१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘कोशी प्रदेश’ विरुद्धकाे आमहड्तालले खोटाङ ठप्प, उदयपुरमा आंशिक प्रभाव

आमहड्तालमा बन्द खोटाङको दिक्तेल सडक। तस्बिर: महेश्वर

प्रदेश १ को नाम षडयन्त्रपूर्वक पहिचानविहीन ‘कोशी’ राखेको विरोधमा आव्हान गरिएको आइतबारको आमहड्तालले खोटाङ ठप्प हुन पुग्यो। 

बिहान ३ः०० बजेदेखि नै बन्धकर्ताहरू समूह समूह बनाएर सदरमुकाम दिक्तेलका विभिन्न चोक र सडकमा निस्केर परिचालन भएकाले लामो तथा छोटो दूरीका सवारी, पसल र बजार ठप्प भएका हुन्।

पहिचान पक्षधर संघसंस्थाहरुले गठन गरेको ‘प्रदेश पुनः नामाकरण संघर्ष समितिको आव्हानमा भएको बन्दले सरकारी, सामुदायिक तथा निजी शिक्षण संस्थाहरु पनि आइतबार बन्द रहन पुगे। बन्दको बेला सडकमा प्रहरी सुरक्षाकर्मी, प्रशासन र पत्रकारका गाडीबाहेक अन्य सवारी साधन सडकमा देखिएनन्। दिउँसो १ः०० बजेदेखि फाटफुट चल्न थालेका सवारी ४ः०० बजेदेखि खुल्ला रूपमा चल्न थालेका थिए। बन्द अवधिभर त्यस्तो कुनै अप्रिय घटना भएको खबर नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यता उदयपुरमा सदरमुकाममा आंशिक प्रभाव परे पनि अन्य क्षेत्रमा बन्द सफल भएको आयोजक समितिको दाबी छ। सदरमुकाम गाईघाटमा बिहान ११ः०० बजेसम्म बजार, पसल र यातायात बन्दकर्ताले चलाउन नदिए पनि प्रहरी प्रशासनको आग्रह र बन्धकर्ताहरू घर फर्केपछि मध्यान्हदेखि फाटफुट चल्न थालेका थिए। खाना खान घर फर्केका बन्धकर्ताहरू पुनः बजारमा देखा नपरेपछि पुरै बजार, पसल र यातायात खुले पनि लामो दुरीका यातायात भने चल्न पाएनन्।

बन्दका कारण यियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निजी शिक्षण संस्थाहरु भने चलेनन्। आमहड्तालका दिन उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार बजार भने पूर्णत ठप्प रह्यो। बिहानैदेखि पहिचानपक्षधरहरु समूह समूह बनाएर बजारका विभिन्न चोकमा परिचालन भएपछि लामो तथा छोटो दूरीका सवारी, बजार, पसल, शिक्षण संस्था र अन्य कार्यालयहरूसमेत बन्द हुन पुगेका हुन्।

४ नगर र ४ गाउँपालिका रहेको उदयपुरका कटारी र बेलका नगरपालिका केन्द्र बजारहरू पनि आंशिक रूपमा प्रभावित भएका छन्। बन्द आयोजकले समग्रमा बन्द सफल भएको र आफूहरूको मागको प्रदेशवासी जनताले समर्थन गरेको प्रतिक्रिया दिएका छन्। आमहड्तालको आव्हान गर्ने संघर्ष समितिलाई जनता समाजवादी पार्टी, नेपाल आदिवासी जनजाति महासंघ र मातहका विभिन्न जातीय संस्थाहरु, किरात राई यायोक्खा केन्द्र, प्रदेश, जिल्ला, स्थानीयतह र वडा समितिसम्मले साथ दिएका थिए।

प्रकाशित: २८ फाल्गुन २०७९ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App