२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अनियमितता आरोपमा कर्णेलको पद घटुवा

नेपाली सेनाका एक प्रमुख सेनानी आर्थिक अनियमितताको आरोपमा एक तह घटुवा भएका छन्। विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक तह घटुवा गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कार्यक्षेत्रमा खटिएको स्थानमा जिम्मेवारी लिँदा कमजोरी देखिएका कारण कारबाही गरिएको हो।  

‘जिम्मेवारी रहेका बेला उजुरी परेको थियो, सो उजुरीमाथि छानबिन हुँदा दोषी देखिएकाले सैनिक अदालतले कारबाही स्वरूप घटुवा गरिएको हो,’ सहायकरथी भण्डारीले भने। २०७४–२०७५ मा नेपाली सेनाको विशेष फौज मानिने भैरवनाथ गणका गणपतिसमेत रहेका बोहोरालाई अनुसन्धानमा पक्राउ परेका मेजर जनरल प्रेम शाहीको बयानको आधारमा छानवीन गरेको थियो। सो छानबिनको क्रममा उनी दोषी देखिएका हुन्।  

‘उहाँमाथि कोर्ट मार्सल गर्दै कारबाही गरिएको हो,’ सहायक रथी भण्डारीले भने, ‘उहाँलाई आर्थिक अनियमिता गरेको अभियोगमा एक तह घटुवा गरिएको हो।’

बोहोरामाथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। आर्थिक हिनामिना गरेको भन्दै मेजर जनरल शाहीले पनि उजुरी गरेको र ठेकेदारले उजुरी दिएका थिए। शाहीको बयान र ती उजुरीमाथि छानविन गर्ने क्रममा दोषी देखिएका हुन्।  

आर्थिक अनुशासनहीन काम गरेको भन्ने आरोपमा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल शाहीले कर्णेल बोहोराको नाम लिएका थिए। उनीमाथि सेनाले करिब २० करोड रूपैयाँ बराबरको बजेटमा आर्थिक अनियमिता भएको तर कति रकम हिनामिना भएको हो भन्ने बारेमा जानकारी दिइएको छैन। त्यसैगरी, कर्णेल बोहोरामाथि भैरवनाथ गणको गणपति हुँदा सैनिक मुख्यालयले दिएको रकम दुरूपयोग गरेको आरोप पनि लगाइएको छ। सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल शाहीले आफ्नो कार्यकालको हिसाब किताब देखाउने क्रममा कर्णेल बोहोराले गरेको गल्ती आफूले भोग्नु परेको जिकिर थियो। शाही सो समयमा नेपाली सेनाको शक्तिशाली मानिने बजेट विनियोजनको मुख्य जिम्मेवारीमा रहेका थिए।  

उनीमाथि छानबिनका क्रममा अपुग रकमबारे गरिएको खोजतलासका क्रममा शाहीले कर्णेल बोहोरालाई सो रकम दिएको बताएका थिए। सो रकम विशेष फौज मानिने भैरबनाथ गणका लागि पठाइएको थियो। माओवादीको सशस्त्र विद्रोहको समयमा भैरबनाथ गण निकै चर्चित फौज थियो। ‘कर्णेल बोहोराले भैरवनाथ गणमा रहँदा पनि आर्थिक हिनामनिा गरेको आरोप छ त्यसमा पनि छानबिन हुँदैछ,’ सैनिक स्रोतले भन्यो ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App