२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अनसनले रौतहटका दुई नगरपालिकाको काम अस्तव्यस्त

रौतहटको दुई नगरपालिकामा सम्पूर्ण विपक्षीहरू मिलेर आन्दोलन थालेपछि नगरपालिकाको काम अस्तव्यस्त बन्न पुगेको छ। 

रौतहटको गरुडा र वृन्दावन नगरपालिकामा अनसनले सबैको ध्यान खिचेपछि कार्यालयको काममा कठिनाइ उत्पन्न भएको हो।

गरुडा नगरपालिकासित १२ बुँदे माग राख्दै गत स्थानीय तहको चुनावमा लोसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका दीपक यादव आमरण अनसनमा बसेका छन्। अनसनमा बसेको पाँचौँ दिन रौतहटका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरु अनसन स्थल पुगेर तत्काल अधिकांश माग बमोजिमको कागजपत्र दिन तयार रहेको भन्दै कागजपत्र दिन लाग्दा शत प्रतिशत कागजपत्र अहिले नै चाहिएको भन्दै अनसन तोड्न अस्वीकार गरेका छन्।

आमरण अनसनमा बसेका यादवको समर्थन गर्दै नेपाली काँग्रेस, जसपा, नेकपा एससहितले यादवको माग तत्काल नै पूरा हुनुपर्ने बताएका थिए।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले चार हजारभन्दा बढी कागजपत्रको फोटोकपी गर्नुपर्ने र सबै व्यवस्थित गर्नुपर्ने भएकोले तत्काल करिब दुई हजारभन्दा बढी फोटोकपी उपलब्ध गराउन सकिने र बाँकी पनि अपुग माग भए अनुसार एक हप्तामा उपलब्ध गराउने बताए पनि आमरण अनसनरत यादवले सबै कागजपत्र तत्काल चाहिने र सबै कागजपत्रको सत्यापन एक एक गरेर रुजु गर्दै गएपछि ठिक ठहरेमा मात्र अनसन तोड्ने बताएपछि बिहीबार खासै प्रगति हुन सकेको छैन्।

आमरण अनसन गरिरहेका दीपक यादवको बारेमा गरुडामा सर्वपक्षीय बैठक बस्ने प्रयास पनि भएको थियो तर सर्वपक्षीय धारणा बनाउन पनि केही ढिलो भएको बुझिएको छ।

दुई दिन अघि नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले अनसन स्थलमा पुगेर यादवलाई भेटी अनसन तोड्न आग्रह गरेका थिए। नगर प्रमुख जयसवालले नगरवासीको चाहना अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। सबै मागहरु पूरा गर्न तयार रहेको प्रतिबद्धता जनाउँदा पनि यादव मानेका थिएनन्। यसै गरी अनसनरत यादवलाई गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले भेटी नगर प्रमुख जयसवालले गरेको आग्रह अनुसार अनसन तोड्न अनुरोध गरेकी छिन्। अनसनरत यादवले आफूले मागेको १२ बुन्दे सूचना नपाएसम्म आमरण अनसन जारी रहने बताएका छन्।

यसै गरी वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सूचना पाउँ भन्दै रिले अनसन सुरु भएको छ। नगर प्रमुख विनोद पटेल कुर्मिले धेरै भ्रष्टाचार गरेको आरोप लगाउँदै सबै विपक्षी मिलेर आन्दोलनको सुरुआत गरेका छन्। नगर प्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु रिले अनसनमा बसेका हुन्।

विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैयाँ पेस्की लिई भ्रष्टाचार गरेको आरोप लगाउँदै नगर प्रमुख प्रत्याशी तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव, नगर प्रमुख प्रत्याशी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्याशी तथा नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद पटेल, नगर प्रमुख प्रत्याशी तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, नगर प्रमुख प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव, रिले अनसन बसेका हुन्।

वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र पटेल, वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह, वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसेका छन्।

नगर प्रमुख विनोद कुर्मी पटेलले चैत ६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले विरोध जनाएपछि बैठक स्थगित भएको थियो। बैठक स्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगर प्रमुख विनोद पटेल कुर्मीलाई सुरक्षित घर पुर्‍याउन प्रहरीले बल प्रयोग गरेको थियो।

पूर्व नगर प्रमुख राम स्नेही यादव, नगर प्रमुख पदका उमेदवारद्वय प्रेमशंकर प्रसाद यादव र रामप्रसाद पटेल र तथा वडा अध्यक्ष ४ जना सिकिन्द्र पटेल, हरिनारायण साह, श्याम नन्दन यादव र फेकु दासले २०७९ चैत्र १४ गते संयुक्त रुपमा निवेदन दिई १७ बुद्धे सूचना माग गरेका थिए। सूचना नपाएसम्म रिले अनशन जारी राख्ने पूर्व नगर प्रमुख राम स्नेही यादवले बताएका छन्।

दुई नगरपालिकामा आमरण अनसन र अनसन जारी रहेकोले नगरपालिकाको नियमित कामकाज चलाउन पनि असजिलो भएको देखिएको छ।

प्रकाशित: ९ चैत्र २०७९ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App