२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महानगरले हटायाे ट्राफिक प्रहरीकाे पार्किङ

विराटनगर महानगरपालिका सडक पार्किङ र अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा आक्रामक बन्दै गएको छ।

नगरकाे मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रामक रुपमा लागेको महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरीले गरेको पार्किङलाई हटाएको हो।

महानगरले नगर क्षेत्रको भित्र सडक खण्डको पेटी ढाक्ने गरी बनाइएका संरचनासमेत हटाउन थालेको छ। महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले ट्राफिक कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो।

ट्राफिक कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा गुनासो आएपछि प्रमुख कोइराला आफैँ उपस्थित भएर पार्किङ गरेका सवारी हटाएका हुन्। 

प्रमुख कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिएका छन्।

कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडि सडक र फुटपाथमा राख्दै आएको थियो। महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई प्रमुख कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे।

प्रमुख कोइरालाले भने 'ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गरे। सानालाई ऐन ठूलालाई चैन हो कि के हो भनेर सबैले गुनासो गरेपछि आफैँ आएर सडक पेटी खाली गराएको हो।'

मोरङ ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने बताए। उनले अबदेखि वैकल्पिक ठाउँमा पार्किङ गरिने प्रस्ट पारे।

'कार्यालयभित्र पार्किङ गर्न स्थान थोरै छ। अबदेखि वैकल्पिक स्थान खोजेर त्यहीँ पार्किङ गर्नेछौ।' श्रेष्ठले भने।

प्रकाशित: १२ चैत्र २०७९ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App