खोटाङमा निर्माणाधीन खानेपानीको ट्यांकी गुणस्तरहीन पाइएपछि भत्काएर अर्को बनाउन लागिएको छ।
सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा निर्माणाधीन ‘साप्सु खोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को ट्यांकी बनी नसक्दै चर्केपछि अर्को बनाउनका लागि भत्काउन थालिएको हो।
ट्यांकी निर्माणको क्रममा प्राविधिक गडबडी भएका कारण बनाई नसक्दै चर्केको अनुगमनको क्रममा फेला परेको थियो। स्थानीयवासीको गुनासो आएपछि नगरपालिकाले गरेको प्राविधिकसहितको स्थलगत अनुगमनमा खानेपानी ट्यांकी गुणस्तरहीन भएको भेटिएपछि भत्काएर अर्को बनाउन निर्देशन दिइएको थियो। नगरपालिकाको निर्देशन अनुसार शुक्रबारदेखि ट्यांकी भत्काउन थालिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईले जनताको गुनासो आए अनुसार प्राविधिक र अनुगमन संयोजक उप-प्रमुख बिसन राईसहित स्थलगत अनुगमनमा गएर हेर्दा ट्यांकी चर्केको पाएको बताए। उनले दीर्घकालीन महत्त्वको योजनाको काम गुणस्तरहीन भएको पाएपछि तत्काल भत्काएर अर्को बनाउन निर्देशन दिएको र सोही अनुसार निर्माण व्यवसायीले अर्को बनाउन भत्काउन थालेको बताए। शुक्रबारदेखि एक्स्काभेटर र मानव जनशक्ति प्रयोग गरेर ट्यांकी भत्काउने काम भईरहेको छ।
खानेपानी जस्तो संवेदनशील योजना भएकाले भत्काएर अर्को बनाउन लगाएको उनले बताए। स्थानीयवासीले गुणस्तरहीन सामग्री प्रयोग भएको जनाएको तर, प्राविधिकहरूको भनाई अनुसार ट्यांकी ढलान गर्दा एकैदिनमा सक्नुपर्नेमा दुई दिन लगाएर गर्दा चर्केको उनको बुझाई छ।
‘गोलाकारको ट्यांकी भएकाले ढलान गर्दा एकैदिनमा सक्नुपर्ने रहेछ’ प्राविधिकलाई उद्धृत गर्दै मेयर भट्टराईले भने ‘तर, जनशक्ति अभावले गर्दा दुई दिन लगाएर ढलान गरेछन्, त्यसो हुँदा चर्केको रहेछ। तर, जसरी भए पनि चर्केको ट्यांकीले हुँदैन भनेर अर्को बनाउन लगाएको हुँ।’
नगरपालिकाको निर्देशन अनुसार शुक्रबार बिहानदेखि भत्काउन थालेको ट्यांकी शनिबार साँझसम्ममा भत्काई सकेर आइतबार देखि अर्को बनाउन थाल्ने उनले बताए। ठुलो आकारको ट्यांकी भएकाले भत्काउन मात्र दुई दिन लाग्ने साइटमा खट्ने प्राविधिकले जनाएका छन्। ट्याङ्की बनी नसक्दै चर्किएपछि स्थानीयले चर्को आलोचना गर्दै नगरपालिकामा उजुरी दिनुका साथै अख्तियारमा मुद्दा हाल्ने चेतावनी दिएपछि निर्माण व्यवसायी चर्केको ट्यांकी भत्काएर नयाँ बनाउन मन्जुर भएको हो।
निर्माण कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ बुढानीलकण्ठले मूल्य अभिवृद्धि कर (भ्याट) सहित २९ करोड १३ लाख ९८ हजार ९ सय ९० रुपैयाँ लागतमा सो आयोजना निर्माणको जिम्मा लिएको छ। संघीय सरकार मातहत खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खोटाङको रेखदेखमा निर्माण भईरहेको सो आयोजना २०८१ साउन ४ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्नेगरी २०७९ असार २२ गते सम्झौता भएको हो। आयोजनाले साप्सु खोलाको पानी लिफ्टिङ प्रविधिमार्फत तानेर १५ नं. वडा विजयखर्कका ७ सय २५ घरधुरीलाई सुद्ध खानेपानी उपलब्ध गराउने प्राविधिक इस्टीमेट रहेको छ।
साप्सु खोलाको पानी लिफ्टिटङ मार्फत तानेर १ हजार ७ सय मिटर माथि रहेको वितरण लाइनसम्म ल्याई एउटा २० हजार लिटर क्षमताका २ वटा र अन्य १४, १२ र १० हजार लिटर क्षमताका ३ वटा ट्यांकी बनाएर जम्मा गरी उपभोक्तालाई वितरण गर्ने इस्टीमेट रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ। अब ४ महिना मात्र निर्माण अवधि बाँकी रहेको आयोजनाको हाम ट्रीटमेन्ट प्लान्टलगायत मुख्य र सहायक ट्यांकीहरु निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ। निर्माण कम्पनीका इन्जिनियर सञ्जिव साहले हालसम्म ३३ प्रतिशत सम्पन्न भएको बताएका छन्।
प्रकाशित: ५ चैत्र २०७९ ०८:५६ आइतबार