपालको ३१औं स्थापना दिवसको अवसरमा साहसिक महिलालाई सम्मान गरिएको छ। नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोलीलाई माइती नेपालले सम्मान गरेको हो।

काठमाडौं–दुवई–काठमाडौं उडान सफल पारी अविस्मरणीय कीर्तिमान कायम गर्ने भावना पन्त र सिर्जना राउतको टिमलाई सम्मान गरेको माइती नेपालले जनाएको छ। नेपाली महिलाको आत्मविश्वास, शाहस र क्षमतालाई उजागरण गर्न उनीहरू सफल भएको माइतीले बताएको छ।  

कार्यक्रममा संघीय संसद्की उपसभामुख इन्दिरा राना मगर, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र सोही संस्थाका कार्यकारी निर्देशक विशवराम खड्काको उपस्थिति रहेको थियो। सो क्रममा अध्यक्ष कोइरालाले सम्मानित महिलालाई गर्विलो काम गरेको भन्दै धन्यवाद दिएकी थिइन्। ‘अनुशासनले मानिसलाई उच्च बिन्दुमा पुर्‍याउँछ, अनुशासन भएमा जोकोहीले जे पनि गर्न सक्छन्,’ उनले भनिन्, ‘नेपाल वायु सेवा निगमबाट उडान भर्ने नेपाली पहिलो साहसिक महिलामा अनुशासन र धैर्यले नै यहाँ आउन सफल भएका हुन्।’

उक्त साहसिक तथा सम्मानित नेपाली महिला पाइटल चालकको टिमलाई पाइलट सम्बन्धित विद्यालय खोल्न अनुरोध गर्दै उनले थपिन्, ‘म अझै थाकेकी छैन, सास रहुन्जेल अझै आस छ। मेरा छोरीहरूका लागि अझै कष्ट गरी नै रहन्छु।’

‘आमा शब्द नै काफी छ। आमाको नाममा प्रख्यात अनुराधा कोइराला हुन्, ‘प्रतिनिधिसभा संघीय संसद्की उपसभामुख रानाले भनिन्, ‘महिला अब खलासी होइनन्, ड्राइभर भएर आएका छन्। हरेक मानिसको सोच नै महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रमलाई अब महिला नै अघि बढेर देखाउनुपर्छ, विकसित सहरमा महिला योग्य होलान् तर दुरदराजका नेपाली महिला अझै पछि परेका छन्। परिवारको हेपाइमा महिला धेरै पिल्सिएका छन्।’

माइतीले विगत ३० वर्षदेखि महिला तथा बालबालिकाको हकअधिकारका लागि काम गर्दै आएको छ। उक्त संस्थाले देशका विभिन्न सिमानामा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुनर्स्थापनागृह, ३ वटा रोकथाम गृह, एउटा बाल संरक्षण गृह, २ वटा हस्पिटल र एउटा प्राथमिक उपचार केन्द्र स्थापना गरिसकेको बताएको छ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध संस्थालाई सशक्त बनाउँदै आएको माइती नेपालका कर्मचारीले बताए। यसरी समाजमा उदाहरणीय कार्य गरेर आम सर्वसाधारण महिला र पुरुषका लागि प्रेरणा र ऊर्जाको स्रोत बन्न सफल हुने महिलालाई हरेक वर्ष सम्मान गर्दै आएको उनले बताइन्।

नारी भएर निडर भई अघि बढ्नु नै नारीको शक्ति हो। नारीको आत्मसम्मानको महत्व, सधैं नै शक्ति र आत्मसाहसले चिनाउँछ। त्यसैले अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मात्र नभएर सदैव मनाउँदै गरेको उक्त संस्थाकी अध्यक्ष कोइरालाले बताइन्।  

प्रकाशित: १७ चैत्र २०७९ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App