४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्राधिकरणले तयार पार्‍यो पुनर्निर्माण तालिका

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्न समय तालिकासहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरण निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो। पुनर्निर्माणको गतिबाट असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १० गते दिएको निर्देशनअनुसार प्राधिकरणले नतिजामुखी काम देखाउने कार्ययोजनासहितको समय तालिका ल्याएको हो। प्राधिकरणले निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र पुराताŒिवक सम्पदाका लागि छुट्टाछुट्टै समय तालिका बनाएको छ।

तालिका अनुसार प्राधिकरणले माघ १५ भित्र सबै जिल्लाका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने, मंसिर १५ सम्म काठमाडौं उपत्यकाभित्र निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरिसक्ने, भूकम्प कम प्रभावित १७ जिल्लाको सर्वेक्षण पुस मसान्तसम्म सक्ने र माघ १५ भित्र अनुदान सम्झौता गरिसक्नेछ। यस्तै तीन चरणमा फागुन मसान्तसम्म ६० हजार निर्माणकर्मी उत्पादन गर्ने, पुनर्निर्माणका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न पुस, माघ र फागुनमा तीन चरणमा ११ जिल्लामा निर्माण सामग्री बैंक स्थापना गर्ने लक्ष्य प्राधिकरणको छ।

प्राधिकरणले क्षतिग्रस्त ७ हजार ९ सय २३ विद्यालयमध्ये माघमा ११ सय विद्यालयको निर्माण सुरु गरी २०७४ माघभित्र सम्पन्न गर्ने, २०७४ साउन थप ११ सय विद्यालय निर्माण सुरु गरेर एक वर्षभित्र निर्माण सक्ने, शिक्षा विभाग र विभिन्न दातृ राष्ट्र तथा निकायको सहयोगमा २०७५ सालभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ। स्वास्थ्य संस्थातर्फ २ सय ६८ संस्थाको प्रिफेब संरचना असारभित्र सम्पन्न गर्ने लक्ष्य तालिकामा उल्लेख छ।

प्रधानमन्त्री अध्यक्ष रहने उक्त समितिको बैठकले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाविस र नगरपालिकामा पुनर्निर्माण सामुदायिक समिति गठन गर्न सहयोग पुर्‍याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्थालाई आह्वान गरेको छ।

बैठकले भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि भौगर्भिक अध्ययन र पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने, पुराताŒिवक क्षेत्र पुनर्निर्माणका लागि बृहत्तर गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने, भौतिक पूर्वाधारसम्बन्धी स्वीकृत मापदण्डबमोजिम गोरखाको लाप्राकमा एकीकृत नमुना बस्तीको जग्गा प्राप्ति र पुनर्निर्माणसम्बन्धी थप अनुदान दिन सक्ने निर्णय पनि गरेको छ।

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले सबै गाविसमा सय जनाका दरले पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने, भूकम्प प्रभावित सबै जिल्लामा माघ १५ गतेसम्म पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने, फागुन मसान्तभित्र ५० हजार निर्माणकर्मी उत्पादन गर्ने लगायतको कार्ययोजना पेस गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७३ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App