२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ब्यारेक नहुँदा जुम्लामा सशस्त्र प्रहरीलाई तालिम गर्नै समस्या

२०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको हालसम्म आफ्नो ब्यारेक बनेको छैन। ब्यारेक नहुँदा निकै समस्या बेहोरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

'लामो समय जग्गा खोज्दै बित्यो। अहिले जग्गा प्राप्त भइसकेको छ। तर जग्गामा भौतिक संरचना निर्माण नहुँदा तत्काल सार्न सकिने अवस्था छैन। जब सम्म संरचनाहरु बनेर तयार हुँदैन तबसम्म सशस्त्र प्रहरीको जुम्लामा ब्यारेक हुनेछैन,' सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले भने।

ब्यारेक नहुँदा निकै ठूलो समस्या हुने गरेको उनको भनाइ छ। ब्यारेक नहुँदा कहिले एयरपोर्ट, कहिले सीडीओ कार्यालय, कहिले महिला तथा बालबालिका कार्यालयमा त कहिले कर्मचारी आवासमा बसेर दिन गुजार्नुपर्ने अवस्था रहेको एसपी जोशीले बताए। जिल्लामा नेपाल प्रहरी र सेनाको आआफ्नै ब्यारेक छन्। उनीहरुलाई खटनपटनदेखि फौजी तालिम प्रदान गर्न पनि सहज  छैन्। हाल प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय र कर्मचारी आवास गरेर तीन स्थानमा सशस्त्र प्रहरी बसिरहेको छ।  

'ब्यारेक नहुनु भन्दा ठूलो समस्या अरु के होला !,' गणपति जोशीले भने, 'बिहानको पीटी, बेलुकाको रोलकाल, अन्य अभ्यासहरु गर्नुपर्ने, गेम खेल्नुपर्नेबाट गण नै बञ्चित हुनु परेको छ। यति ठूलो जनशक्ति व्यवस्थापन गरेर अफठ्यारो तरिकाले बसेका छौं। यो भन्दा ठूलो कष्ट के होला?'

अहिले नेपाली सेनाको टुँडिखेलमा सशस्त्र प्रहरीका खेलकुद क्रियाकलाप भइरहन्छन्। सडकमा दौडाउने कार्य चलिरहन्छ। फौजीको हिसाबले भन्दा पनि गण भएकाले तीनतिर छरिएर बसेको सशस्त्र प्रहरीले जेनतेन जनताको सुरक्षामा अब्बलता प्रदर्शन गरिरहेको जोशी बताउँछन्। सशस्त्र प्रहरीका अनुसार प्रशासन कार्यालय हाताभित्र संरचनाहरु निर्माणको लागि ठेक्का भइसकेको छ। त्यसैले पनि तत्काल सशस्त्र प्रहरीलाई अर्को स्थानमा सर्नुपर्ने बाध्यता छ।

एसपी जोशी भन्छन्,'विपदजन्य क्रियाकलापमा खटिनेदेखि सामूहिक अभ्यास गर्न कठिन छ। तर पनि मिलाएर सबै काम गरिराखेका छौं। जनताको गर्नुपर्ने सबै सेवा गरिराखेकाछौं। स्थापना कालदेखि नै सशस्त्र प्रहरीको ब्यारेक निर्माणको लागि जिल्लाभर जग्गा खोजिएको थियो। तर कतै पनि जग्गा प्राप्ति भएन। अन्तिम समयमा तातोपानी गाउँपालिकाले ५ नम्बर वडामा रहेको डुठाचौरमा २ बिघा ९ रोपनी तीन धुर जग्गा उपलब्ध गराएको छ। पालिकाले दिएको जग्गासँगै जोडिएको जालपा सामुदायिक वनले चाहे जति जग्गा उपलब्ध गराउने भनिरहेको छ।' 

जसकारण अब सशस्त्र प्रहरी बलको ब्यारेक बन्ने निश्चित त छ तर भवन कहिलेसम्म बनिसक्छ यकिन भएको छैन। साथै उक्त जग्गामा चार करोड ५२ लाखको भौतिक संरचना बन्ने गरी ठेक्का भएर काम पनि सुरु भइसकेको छ। चारवटा पक्की भवन बन्दैछन्। चारवटा पक्की भवन बन्ने वित्तिकै एक प्लाटुन राखेर काम सुरु गर्ने तयारीमा सशस्त्र प्रहरी छ। तर भवन बनाउन ढिलो हुने भएकाले गण नै सार्न केही समय लाग्ने देखिन्छ। सबैको साथ सहयोग मिलेमा आगामी कात्तिक महिनासम्म गण सार्न सकिने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App