जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रल्हाद कार्कीले नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रूपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी कार्कीले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज नगर्ने दाबी गरे।
जुम्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका उनले शनिवार यहाँका सञ्चारकर्मीमाझ सामाजिक अपराध न्यूनीकरणका लागि आम नागरिकसँग सहकार्य गर्ने समेत बताए।
प्रहरीले नागरिकसँग सहयात्रीको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै कार्कीले प्रहरीले कोही कसैसँग दुर्व्यवहार नगर्ने विश्वास दिलाए। प्रहरीको सेवा वितरण चुस्त राख्ने तथा अशक्त, वृद्धवृद्धा र फरक क्षमता भएका नागरिकको विशेष सम्मान गर्दै उनीहरूलाई सेवा वितरण थप सरलीकृत गर्ने योजनामा रहेको सुनाए।
'कुनै पनि नागरिकले प्रहरीबाट पाउनुपर्ने सेवाका लागि बिना झन्झट प्रवेश पाउने र सम्बन्धित फाँटबाट सहज सेवा लिएर फर्कन सक्ने वातावरण बनाउँछु।' उनले भने।
प्रहरीको कार्य पारदर्शी र सेवाग्राहीमैत्री हुनेमा उनले जोड दिए। प्रहरी पोसाकमा र आम नागरिकको सहज पहुँच हुने क्षेत्रमा बसेर खुलेआम मादक पदार्थ सेवन गर्ने अधिकार प्रहरीमा नरहेको बताउँदै उनले मातहतका प्रहरी कर्मचारीलाई यो विषयमा निर्देशन समेत दिइसकेको उनले जानकारी गराए।
जुम्लाका क्रियाशील पत्रकारहरूले जुम्लामा बढ्दो क्रममा रहेको लागु औषध, बालविवाह, बहुविवाह चोरी, जस्ता गतिविधिको बारेमा प्रहरीको ध्यानाकर्षण गराएका थिए।
साँघुरो बजार,द्रुत गतिको सवारी र अव्यवस्थित पार्किङ समस्याको रूपमा औँल्याउँदै उनले यसको व्यवस्थापनको सुरुआतका लागि आफ्नो नजर पुगिसकेको बताए।
सुरक्षाका लागि गस्ती बढाउने, अवाञ्छित गतिविधि भएको सूचना पाए लगत्तै थप क्षति हुन नदिने गरी जोखिम नियन्त्रणमा चाँडो भन्दा चाँडो प्रहरी शक्ति पुर्याउने डिएसपी कार्कीको थप प्रतिबद्धता थियो।
लागु औषध दुर्व्यसन विरुद्ध जागरण र प्रतिकार्य दुवै योजना एकसाथ अघि बढाउने योजना सुनाउँदै उनले समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन कार्यालयका प्रहरी निरीक्षक सहित मातहतका प्रहरी कर्मचारीलाई निर्देशन गर्ने वचन दिए।
ट्राफिक समस्या समाधानका लागि स्थानीय सरोकारवालासँग समन्वयको प्रक्रिया सुरु गर्ने उनले बताए। शान्ति सुरक्षा सबैको चासो र संवेदनशीलताको विषय भएको भन्दै उनले सञ्चारकर्मीमार्फत प्रहरी–नागरिक सहकार्यका लागि अपिल समेत गरेका छन्।
जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारीले धर्मराज जोशीले आफूसँग भएको स्रोतको अधिकतम उपयोग गरेर शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको बताए।
'प्रहरीको जनशक्ति न्यून छ, उनले भने, जुम्लामा अन्य अरू सरकारी कार्यालयका भौतिक संरचनाहरू राम्रो भए पनि प्रहरीको भौतिक संञ्चनाको अवस्था नाजुक छ। तर पनि प्रहरीले अपराध न्यूनीकरणका लागि सक्रिय रूपमा लागी परेको छ।'
जिल्ला प्रहरी कार्यालय जुम्लाले गरेको पत्रकार भेटघाट कार्यक्रममा हिंसा, मानव बेचबिखन, ट्राफिक नियम र लैङ्गिक विभेद जस्ता समस्याका विषय चासो दिइएको थियो। यसअघिका डिएसपी नरेन्द्र चन्दको सरुवा भएपछि कार्की जुम्लाको प्रहरी प्रमुख भएर आएका हुन्।
प्रकाशित: ६ फाल्गुन २०७९ १६:३० शनिबार


-600x400.jpg)


