२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुबईबाट उद्धार भएकी चेलीको कथा

विदेशकाे वेदना

पैसा कमाउने सपना देखेर ओमन पुगेकी सिन्धुपाल्चोककी कार्की थरकी २० वर्षे एक युवती आफ्नो ज्यान बचाएर नेपाल आउन सफल भएकी छिन्। व्यक्तिगत चिनजानमार्फत ओमन पुगेकी युवती मृत्युको मुखबाट भागेर आफ्नो देश फर्कन सफल भएकी हुन्।

ओमनमा घरायसी काममा लागेकी उनलाई मालिकले त्यस रात भेटेको भए उनी जिउँदो फर्कन पाउने थिइनन्। अनेक दुःख झेलेर विदेश पुगेकी युवती दुई महिनामा स्वदेश फर्केकी हुन्। उनलाई दोस्रो जीवन पाएजस्तो लागिरहेको बताउँछिन्।

घरायसी आर्थिक अवस्था निकै कमजोर रहेकी सिन्धुपाल्चोककी कार्की थरकी २० वर्षे एक युवती २०७९ पुसको पहिलो साता काठमाडौं आइन्। काम खोज्दाखोज्दै गौशाला, रातोपुलमा भर्खर सञ्चालनमा आएको तर नाम नलेखिएकोे गेस्टहाउसमा उनी पुगेकी थिइन्।

उनी काम गर्न थालेको केही समयपछि त्यहाँ खाना खान आउने छिरिङ लामासँग उनको भेट भयो। कार्कीले कति कमाउछ्यौ भनी प्रश्न गर्दा उनले महिनाको १५ हजार कमाइ हुन्छ भनेकी थिइन्। सो क्रममा लामाले यता कम तलबमा के दुःख गछ्र्यौ, बरु विदेश जाऊ, त्यहाँ काम गर्दा राम्रो कमाइ हुन्छ भनेका थिए। लामाले चिनेको मान्छे छ भनी कार्कीलाई विष्णु तामाङसँग चिनजान गराइदिए।

चिनजान गरेको ४/५ दिनपछि तामाङले उनलाई विदेश पठाउने सल्लाह गर्ने भन्दै एयरपोर्टअगाडि बोलाए अनि पासपोर्ट र नागरिकता छिटो ल्याउनू भने। कुराकानी गर्ने क्रममा कार्कीले कम्पनीको काममा जान चाहेको कुरा गर्दा उक्त ऐजेन्टले ओमनमा घरायसी कामदारको काममा जानू, भिसा छिटै लाग्छ, मासिक ५०/६० हजार नेपाली रूपैयाँ कमाइ हुन्छ भनेपछि कार्कीले एजेन्टको कुरामा विश्वास गरिन्।

एक हप्तापछि गौशालाको पिङ्गलास्थान नजिकै रहेको गणेश मन्दिरमा ती एजेन्टले शुक्र लिम्बु भन्ने व्यक्तिलाई भेट गराई कार्कीसँग भएको सक्कली पासपोर्ट, नागरिकताको फोटो र उनको फोटो खिची लगेका थिए। भिसा १५÷२० दिनपछि आउने एजेन्टले उनलाई बताएका थिए। तामाङको सल्लाहअनुसार गौशालामा रहेको मेडिकलमा उनले मेडिकल–जाँचसमेत गरिन्। उनकी आफ्नै बहिनीले पनि ओमनका लागि प्रक्रिया अगाडि बढाइरहेकी थिइन्।

उनको ओमनको टिकट, कोरोनाको रिपोर्टलगायतका अन्य कागजातहरू एजेन्टकै खर्चमा बनाइदिएका थिए। ‘अहिलेसम्म कोरोनाको कुनै भ्याक्सिन नै लगाएकी थिइनँ,’ उनले भनिन्, ‘तर ऐजेन्टहरूले के कसरी कोसँग मिलेर मेरो कोरोना खोपको रिपोर्ट बनाए, मलाई थाहा भएन। मैले पासपोर्ट लगायतका अन्य कागजातहरू बुझाएको २०/२२ दिनपछि माघ २० गते राति ९ बजे विष्णुले फोन गरी दुबई हुँदै ओमन जाने फ्लाइट भोलि बिहान ८ बजेको छ, तिमी भोलि बिहान ३ बजे एयरपोर्टमा जसरी भए पनि पुग्नू भने,’ उनले थपिन्, ‘म कसरी, कोसँग आऊँ, परिवारसँग नि बिदावारी सरसल्लाह भएको छैन भन्दा एजेन्टले जसरी भए पनि आउनू भनेपछि मैले फोनमा नै परिवारसँग बिदा मागी बिहान ३ बजे एयरपोर्ट पुगे।’

बिहान ३ बजे नै एयरपोर्ट पुग्दा एजेन्ट कार्कीको प्लेन टिकट र पासपोर्ट लिएर आएको उनले बताइन्। उनको कान्छो भाइ एयरपोर्टमा बिदावारी गर्न आएका थिए। एजेन्टले उनलाई प्लेन छुट्ने बेला भइसक्यो, छिटो भित्र जाऊँ भनेर कराएको कार्कीको भनाइ छ।

विदेशमा गएर कमाउने सपना पूरा हुने ठानेकी उनी दुबई हुँदै ओमन पुगिन्। ओमनको एयरपोर्टमा नेपाली मुलका नवीन राई र ओमनी नागरिक सामी उनलाई लिन आएका थिए।

उनलाई एजेन्ट अफिसमा पु¥याएलगतै ती एजेन्टहरूले मेडिकल गर्नुपर्छ भने। नेपालमा नै मेडिकल गरी पास भएर यहाँ आएकी हुँ भन्दा नवीनले ओमानमा पुनः मेडिकल पास हुनुपर्छ भने। उनले भनिन्, ‘प्रतिदिन ९ सिरिन्जका दरले मलाई ३ दिनसम्म लगातार अस्पताल लगी ठुलो सिरिन्जबाट २७ पटक रगत झिके। निजहरूले कुनै रिपोर्ट देखाउँदैनथे। किन रगत निकाल्थे मलाई भन्दैनथे। सोही क्रममा म निकै कमजोर भइसकेकी थिएँ। म बसेको कोठाको छेउको कोठामा बसी नवीन र सामीले मलाई कति रकममा बेच्ने भनी अरबी भाषामा कुरा गरिरहेको मैले सुने।’

५ वर्ष इजरायल बसेर आएकी उनलाई अरबी र अंग्रेजी भाषा पनि बुझ्न सक्ने भएकाले एजेन्टहरूको वार्तालाप बुझ्न कनै कठिनाइ थिएन।

‘घरेलु कामदारका लागि लिन भनी दैनिक ४/५ जना ओमनीहरू आउँथे तर राईसँग कुरा मिल्दैनथ्यो। नवीनले मलाई १५ लाखमा बेच्न खोज्थ्यो,’ उनले भनिन्, ‘अग्रेजी राम्रो, मेक अप म्याच गर्ने, हँसाइ राम्रो, जिउडाल मिलेको, मिनिस्कट लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १५ लाख तिर्न गाह्रो कसैले मान्दैनन्।’

‘स्थानीय महिला र पुरुष आएर हाम्रो घरमा काम गर्ने हो, घरमा १५ जना सदस्य छौं, ७ तल्लामा जम्मा ३५ कोठा सफा गर्नुपर्छ भने। मैले हुन्छ भनें। मलाई उनीहरूको घरमा लगे। ३ दिनमा १ छाक २ वटा पुरानो सुक्खा रोटी र चिया दिन्थे। त्यो पनि ३ मिनेटमा खाई सक्नुपर्ने, ३ मिनेट नाघ्यो भने सो खानेकुरा फ्याँकी दिन्थे।’

‘पानी पिउन पनि घरमालिकलाई सोध्नुपथ्र्यो। घरमालिकसँग दोहोरो कुरा गर्न नपाउने र घरको सामान केही सकिएमा लेखेर दिनुपर्ने,’ उनको कथन छ। उनी २२ घण्टा काम गरी जम्मा २ घण्टा बिहान ३ देखि ५ बजेसम्म मात्र सुत्न पाउँथिन्।

यसरी चरम यातनाका बाबजुत काम गर्दै गर्दा ८ औं दिनमा उनी निकै कमजोर भई फ्रिज सफा गर्दै गर्दा भुइँमा ढलिन्। उनी ढलेको भिडियो घर मालिकले खिची एजेन्ट अफिसमा पठाउँदै, यस्तो छारे रोगीलाई काम गर्न पठायौं। तुरन्तै लिन आऊ भनी फोन गरेको केही समयमा नै कार्कीलाई राई र सामीले एजेन्ट अफिसमा लिएर गएको उनको भनाइ छ। उनलाई लिएर गएको एकछिनमा नै आराम गर्न नदिई धेरै काम लगाउन थाले।

राईले भारतीय, पाकिस्तानी, बंगलादेशी एजेन्टसँग मिलेर विभिन्न ठाउँमा फ्ल्याट लिएको थियो। ती फ्ल्याटहरूमा १५÷२० जना महिला राख्ने र राईले ती महिलामध्ये राम्रा युवतीहरूलाई यौन दुव्र्यवहारसमेत गर्ने गरेको पीडितको कथन छ।

ओमान पुगेदेखि परिवारसँगको सम्पर्क उनको टुटेको थियो। एकदिन उनलाई आमाले पिर गर्दै होलिन् भन्ने लागेर जफत गरेको मोबाइल खाल्सासँग अनुरोध गर्दै मागिन्। फेसबुक मेसेन्जरमार्फत परिवारसँग वास्तविक पीडा खोल्दै गर्दा भाइले उनलाई एम्बेसीमा गएर उजुरी गर्नु भनेर आदेश दिए।

उक्त घरमा सिसी क्यामेरा जडान भएकाले घरमालिकले परिवारसँग गरेको कुरा सबै सुनी एम्बेसी भन्ने शब्दले उनलाई फसायो। ‘मैले एम्बेसीभन्दा सामी र खाल्साले सबै सुनिरहेका रहेछन्,’ उनले भनिन्, ‘अब त झन् कडा निगरानीमा राख्न थाले। भोलिपल्ट अफिसमा सामी र खाल्साबीच कुरा हुँदा यो केटीले एम्बेसीमा उजुरी गरेमा हामीलाई अप्ठेरो हुन्छ। यसलाई झुन्ड्याई मार्नुपर्छ भनी सल्लाह अग्रेजीमा गरेको मैले सुनें।’

सो राति उनी सुत्न सकिनन्। उनी आफ्नो ज्यान बचाउने तर्खरमा राति नै भाग्ने सोच्दै थिइन्। उनी राति ट्वाइलेट जाने बहानामा कोठाबाट निस्कँदा खाल्सा पछि लागेको उनले चाल पाइन्। ‘निजहरूको १ तल्लाको घर थियो,’ पीडितले भनिन्,’ ‘सोही घरको छतबाट हाम फालेर भाग्न खोजेको निजलाई शंका लागि मेरो हात पछाडिबाट बाँधिदिए। हात बाँधेपछि कसरी ट्वाइलेट जाऊँ भनेर म कराएँ। सोही समयमा सामीले मलाई मार्न भनी दाउ (हतियार) लिन किचेनमा गए,’ उनले फेरि थपिन्, ‘सोही मौकामा मैले पछाडिबाट बाधिएको मेरो हातको डोरी झटारेर खोली खाल्सालाई कुमले ठेली १ तल्लाको छतबाट हाम फाली त्यहाँबाट भागें। हामी बस्ने ठाउँ पहाडमा थियो।’

‘दाजुबहिनीले मलाई लखेट्दै आइरहेका थिए। मलाई सामीले पछाडिबाट ‘हे गल ! इफ यु डन्ट स्टप, आई डन्ट लिभ यु, होएरइभर यु गो, आई विल किल यु’ भनी ठुलो स्वरले चिच्याई दाउले हान्दा दाउको बिडले मेरो घाँटीको दाहिने भागमा लागी चोट लाग्यो,’ उनले बताइन्।

करिब १ घण्टा जति पीडितलाई लखेटेपछि घरमालिकहरू थाकेर लखेट्न छाडेको उनको भनाइ छ। रातको समयमा ३ घण्टा भाग्दै जाँदा डाँडाको मुनितिर पेट्रोलपम्प उनले देखिन्। ‘नेपालमा डाँडाकाँडा हिँड्ने बानी परेको हुँदा मलाई त्यहाँ दगुर्न त्यति गाह्रो भएन,’ उनले भनिन्,’ ‘पेट्रोलपम्पमा पुग्दा मैले एकजना बंगलादेशी केटा मान्छे देखेपछि सबै वृत्तान्त सुनाएँ। मैले नेपाली दूतावास पु¥याइदिनु भन्दै बंगलादेशीसँग आग्रह गरे। मसँग पैसा नभएकाले ट्याक्सी खोजेर नेपाली एम्बेसी पु¥याइदिनु भन्दै बंगालीले भाडा १० रियाद पनि तिरिदिएको थियो।’

उनी बिहानको ६ बजे नेपाली दूतावास पुगिन्। बिहानको ८ बजे एम्बेसी खुल्छ, अब तिमी सुरक्षित छौ भन्दै ट्याक्सी ड्राइभरले छोडिदिएको कार्कीले बताइन्।

मान्छेलाई दशा लागेपछि कसको के लाग्दो रहेछ र ? खाल्सा र सामी नेपाली दूतावासमा नै आइपुगे। ‘मलाई देख्ने बित्तिकै खाल्साले जुत्ता खोलेर मलाई हान्न आइरहेकी थिइन्। त्यहाँ सिसी क्यामेरा जडान भएको थाहा पाई सामीले खाल्सालाई तान्दै गाडीमा राखेर उनीहरू भागे,’ पीडितले बताइन्।

उनी दूतावासमा ६ दिन बस्दा घरमा सम्पर्क गरी, दूतावासको सहयोगमा दाजुबहिनीले जफत गरेको कार्कीको पासपोर्ट र मोबाइल सामीले नेपाली दूतावासमा पु¥याइदिएको उनको कथन छ। दूतावासमा बस्ने क्रममा उनले आफ्नो घरमा प्लेनको टिकट काट्न लगाई फागुन २९ गते नेपाल फर्कन सफल भइन्।

राईले ओमनबाट एक महिलाबापत १ हजार रियाल कमिसनस्वरूप नेपालको शुक्र एजेन्टलाई पठाउने गरेको उनले बताइन्। उनकी बहिनी पनि ओमन पठाउने भनी लिएको पासपोर्टसमेत हालसम्म फिर्ता नगरिदिएको कार्कीले बताइन्।

नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन् भने पुरुष कम्बोडिया, लावस, भियतनाम र बर्मामा बेचिने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी नरहरि रेग्मीले जानकारी दिए। आर्थिक वर्ष २०७५/२०७६ देखि चालु आर्थिक वर्षको फागुनसम्म कुल उद्धार संख्या १ हजार ८४ रहेको छ। जसमा ५ सय १४ महिला, १ सय ८४ बालिका, ३ सय ६९ पुरुष र १७ बालक रहेको युरोको तथ्यांकले बताएको छ। 

प्रकाशित: ११ चैत्र २०७९ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App