८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ। गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ। हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रूपमा पहिचान भएका छन्।

गाउँपालिका-४ तेल्लोकका गरिब पहिचान भएका घरपरिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। अति गरिब परिवारले रातो, मध्यमले पहेंलो र सामान्यले निलो रङको परिचयपत्र पाएका छन्। तेल्लोकपछि बाँकी ७ वडामा क्रमशः परिचयपत्र वितरण गरिने भएको छ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समयसमयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनि रहेको, शिक्षा स्वास्थ्य जस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिंगगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण संकलन गरिरहेको जनाइएको छ। रासस

प्रकाशित: १ फाल्गुन २०७९ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App