२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पुल बनाउनु पर्ने माग राख्दै आमरण अनसनमा पत्रकार

फाइल तस्बिर

रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बिचमा बग्ने बकैया नदीमा पुल बनाउन दबाब दिँदै एक पत्रकार आमरण अनसनमा बसेका छन् भने एक जना उपमेयरले भने आत्मदाहको चेतावनी दिएका छन्।  

सदरमुकाम गौरभन्दा पश्चिम रहेको बकैया नदीमा पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार संजय सहनी आमरण अनसनमा बसेका छन्। सोमबारदेखि आमरण अनसन बसेका पत्रकार सहनीको एक सूत्रीय माग बकैया नदीमा पुल निर्माण रहेको छ।

यसै गरी पत्रकार सहनीको माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ईशनाथ नगरपालिकाका उपमेयर महम्मद प्रवेश आलमले आमरण अनसनबाट राज्यले सुनुवाइ नगरे आत्मदाह गर्ने चेतावनी दिएका छन्।

गौर र ईशनाथको बिचमा रहेको बकैया नदीमा ८ वर्षअघि निर्माण गर्नको लागि टिकुलिया घाटमा पक्की पुलको शिलान्यास गरिएको थियो। शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए।

पप्पु कन्स्ट्रक्सनले निर्माणको ठेक्का सकार गरेको पुलको निर्माण करिब पचास प्रतिशत नसकिँदै बिचैमा काम रोकेर कम्पनी फरार भएपछि बकैया नदीको पुल अलपत्र परेको छ। समयमा पुल निर्माण हुन सक्दा काठको डुंगाबाट वर्षा याममा सर्वसाधारण जोखिमपूर्ण तरिकाले वारपार गर्ने गरेका छन्। केही वर्ष पहिले डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।

पुल बन्न लागेको ठाउँमा हरेक वर्ष ईशनाथ नगरपालिकाले लाखौँ खर्च गरेर हिउँदको लागि नदीमा ह्युम पाइप राखेर अस्थायी लचका निर्माण गर्ने गरेको छ।

गौर, राजपुर, ईशनाथ तथा अन्य पालिका लाखौँ मानिसको प्रत्यक्ष सरोकार रहेको बकैया नदीमा पुलको निर्माणको लागि अनुगमनबाहेक कतैबाट पनि ठोस काम हुन सकेको छैन। जुनसुकै नेता आए पनि अलपत्र पुलको अनुगमन गर्ने तथा पुल निर्माणको आश्वासन दिनेबाहेक ठोस काम गर्न नसक्दा समस्या समाधानको लागि आमरण अनसन बस्नु परेको पत्रकार सहनीले दाबी गरेका छन्।

बकैया नदीको किनारमै आमरण अनसन बसेका सहनीले जुनसुकै निकायबाट पुल निर्माणको कामलाई अगाडि बढाउनु पर्ने माग गरेका छन्।  

सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा साहले बकैया नदीमा पुल निर्माणको ठेक्का सकार गरेर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरिएको र कालो सूचीमा राख्न पत्राचार गरिएको बताएका छन्। माथिबाट पुनः लागत इस्टिमेट गरेर आएपछि अर्को टेन्डर आह्वान गर्ने प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता पनि प्रमुख साहले गरेका छन्।

प्रमुख साहले पत्रकार सहनीलाई आमरण अनसन तोड्न आग्रह पनि गरेका छन्। 

प्रकाशित: २ फाल्गुन २०७९ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App