काठमाडौं–राजधानी काठमाडौंसहरको मध्यक्षेत्र जमल। जमलबाट थोरै भित्रपुगेपछि पुगिन्छ यहाँको पुरानो असन बजार। वरिपरि मन्दिर। बीचमा सानो चोक। सानो चोकमा थरी थरीका पसल। पसल सानै भएपनि यहाँ नपाइने सर्जाम छैन्। पहिलो बसन्तपुरक्षेत्रमा राजदरबारको चहलपहल छँदा यहाँ सरकारी अड्डा,पुलिस चौकी बढी थिए। पछि विस्तारै मानव वस्ती बढेपछि मान्छेको शहरमा परिणत भयो। यँहीको धुलोमाटोमा खेलेर हुर्केका ६५ वर्षीय हरि लाकमीले पसल थापेकै ५० वर्ष पुग्यो। यहा के पाईंदैन् सबैथोक पाइन्छ। विश्वमै नपाइने दुर्लभ यार्सागुम्बादेखि सुन,हिराहुँदै सस्तोमा ढिके नुनसम्म असनमै पाइन्छ।
‘उतिबेला पचास पैसामा एककिलो अम्बा बेच्थे त्यो पनि महंगो भो भन्थे,’ उनी बदलिदो समय सुनाउँछन्, ‘अहिले डेढसयमा एककिलो बेच्छु त्यो पनि महंगो भो भन्छन्।’ उनमात्र हैन, उनका सात पुस्ताले यही असनमा व्यापार गरेर बिताए। अघिका तुस्ची लाकमी, मानबहादुर लाकमी, मानकाजी लाकमी, गणेश बहादुर लाकमी, धुयुजा लाकमी, हाकुचा लाकमी र उनी हरि लाकमी सातौं पुस्ताका असनका व्यापारी हुन्। व्यापार उही मान्छेका लागि दिनहुँ चाहिने खित्रीमित्री सर्जाम। सिजन अनुसार फलफूल, तरकारी, मरमसला हुन् वा फूल ,दुना टपरीदेखि धुपधुवाँरसम्म उनका पुस्तैनी पसलका सर्जाम बने। हरिका बुढाबुढी नै बिहानै पाँचबजेदेखि असनचोकमा पसल बसाल्छन्। तीन बजे उठिसक्छन्। नुहाइधुवाई, मन्दिर पूजा सकेपछि पसलमै बित्छ रातिसम्म ।
‘उ..त्यो मन्दिर पछाडिको घर छ नि हो त्यो पहिले पुलिस थाना हो,’ भूकम्पपछि काठले अड्याएको पुरानो काठैकाठले बनेको घर देखाउँछन् उनी, ‘अनि उ यो अगाडिको आधा भत्केको चै सिआइइडीको अड्डा।’ वरीपरी पहिले काँचा इट्टा र काठमा घर बढी थिए पहिले। अहिलेजस्तो घाम नदेखिने थिएन जमल। नयाँ बनेका पक्की अग्ला घरले यसको सुन्दरतामा आँच पुर्यायो । तर सान उस्तै। टाढा टाढाबाट मानिस यँही लत्ता ,कपडा किन्न आउँछन्। तामा,पित्तल,काँस,चरेसका भाँडाकुँडाको हब नै हो असन।
रामेछापका डिलबहादुर खड्का असनमा पूजा सर्जामको पसल थापेर बसेको २५ वर्ष भयो। ‘जन्मेदेखि मर्दासम्मको नेपाली धार्मिक सस्कारका लागि चाहिने सबै कुरा मेरो पसलमा छ,’ उनी दाबी गर्छन्, ‘यहाँ आएपछि फर्केर अर्को पसल जानु पर्दैन।’ काभ्रेको जग्गा बेचेर आएका उनले यही पसलकै आम्दानीले महाराजगंजमा घर जोडे।
उनले पसल सुरु गर्दा एउटा जनै र सुपारी सबैभन्दा सस्तो थियो। अहिले पनि त्यही सस्तो रहेको उनी सुनाउँछन् । ‘पहिले पाँच पैसा ,दस पैसा पथ्र्यो,’ खड्काले भने, ‘अहिले पाँच रुपैयाँ ,दस रुपैयाँ गोटा पर्छ।
पूजा सर्जामसँगै घरेलु मसलाको खानी पनि असन हो। लेकाली जिम्बु, बिरेनुन, सिधेनुन, तोरी, सस्र्यूं, कालो तील, टिम्बुरलगायतका जडीबुटी चाहिए असनको विकल्प छैन। २०४५ सालदेखि पसलमै बिताएकी गीता खनाल उतिबेला यति धेरै मान्छे भने नभएको उल्लेख गर्छिन्। ‘बजार यही हो किनमेल हुने पनि यहीं हो,’ उनी स्मरण गर्छिन्, ‘मात्र मान्छेका अनुहार फेरिए, बेचिने केही सर्जाम फेरिए।’ उनले भने झैं पहिले यहाँ परम्परागत हाकुपटासी, लवेदा सुरुवाल, जर्सीकोट, इष्टकोट, भेडाको ऊनको सुइटर जस्ता घरबुना कपडा बिक्री हुन्थे। हातको घनले ठोकी ठोकी बनाएका फोसी, खड्कुला, गाग्री, कसौडीका चमकले चम्किन्थ्यो असन । त्यो चमक अझैपनि दर्जनौ पसलमा झुल्किन्छन्।
कलंकीबाट असनमा दसैं किनमेल गर्न आएकी पुर्णेश्वरी श्रेष्ठको मनबाट असन हट्न सकेको छैन्। ‘ताजा तरकारी होस कि सस्तो नयाँ लुगा यही त पाइन्छ ,’ उनी मुस्काउँदै बोल्छिन्, ‘मलाई त त्यो ठूलो बजार भन्दा यही प्यारो लाग्छ।’ दसैंका दस दिनलाई चाहिने पूजा सामाग्री किन्ने स्थानीयको चर्को भीड दसैंभरी लाग्छ। फुलापातीका दिन भित्र्याउने उखु र अदुवासहितका फूलपाती लिन टाढा टाढादेखि असनमा आएका थिए।
विगत पन्द्रवर्षदेखि मकवानपुरबाट आएर व्यापार चलाउने अन्जु पाख्रिन र लक्ष्मी पाख्रिनले यहीं बसेर पैसा चिने। गाउँबाट आएपछि कहिले तरकारी पसल त कहिले सेल पकाएर बेचे। उनीहरुले बनाएको सेल अरु होटलमा बनाएको जस्तो बासी बस्दैन। बन्दैगर्छ। सकिँदै जान्छन। पैसा महंगो छैन। जम्मा गोटाको दस रुपैयाँ । जसले पनि किनेर तात्तातै खान सक्छन्।
असनबाट एउटा बाटो सिधै बसन्तपुर जोडिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार क्षेत्रको ऐतिहासिकतासँग रमाउँदै दसैंको किनमेल गर्र्नुको मज्जा नै बेग्लै। पुराना संस्कार संस्कृति बोल्ने बाटो, घर, मन्दिर, पाटी पौवाको आँगन नै यहाँको बाटो हो। जुन बाटो जोडिन्छ न्यूरोडसँग। जमलबाट असन हुँदै काठमाडौंको अर्को बजार पुगेर किनमेल गर्न उपभोक्ताका लागि सहज छ।
न्यूरोडको बिशाल बजारमा २०४६ ताका पहिलो पटक गुड्ने भर्याङ बनेपछि यसको आकर्षण नै बेग्लै थियो। आधुनिक सोच राख्नेहरु विदेशी साजका लत्ता कपडा किन्न बिशाल बजार एकपटक पुगेकै हुन्थे। न्यूरोड नयाँ प्रविधि चाख्नेहरुका लागि एउटा अड्डा नै हो। यहाँ एप्पलका महंगा उत्पादन देखि सस्तो स्मार्ट फोन छानीछानी किन्न पाइन्छ।
त्यो बाहेक सुन ,चाँदी ,हिराका गहनाको पाउने राम्रो थलो पनि हो। अत्याधुनिक फेसनमा सोख राख्नेहरु न्युरोड ,खिचापोखरी हुँदै यहाँका काठमाडौं मल,सिभिल मल र चाइना टाउन मलसम्म चहार्न पुग्छन्। खिचापोखरी पनि काठमाडौंको पुरानो बजारमध्यको एक हो। यहाँ एउटै पसलमा परिवारका हरेक सदस्यले कपडा किन्न सक्छन् एक पसले विवेक थापा बताउँछन् बार्गेनिङ गर्नसक्नेले निकै सस्तोमा किनेर पनि लान्छन्।
उनले भने झैं बुढानिलकण्ठबाट फेसनेवल कपडा र जुत्ता किन्न आएकी अनु लामा खिचापोखरीका पसल पसल चहार्दै थिइन्। ‘पसल धेरै छ मन परेको छानेर किन्न पाइन्छ यहाँ,’ अनु थप्छिन्, ‘एकफन्को लाएपछि अन्त जान पर्दैन।’
उनीजस्तै छोराछोरीका लागि नयाँ कपडा किन्न आएकी सानेपाकी संगिता गुरुङले खिचापोखरी राम्रो र सस्तो सामान पाउने बजार भएको उल्लेख गरिन। ‘चारदिन भो खाजा खान नपाएको,’ कपडा पसलकी शोभाश्री श्रेष्ठ अत्तालिँदै भन्छिन्, ‘मान्छे त ह्वार ह्वार आएको आएयै छन्।’ खिचा पोखरीहुँदै न्यूरोड जानेहरुको भिड घटस्थापना यता नदी बगे जस्तै देखिन्थ्यो। चाडवाडको सिजनमा मात्र हैन, अरुबेला पनि यो ठाउँ किनमेलका लागि सहज रहेको स्थानीय व्यपारी बताउँछन्। यहाँबाट भत्केको धरहरासम्म पुगेर सुन्धारा हेर्दै शितलमा सुस्ताउन सकिन्छ। वरपर खानेकुरामा पसल प्रसस्त भएकाले मानिस होटल खोज्दै हिड्ने समस्यामा पर्दैनन् ।
काठमाडौंका स्थानीयसँगै काठमाडौं बाहिरका बासिन्दाले फूलपाती अघि नै असन, इन्द्रचोकहुँदै न्यूरोड, खिचापोखरी चहार्न भ्याउँछन्। एक त दसैंको रमाइलो। अर्को बजारमा कस्तो फेसन आयो, नयाँ सामान के आयो भनेर हेर्ने मेसो पनि यी बजार घुम्दा उपभोक्ताले पाउँछन्।
प्रकाशित: २३ आश्विन २०७३ ०६:२३ आइतबार