काठमाडौं- नेपालीको महान् चाड दसैं शनिबारबाट सुरु भएको छ। असोजशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा भवानीको पूजाआराधना गरी दसैं पर्व मनाइन्छ। दसैंको पहिलो दिन शनिबार घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले नागरिकलाई बताए। यस दिन हरेक घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी दुर्गा भवानीको आह्वान गरिने उनले बताए। ‘देवीको आह्वान गर्ने अनि पूजा गर्ने प्रातःकालमै हो,' ढुंगेलले भने, ‘बिसर्जन पनि बिहानै गरिन्छ।'
उनका अनुसार घटस्थापनाको दिन जौ र मकै जमराका लागि रोपिन्छ जुन देवीको अंग मानिन्छ र प्रसादका स्वरुप टीकाको दिन ग्रहण गरिन्छ। टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ। जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिने उनले जानकारी दिए।
ढुंगेलका अनुसार यो वर्ष विजयादशमीको दिन दुर्गा विसर्जन बिहान ८ बजेर २५ मिनेट जाँदा उत्तम रहेको छ। दुर्गा बिसर्जन्पछि टिकाको उत्तम साइत भने बिहान ८ बजेर ४५ मिनेटमा रहेको छ। मान्यजनको हातबाट टिका लाउँदा आशीर्वचनसमेत जोडिने हुँदा उत्तम साइतमै लाए उत्तम फल मिल्ने उनले बताए। नत्र दिनभर पनि टीका लाउन राम्रो साइत छ। उनले यो वर्ष दसैं अवधि बढेकाले केही अन्योल भएको नागरिकसँग बताए। ‘दस दिनसम्म राखेको जमरा ११औं दिन लाउने यो मिलेन भनेर धेरैले सोधेर हैरान छ,' उनले भने, ‘तर देवीको प्रसाद दस दिनमा लाए पनि एघार दिनमा लाए पनि शुभ नै हुन्छ, अन्योल मान्नुपर्दैन।'
तिथि घटबढले दसैं लम्बिएको उनले जनाए।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजय प्रतीकका रूपमा दसैं मनाइन्छ। शुम्भ, निशुम्भ तथा रक्तबिजमाथि दुर्गा भवानीले विजय प्राप्त गरेकोमा दसैंउत्सव मनाइने चलन चलेको पण्डित नारायणप्रसाद आचार्यले बताए। अर्कोतर्फ त्रेता युगमा रामले आसूरी प्रवृत्तिका रावण अन्त्य पनि शुक्लपक्षको दशमी तिथिकै बेला गरेकाले दसैंउत्सव मनाउन थालिएको उनले प्रस्ट्याए।
घटस्थापनादेखि नौ दिन दुर्गा भवानीको उपासना गरिन्छ। नौ दिन नौरथा पर्वमा विभिन्न शक्तिपीठमा भव्य पूजा हुने गर्छ। दसैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ। दरिद्रता, दुर्बलता, रोगव्याधी, मरणको अन्त्य होस् भन्ने उद्देश्यले यी पाठ गरिने धार्मिक मान्यता छ। मार्कण्डेय पुराणअनुसार सप्तशती चण्डी पाठमा १३ अध्याय र सात स्लोक छन्। नवरात्रिको सातौं दिन हरेक घर, मन्दिर तथा विशेष धार्मिक क्षेत्रमा धार्मिक परम्पराअनुसार फूलपाती भिœयाइने उनले जनाए।
महाअष्टमी र महानवमीका दिन दसैंघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिन्छ। विजयादशमीका दिन नौ दिनसम्म दसैंघरमा गरिएको दुर्गाभवानीको पूजाअर्चना दसौं दिन विसर्जन गरिन्छ।
प्रकाशित: १५ आश्विन २०७३ ०१:५१ शनिबार