त्रियुगा नगरपालिका–२ खैजनपुरमा ३ दिनअघि बहुलाएको स्यालले पशु चौपायासहित मान्छेलाई पनि टोकेको पाइएको छ।
बुधबार साँझ गाउँमा एक्कासि देखा परेको असामान्य अवस्थाको स्यालले जथाभाबी बाटोमा चर्दै गरेका र गोठमा बाँधेर राखिएका १४ पशु चौपायालाई टोकेर घाइते बनाएको थियो।
स्यालले टोकेर घाइते बनाएका पशु चौपायालाई खोप दिन खटाइएका पशु प्राविधिकले गाउँ घुम्ने क्रममा मान्छेलाई पनि टोकेको भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।
स्यालले टोकेर खैजनपुरकै ६० वर्षीय वीरबल कार्की घाइते भएका वडा कार्यालयका पशु प्राविधिक छेदीलाल चौधरीले जानकारी दिए।
हिँड्दै जाँदा अगाडि पर्ने जेलाई पायो त्यसैलाई टोक्दै हिँडेको स्यालले खेतमा घाँस काट्दै गरेका कार्कीलाई खुट्टामा टोकेको चौधरीले बताए।
त्रियुगा नगर पशु शाखाका अनुसार स्यालले टोकेर घाइते भएका सबै पशु चौपायालाई रेबिजविरुद्धको सुई दिइसकिएको छ।
बिहीबार र शुक्रबार गरी खैजनपुरका विभिन्न कृषकका ११ वटा पशु चौपायालाई रेबिजविरुद्धको सुई दिइएको पशु शाखाका भेटरीनरी अधिकृत चुडामणि थापाले बताए।
उनका अनुसार स्यालको टोकाइबाट एक व्यक्ति, एउटा भैँसी, दुईटा पाडा, एउटा गाईको बाछो र ७ वटा बोका बाख्रा घाइते भएका छन्।
स्यालको टोकाइले घाइते कार्कीलाई भने शुक्रबार बिहान जिल्ला अस्पताल गाईघाट ल्याएर रेबिजविरुद्धको सुई दिइएको अधिकृत थापाले बताए।
प्रकाशित: ६ कार्तिक २०८३ १७:३३ शुक्रबार

