८ वैशाख २०८१ शनिबार
समाज

रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारूको आइतबारको इजलासले पदको दुरूपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै जरिबाना र कैद ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध २ करोड ९७ लाख ३८ हजार ३१० रूपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै ४ वर्ष अघि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अख्तियारले उनकी पत्नी स्वस्थानी रिजालसमेतको नाममा देखिएको चल अचल सम्पत्ति जफत गर्न माग दाबी गर्दै आरोपपत्र दर्ता गरेको थियो। विशेष अदालतले उनकी पत्नीको नाममा रहेको सम्पत्ति बिगोको हकमा जफत गर्ने फैसला गरेको प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। ‘अदालतले ४६ लाख ४८ हजार ९ रूपैयाँ ४० पैसा जरिबाना र ६ महिना कैद ठहर गरेको छ। उनकी पत्नीको हकमा बिगोको हकमा जफत गर्ने फैसला भएको छ,’ योगीले भने।

 अख्तियारले २०७५ फागुन ६ मा रिजाल विभिन्न सरकारी कार्यालयमा रहँदा पदको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवन यापन गरेको भन्दै मुद्दा दर्ता गरेको थियो।

रिजालले आफ्नो मात्रै नभएर उनका परिवारका सदस्यहरूको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्ति भेटाएको अख्तियारको दाबी थियो। उनको २५ वर्षको सरकारी जागिरे समयमा करिब ३ करोड रूपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर थियो।

रिजालले २०४० साल कात्तिक ६ देखि २०४१ साल वैशाख ५ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवाबाट प्रवेश गरेका थिए। २०४१ साल वैशाख ११ मा भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ति प्राप्त गरेका थिए। उनले २०७४ वैशाख १५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश लिएका थिए। उनको कार्य अवधिभरिको आम्दानीलाई छानबिन र विश्लेषण गर्दा तलब भत्ता, प्रोत्साहन भत्ता आफ्नी पत्नीको नाममा सञ्चालित संजीवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र विगासस ट्राभल्स एण्ड टुर्सको आय, अवकाशपश्चत सुविधा प्राप्त आय, कर्जालगायतबाट १ करोड आर्जन गरेको अख्तियारले ठहर गरेको थियो।

त्यसै अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल, विभिन्न बैंक तथा वित्तिय संस्थामा शेयर लगानीलगायतबाट गरेको आम्दानीसमेत अख्तियारले अनुसन्धान गरेको थियो। ‘रिजालको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएको, वैध आयको तुलनामा स्रोत खुल्न नसकेको २ करोड ९७ लाख ३८ हजार’ रहेको अख्तियारले दाबी गरेको थियो।

२०७५/०७६ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेका ठुला भ्रष्टाचारका मुद्दाको सूचीमा रहेको थियो। त्यस आर्थिक वर्षमा अख्तियारले सबैभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: १६ माघ २०७९ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App