६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जातीय विभेद अन्त्य गर्न दलित महिला एकजुट

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिलाहरू एक जुट हुन थालेका छन्।

उनीहरूले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा कुप्रथा मानिने जातीय विभेद लगायतका विकृतिका बारेमा आवाज उठाउन जुटेका थालेका हुन्।

दलित महिलाहरू गाउँमा जातीय विभेदका कारण भोग्नु पर्ने कानुनी जटिलताका बारेमा सहजीकरण गर्ने, बालविवाह, बहुविवाह, छुई प्रथा, दाइजो प्रथा जस्ता कुरीति र कुसंस्कार अन्त्य गर्न अभियान चलाउँदै आइरहेका छन्।

उनीहरू समाजमा हुने भ्रष्टाचारका बारेमा पनि वकालत गर्ने गर्दछन्। अहिले महिला सञ्जालले जागरण अभियान चलाएपछि धारा पधेरा, सामाजिक काम र विकासे काममा सहजै रूपमा जान सकिने अवस्था रहेको दलित सञ्जाल कनकासुन्दरीका अध्यक्ष तारा नेपालीले बताइन्।

'अहिले विगत भन्दा गाउँमा धेरै परिवर्तन देखिन्छ।' ताराले भनिन् 'संजाल गठन भएदेखि बालविवाहका दर्जनौँ जोडी रोकिएको छ। दलित बालबालिकाले अहिले सहजै रूपमा स्कुल जान पाउँछन्। पहिले स्कुल गए पनि गैर दलित बालबालिकालाई हेपिने, होच्याउने गरिन्थ्यो,अहिले रहर मानेर बालबालिका स्कुल जाने वातावरण सृजना भएको छ।'

उनीहरूले कनकासुन्दरी गाउँपालिका ६ मा बालविवाह गरेका जोडीलाई बोलाएर प्रशिक्षण दिएर आ-आफ्नो घरमा पठाएका छन्। छुई हुँदा घरको सुरक्षित कोठामा बस्ने, पोषिला खाने कुरा खाने, आराम गर्ने, नियमित प्याड प्रयोग गर्ने, सरसफाइ गर्ने ,गाउँमा मदिरा सेवन गर्न नदिने र मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई कारबाही गर्ने, अटेर गरेको खण्डमा प्रहरीको बुझाउने गरिएको स्थानीय राजु नेपालीले बताइन्।

उनले भनिन् 'गाउँमा विवाद ल्याउने, अशान्ति सिर्जना हुने कुनै पनि कार्य हुन दिँदैनौँ। यदि कसैले गाउँमा विवाद ल्याउन खोजेको खण्डमा सञ्जालमा रहेका सबै महिला एक भएर निगरानी समेत गर्छौँ। पहिले दलित भनेर घृणा गर्ने, तिरस्कार गर्ने, दलितलाई छाएको भन्दै छिटा हाल्ने चलन थियो। अहिले जातीय विभेद हुँदैन। बरु दलित र गैर दलित सँगै बसेर खाने बस्ने गरेका छन्।'

सञ्जालमा बसेपछि उनीहरू आफ्ना माग निर्धक्क पूर्वक राख्न सक्ने भएका छन्। 'अहिले धेरै बोल्न सिकेका छौँ। निर्धक्क पूर्वक आफ्ना सवाल राख्छौँ। योजना निर्माणमा सहभागी हुन्छौँ। योजना माग्छौँ। बजेट विनियोजन गर्न दबाब दिन्छौँ।' उनले भनिन्।

गाउँपालिका स्तरीय दलित सञ्जालले गाउँपालिका भित्रका ८ वटै वडामा आफ्नो संगठन विस्तार गरेको छ। अहिले भवन बनाइएको छ। पहिलो वर्ष भवनको माग गरिएको थियो। गाउँमा विकृतिविरुद्ध सचेतना फैलाउनेदेखि कुरीतिविरुद्धका क्रियाकलापमा सहजै रूपमा सहभागी हुने अवस्था सिर्जना गरिएको उनले सुनाइन्।

अहिले गाउँको सर-सफाइदेखि गाउँमा निर्माण हुने हरेक विकास निर्माणका क्रियाकलापमा सक्रिय सहभागिता जनाउने गरिएको दलित सञ्जालले जनाएको छ।

अहिले संजालले दलित र निमुखाको आवाज भएको वडा अध्यक्ष प्रेम पछाईले बताए। दलित सञ्जालको सहयोगमा कनकासुन्दरी ६ गोरुचौरमा आफ्नो भवन निर्माण गरिएको छ। उक्त वडामा दलितको १ सय ५० घरधुरी संख्या छ। सबै कार्यक्रमहरू अहिले भवनमा हुने गरेका छन्। अन्य कार्यक्रम गर्दा १ हजार देखि १ हजार ५ सय लिने गरिन्छ। भवन निर्माण कार्य लागि गाउँपालिकाको सरकारले १० लाख सहयोग गरेको थियो।

प्रकाशित: २८ माघ २०७९ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App