गुल्मी- सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ। सरकारले कुनै बिरोध नभएको प्रदेशलाई टुक्रयाउन खोजेर अशान्त बनाएर उल्टो बाटो हिंडेको भन्दै राजनीतिक दल र युवाहरुले उल्टो जुलुस प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उद्योगी, व्यापारी, नागरिक समाजका प्रतिनिधिहरु समेत सहभागी बनेका थिए।
तम्घासको लाँकुरी मञ्चबाट शुरु भएको उल्टो जुलुसले तम्घासका शदिहचोक, भिमचोक, नयाँ बजार, पुतलीबजार, पुरानो बजार हुँदै झण्डै डेढ किलोमिटर किलोमिटर उल्टो हिडेका थिए। उल्टो जुलुस लाँकुरी मञ्चमै पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा पनि आन्दोलनकारीले नेताहरुले पनि उल्टो फर्केर भाषण गरेका थिए । सुन्नेले पनि उल्टै उभिएर भाषण सुनेका थिए । सभालाई बार एसोसियसका अध्यक्ष विष्णु बलाल, एमालेका सचिव सोमनाथ सापकोटा, पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले सम्वोधन गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए।
प्रकाशित: २१ मंसिर २०७३ १३:०५ मंगलबार