१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एआइजीको फुली लगाएको तीन दिनमै आइजिपी

आइजिपीमा बढुवा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग वसन्तबहादुर कुँवर। तस्बिर: रासस

सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आइजिपी) मा वसन्तबहादुर कुँवरलाई बढुवा गरेको छ। आइजिपी धीरजप्रताप सिंह शुक्रबार मध्यरातबाट ३० वर्षे सेवावधिका कारण अवकाशमा जाने भएपछि त्यसअगावै बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको हो। प्रतिस्पर्धी पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मध्ये आइजिपीमा बढुवा भएका कुँवर पहिलो वरीयताका हुन्।

प्रहरी नियमावली, २०७१ को नियम ४१ मा सरकारले एआइजीमध्येबाट उपयुक्त ठानेका उम्मेदवारलाई आइजिपीमा बढुवा गर्न सक्ने व्यवस्था छ। यही चैत ६ गते एआइजीमा कुँवरसँगै बढुवा भएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीको प्रतिस्पर्धी थिए। एआइजीमा बढुवा भएका पाँचैजनाले तीन दिनअघि बुधबार सो पदको दज्र्यानी चिह्न पाएका थिए। यी पाँच जनाभन्दा अघिदेखि एआइजीमा बहाल रहेका सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहनी भने आइजिपीको प्रतिस्पर्धामा थिएनन्। थापा, सुवेदी र लोहनी प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवावधिकै कारण अवकाशमा जाने भएपछि आइजिपीको प्रतिस्पर्धामा नभएका हुन्। यी तीनै जना आइजिपी सिंहका ब्याचमेट हुन्।

प्रायः विवादित हुने गरेको आइजिपी बढुवा यसपटक वरीयताका आधारमा गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आइजिपी बढुवा विवादरहित हुने संकेत गरेका थिए। आइजिपी सिंह बुधबार एआइजीको दज्र्यानी चिह्न पाएका कुँवरसहित पाँच जनालाई लिएर प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए। त्यो भेटमा दाहालले एआइजी बढुवामा वरियता नमिचिएको र आइजिपी बढुवामा पनि नमिचिने बताएका थिए।

संयोगको यात्रा

आइजिपी कुँवरका लागि आइजिपीको यात्रा संयोगले जुराएको प्रहरी स्रोत बताउँछ। २०७५ फागुन ६ गते भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा उनी १३ नम्बरमा थिए। त्यसअघि भने उनी अघिल्लो वरीयतामा थिए। एसएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा सन्दीप भण्डारी थिए। उनी हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) नै छन्। उतिबेला दोस्रोमा वरीयतामा रहेका टेकप्रसाद राई अहिले एआइजीमा दोस्रो वरीयतामा छन्। यसरी एसएसपीमा बढुवा हुँदा वरीयतामा पछाडि रहेका कुँवर गत असार ८ गते भएको डिआइजी बढुवा सिफारिसमा पहिलो नम्बरमा आए।

उनलाई पहिलो नम्बरमा डिआइजीमा बढुवा हुने विश्वास नभएको निकटहरू बताउँछन्। असार ८ गते कुँवरसहित १७ जना एसएसपी डिआइजीमा बढुवा भएका थिए।

डिआइजीमा बढुवा भएदेखि नै यो समूह अहिलेको आइजिपी बढुवामा पर्न रस्साकस्सीमा जुटेको थियो। जसमा तेस्रो नम्बरमा डिआइजीमा बढुवा भएका अशोक सिंह बलियो दाबेदार थिए। उनकाअगाडि पहिलो नम्बरमा रहेका कुँवर र दोस्रो नम्बरमा रहेका राई फितलो देखिएको चर्चा थियो।

यसै बीचमा प्रहरीमा रहेको ३० वर्षे सेवावधि हटाउने चर्चा झांगिदै गयो। ३० वर्षे सेवावधिको व्यवस्था हटाएर आइजिपीमा सिंहलाई नै निरन्तरता दिने विषय पनि चर्चामा आयो। तर यो व्यवस्था हटेन, यसैकारण सिंह आइजिपीबाट अवकाशमा जाने निश्चित भयो। नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रहरीमा ३० वर्षे सेवावधि हटाउन सहमत थिए।

देउवा नेतृत्वको सरकारले गत मंसिरमा प्रहरी नियमावलीमा भएको सेवावधिको व्यवस्था हटाएर आइजिपीमा सिंहलाई नै निरन्तरता दिन प्रयास गरेको थियो। तर पुस १० गते अर्को गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि नियमावली संशोधन कार्य रोकियो। तर ३० वर्षे सेवावधि हटाउने प्रयास भने निरन्तर छ। जसका लागि नियमावली संशोधन नभई प्रहरी ऐन, २०१२ लाई विस्थापित गरी ‘संघीय प्रहरी विधेयक’ ल्याउने तयारी छ। तयारीमा भएको ढिलाइले आइजिपीमा सिंहको निरन्तरता सम्भव भएन।

एकातिर ३० वर्षे सेवावधि हटाएर आइजिपीमा सिंहलाई निरन्तरता दिने तयारी र र अर्कातिर समकक्षी प्रतिस्पर्धी डिआइजी सिंहको शक्ति केन्द्रसँगको उठबस बीचमा कुँवरको आइजिपी यात्रा संशयपूर्ण थियो। यसैबीचमा डिआइजी सिंह उमेर विवादका कारण राजीनामा दिन बाध्य भए। जसले कुँवरको आइजिपी हुने बाटो केही सहज बनायो। अन्तिमसम्म पनि आइजिपी सिंह नियमावली संशोधन गराउन लागिपरे पनि सम्भव भएन।

एआइजीमा तेस्रो नम्बरमा बढुवा भएका थापा र चौथो नम्बरमा बढुवा भएका ज्ञवालीले पनि आइजिपीमा बढुवा हुन अन्तिमसम्म बलियो लबिङ गरिरहेका थिए। तर आइजिपी हुने संयोग कुँवरलाई मिल्यो। स्रोतका अनुसार कांग्रेस सभापति देउवाको रोजाइमा रहेका डिआइजी सिंह उमेर विवादले बाहिरिएपछि त्यो स्थान कुँवरले पाए। आइजिपी सिंहले पनि एआइजी बढुवामा कुँवरलाई पहिलो नम्बरमा राख्न सफल भए। ३० वर्षे सेवावधि हटाउन सरकारले हतार गर्न चाहेन। प्रधानमन्त्री दाहालले पनि आइजिपी बढुवालाई विवादमा पार्न चाहेनन्। त्यसैले वरीयता मिचिएन, वरियतामा पहिलो नम्बरमा रहेका कुँवर आइजिपी भए।

को हुन् कुँवर?

अर्घाखाँचीको सन्धिखर्कमा २०२६ साल चैत १५ गते जन्मिएका कुँवर २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका थिए। उनले निष्ठा, साहस र व्यावसायिक चरित्रको छवि निर्माण गरेको जानकार बताउँछन्। प्रहरी सेवामा भर्ना भएको झण्डै १२ वर्षपछि २०६३ भदौ ८ गते उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भए। त्यसपछि उनी २०७१ फागुन १० मा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भए।

प्रहरी सेवामा प्रवेश गरेपछि कुँवरले गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, मनाङ, गोरखा, धादिङ, चितवन र नुवाकोट जिल्लामा खटिएर काम गरे। एसएसपी हँुदा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी युक्ति तालिम महाविद्यालयमा काम गरे।

त्यस्तै डिआइजी भइसकेपछि प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका उनी पछिल्लो समय मधेस प्रदेश प्रहरी प्रमुख थिए। उनीसँग संयुक्त राष्ट्रसंघीय मिसनमा पनि काम गरेको अनुभव छ। स्नातकोत्तरसम्म अध्ययन गरेका कुँवर दर्जनौं पुरस्कार र पदकले विभूषित छन्।

आइजिपी कुँवरको कार्यकाल ३० वर्षे सेवावधि कायम रहे २०८१ साल चैत ४ गते सकिनेछ। ३० वर्षे सेवावधि हटेमा उनको कार्यकाल पदावधिका कारण तय हुनेछ। ३० वर्षे सेवावधि हटेर आइजीको पदावधि ३ वर्ष कायम भए उनी २०८२ चैत १० गतेसम्म सेवामा रहनेछन्।

आइजिपी सिंहको बिदाइ

वर्तमान आइजिपी सिंहको प्रहरी प्रधान कार्यालयले शुक्रबार बिदाइ गरेको छ। सिंहसहित उनको ब्याचका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ बिदाई गरेको प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए।

आइजिपी सिंहसँगै अवकाश गएका एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहोनी, डिआइजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ, एसएसपीहरू उमाशंकर पञ्जियार र जनकराज पाण्डेलाई प्रहरी प्रधान कार्यालयले एकैसाथ बिदाइ गरेको हो।

नयाँ आइजिपीमा बढुवा भएका कुँवरलाई भने प्रहरी प्रधान कार्यालयले आइतबार स्वागत गर्ने भएको छ। केही प्रक्रिया बाँकी रहेको र शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै उनको स्वागत गरिने प्रवक्ता पोखरेलले बताए। उनले भने, ‘नयाँ आइजिपीले आइतबार जिम्मेवारी ग्रहण गर्नुहुन्छ। त्यसैले सोही दिन नै स्वागत हुन्छ।’

प्रहरीलाई जनमुखी बनाउने प्रतिबद्धता

नयाँ आइजिपीमा बढुवा भएका कुँवरले जनमुखी र जनमैत्री संगठन निर्माणमा जोड दिने बताएका छन्। सरकारले आइजिपीमा बढुवा गरेपछि उनले यस्तो बताएका हुन्। ‘प्रहरी संगठन हरसमय जनताका बीचमा रहेर जनताकै सुरक्षामा खट्ने हो। यसर्थ जनतासँग बढी घुलमिल हुनुपर्छ,’ नागरिकसँग कुरा गर्दै उनले भने, ‘मेरो कार्यकालमा संगठनलाई पूर्णतः जनमुखी, जनमैत्री बनाउन पहल गर्नेछु।’

विगतमा भएका असल कामलाई निरन्तरता दिने कुँवरले बताए। उनले भने, ‘राम्रा कामलाई निरन्तरता र कमीकमजोरी सुधार गर्दै जानु हरेक नेतृत्वको जिम्मेवारी हुन्छ।’

यस्तै संगठनमा शुद्धीकरण, प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन पनि आफूले ध्यान दिने उनले बताए। प्रहरीको व्यावसायिकता र दक्षता अभिवृद्धिकमा जोड दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने, वैज्ञानिक अनुसन्धानका क्षेत्रमा प्रहरी जनशक्तिलाई विभिन्न तालिम उपलब्ध गराउनेमा पनि काम गर्छु ।’

प्रकाशित: ११ चैत्र २०७९ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App