१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

वनभित्र संरक्षण पोखरी निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ।

नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत राजमार्गछेउका वनमा पोखरी निर्माणका लागि बजेट उपलब्ध गराइएको हो। सडक विस्तारका क्रममा रूख कटान गरिएका सामुदायिक वनलाई क्षतिपूर्ति स्वरूप जैविक विविधता संरक्षण गर्न बजेट प्रदान गरिएको हो। डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार राजमार्गसँग जोडिएका २७ सामुदायिक वनलाई जैविक विविधता संरक्षण गर्ने योजना पेश गर्न भनिएको थियो।

आयोजनले सुरुमै रूख कटान गर्दा कुनकुन क्षेत्रमा असर गर्छ भन्ने अध्ययन गरेको  थियो। उनले भने, ‘अध्ययनले वन्यजन्तु र वातावरणमा असर पर्ने देखायो। यसलाई मध्यनजर गरी जैविक विविधता संरक्षणअन्तर्गत वातावरणमैत्री, वन्यजन्तुमैत्री कार्य गर्न सामुदायिक वनसँग योजना माग्यौं, धेरैले संरक्षण पोखरी निर्माणको योजना पेश गरे। सोही कार्य अहिले भएको हो।’

राजमार्गमा पर्ने २७  सामुदायिक वनमध्ये २६सामुदायिक वनले संरक्षण पोखरी निर्माण र एउटा सामुदायिक वनले मेसवालसहितको तारजाली लगाउने योजना पेश गरेका थिए। सोही अनुसार प्रत्येक सामुदायिक वनलाई तीन लाख रुपैयाँ प्रदान गरिएको सूचना अधिकारी गौतमले बताए।

सात सामुदायिक वनले पोखरी निर्माण सम्पन्न गरिसकेका छन्। मेसवालसहितको तारजाली लगाउने कार्य पनि सकिएको छ। बाँकी १९ वटा सामुदायिक वनमा संरक्षण पोखरी निर्माण कार्य भइरहेको उनले बताए।

बाँकी रहेका सबैले दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ छ। ‘पोखरी निर्माण गर्ने योजना अनुसार केही निर्माण सम्पन्न भएका छन्, कतिपय वनमा पोखरी निर्माणको अवस्थामा रहेका छन्’, उनले भने।

नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका क्रममा वन क्षेत्रमा वन्यजन्तु वारपारका लागि जैविक मार्गसमेत निर्माण हुने आयोजनाले जनाएको छ। पानी निकासका लागि बनाइएका कल्भट तथा पुललाई वन्यजन्तु वारपार गर्न सक्ने गरी निर्माण गरिने आयोजनाले जनाएको छ। नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका क्रममा करिब ३६ हजार रुख कटान गरिएको छ। रासस

प्रकाशित: १ फाल्गुन २०७९ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App