२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडा कार्यालय बनाउन बजेट समस्या

वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन्। आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न नौ वडा कार्यालय सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। ‘नगरपालिकासित भवन बनाउन बजेट नहुने समस्या छ’, उनले भने, ‘संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति धेरै महत्व नदिने भएकाले  वडा कार्यालयका भवन निर्माण गर्न नसकिएको हो।’

वडा नं. १३ को कार्यालय भवन निर्माण सम्पन्न हुन लागेको उनले बताए। हाल स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडा नं. ४ को भवन निर्माणका लागि प्रक्रिया पूरा भई निर्माण  थालनी भएको छ। वडा नं. ९ को लागि पनि साविकको पशु सेवा केन्द्र रहेको भवनबाट सेवा दिने तयारी भइरहेता पनि निर्णय हुन बाँकी रहेको जनाइएको छ।

आफ्नै वडा कार्यालयको भवन नभएका वडाका लागि जग्गा प्राप्तिका लागि प्रक्रियामा रहेको तर उपयुक्त जग्गा नपाइएको उनले बताए। भाडामा रहेका वडामा वडा नं. ८, ९, १०, ११ र १३ छन्। नगरपालिकाले मासिक घर भाडावापत ४९ हजार पाँच सय १० रुपैयाँ बुझाउने गरेको नगरपालिकाका लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।

उनका अनुसार वडा नं. ८ को मासिक सात हजार सात सय, वडा नं. ९ को १२ हजार, वडा नं. १० को ११ हजार, वडा नं. ११ को आठ हजार आठ सय र वडा नं. १३ को १० हजार १० रकम घरभाडावापत बुझाउने गरेको छ। नगरपालिकाले पाँच  वडाको कार्यालय सञ्चालन गरेवापत वार्षिक पाँच लाख ९४ हजार एक सय २० रुपैयाँ घरभाडा बुझाउने गरेको जनाइएको छ। रासस

प्रकाशित: २१ फाल्गुन २०७९ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App